फुड बैंकबाट चारसय मजदुरलाई खाद्यान्न
तानसेन : पाल्पाको रामपुर नगरपालिकामा फुड बैंक मार्फत चार सय मजदुरलाई खाद्यान्न वितरण गरिएको छ। लायन्स क्लब अफ रामपुरको अगुवाइमा भएको विभिन्न व्यक्ति संघ संस्थाको सहयोगमा रकम संकलन गरी चार सय २१ जनालाई खाद्यान्न सहयोग गरिएको हो।
लायन्स क्लब रामपुरले ‘हुने खानेले हुँदा खानेलाई दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने अभियानका साथ युथ युनियन मटेरी क्लब, रामपुर युवा क्लब, इस्लामिक सक्रिय युवा समाज, सिज नेपाल सदावर्त र भम्बक युनाइटेडको समन्वयमा फुड बैंक स्थापना गरी खाद्यान्न सामग्री वितरण गरेको हो।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम तथा दुई हप्तादेखि भएको निषेधाज्ञाका कारण समस्यामा परेका असहाय, गरिव, विपन्न वर्गका नागरिकका लागि लायन्स क्लब रामपुरमा फुड बैंक स्थापना गरी खाद्यान्न सामग्री वितरण गरेको हो। यसले दैनिक जीविकोपार्जन गर्न समस्या परेका नागरिकलाई सजिलो परेको छ। फुड बैंकमार्फत एक व्यक्तिलाई पाँच किलो चामल, एक-एक किलो दाल, नुन र आधा लिटर खानेतेल वितरण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !