महामारीमा कृषिले रोजगारी

महामारीमा कृषिले रोजगारी

तानसेन : कोरोनाको महामारीले विश्वभर धेरैको रोजगारी गुमेको छ। नेपालीहरू धमाधम स्वदेश फर्किंदै छन्। यसरी बेरोजगार भई फर्केका युवाका लागि पाल्पामा भने लोभलाग्दो कामको थालनी भएको छ।

विदेशबाट फर्किएका पाल्पाका करिब चार हजार युवा कृषिमूलक स्वरोजगारमा जोडिएका छन्। पाल्पाका सबै स्थानीय तहका युवा कृषि उद्यममा लागेका हुन्।

कोरोना महामारीपछि स्वदेश फर्किनेमध्ये ९० प्रतिशत भारतमा रोजगारी गुमाएका छन्। रोजगारी गुमाई विदेशबाट फर्किएका युवा अहिले घरमा खेतीपाती, पशुपालन गरी जीवनयापन सुरु गरेका छन्। विदेशबाट फर्किएर आफैं उद्यम गर्न चाहनेलाई स्थानीय तहले सहुलियत कर्जा वितरणसमेत थालेका छन्। तानसेन नगरपालिका र रम्भा गाउँपालिकाले युवाले आफैं काम सिर्जना गर्न सकुन् भनी बिनाधितो सहुलियत ब्याजदरमा कर्जा वितरण सुरु गरेका हुन्। सहुलियत कर्जाका लागि विदेशबाट फर्किएका युवाले गर्न चाहेको काम, योजना तथा कार्य प्रगति विवरणसहित पालिकामा निवेदन दिनुपर्छ। त्यसका आधारमा पालिकाले बिनाधितो ऋणका लागि वित्तीय संस्थामा सिफारिस गर्दै आएको छ। बिनाधितो ऋण पाउने व्यक्तिलाई सम्बन्धित व्यवसायमा तालिम तथा बजार व्यवस्थापनबारे पालिकाले सचेतना कक्षा दिन्छन्।

विदेशबाट रोजगारी गुमाई फर्किएका युवालाई तानसेन नगरपालिकाले बढीमा १० लाख रुपैयाँ र रम्भा गाउँपालिकाले ५ लाख रुपैयाँ बिनाधितो सहुलियत व्याजदरमा ऋण प्रवाह सुरु गरेका छन्।

तानसेन नगरपालिकाले कोरोना कहरसँगै गत आर्थिक वर्षमा ४८ जनालाई बिनाधितो ऋण प्रवाह गरेको छ। यस वर्ष दुई सय युवालाई बिनाधितो ऋण प्रभाव गरी स्वारोजगार बनाउने गरी काम सुरु भएको तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताए। उद्यम सञ्चालन गर्न चाहने नव उद्यमीलाई तानसेन नगरपालिकाले यूएनडीपीको सहयोगमा ग्रामीण आर्थिक विकास संघ रेडामार्फत व्यवसाय तथा बजारसम्बधी तालिम दिने व्यवस्था गरेको छ।

रम्भा गाउँपालिकाले यस वर्ष कम्तीमा तीन सय जना युवालाई स्वरोजगार उद्यमी बनाउने भएको छ। गाउँपालिकाले एक सय २५ जना युवालाई बिनाधितो पाँच लाखका दरले ५ प्रतिशत व्याजदरमा ऋण प्रदान गर्न पालिकाभित्रको सहकारी संस्थासँग सम्झौता गरेको छ। यस गाउँपालिकाले ५ वटा दुहुना भैंसी पाल्नेलाई दुई लाख, ५० वटा बाख्रा पाल्नेलाई एक लाख, १० वटा बंगुर पाल्नेलाई एक लाख, एक सय वटा लोकल कुखुरा पाल्नेलाई ५० हजार, तीन सय वटा ब्वाइलर कुखुरा पाल्नेलाई ४० हजार अनुदान दिने कार्ययोजना स्वीकृत गरेको छ।

युवालाई तरकारी तथा रैथानेबालीमा सहभागी गराउन तीन रोपनी जग्गामा तरकारी वा रैथाने बाली लगाउने युवालाई ३० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम यस गाउँपालिकाले स्वीकृत गरेको छ। यस कार्यक्रमअन्तर्गत ५० जनासम्मलाई अनुदान दिइनेछ। यस्तैगरी, ५० जना युवालाई उनीहरूले चाहेका विषयमा निःशुल्क तालिम दिने र आफूले सिकेको सिप प्रयोग गरी व्यवसाय गर्न चाहनेलाई प्रतिव्यक्ति ५० हजारसम्म अनुदान दिने व्यवस्था छ। उनीहरूले उत्पादन गरेका बस्तु गाउँपालिकाले खरिद गरी पालिकाभित्रै खपत गराउने र बढी भएमा अन्यत्र बिक्री गर्ने कार्यक्रम छ।

रिब्दीकोट गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रमका लागि मात्र कृषि तथा पशुपालन क्षेत्रमा चार करोड ५७ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ। गाउँपालिकाले कम्तीमा ५ वटा दुहुना भैंसी भएका ६ वटा फार्मलाई दुई-दुई लाखको दरले, १० वटा बंगुर भएका ४ वटा फार्मका लागि एक एक लाखका दरले, ५० वटा बाख्रा भएका ४ वटा फार्मका लागि एक-एक लाखका दरले, तीन सय ब्वाइलर कुखुरा भएका तीन वटा फार्मका लागि ४० हजारका दरले नगद अनुदान दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले बताए।

कृषि तथा पशुपालनमा लागेका युवालाई कतैबाट पनि नोक्सान नहोस् भनी बाली तथा पशुको निःशुल्क बिमा योजना गाउँपालिकाले ल्याएको छ। कृषि र पशुमा आधारित कार्यक्रमसँगै उत्पादनलाई व्यावसायिक र सजिलो बनाउन आधुनिक कृषियन्त्र, उत्पादन क्षेत्रसम्म यातायातको सहज पहुँच र उत्पादित बस्तु वडा वडामा संकलन केन्द्र, बजारमा बिक्री केन्द्रमा पुर्‍याउने कार्यक्रम छ। उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरी गाउँमै रोजगारी बढाउने गरी कार्यक्रम तथा बजेट ल्याएको रिब्दीकोट गाउँपालिका अध्यक्ष जीसीले बताए।

तिनाउँ गाउँपालिकाका तीन सय ५० जना युवा स्वदेश तथा विदेशबाट रोजगारी गुमाएर घर फर्किएका छन्। यीमध्ये ८० जनालाई गाउँमै रोजगारी दिने सिपमूलक तालिम प्रदान गर्ने र उनीहरूलाई व्यवसाय गर्न आवश्यक कर्जाका लागि वित्तीय संस्थासँग समन्वय गर्ने, बाख्रा तथा बंगुरपालनमा युवालाई प्रोत्साहन गर्न एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। गाउँपालिकालाई कागती उत्पादनको पकेट क्षेत्र बनाउन कम्तीमा २० हजार कागतीका बिरुवा अनुदानमा वितरण गरिएको तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर थापाले बताए।

पाल्पाका पालिकाले विदेशबाट फर्किएर गाउँमा बस्छु, गाउँमै काम गर्छु भन्ने युवाका लागि अवसरै अवसर सिर्जना गरिदिएको बताएका छन्। पाल्पाका रैनादेवी छहरा गाउँपालिका, रामपुर नगरपालिका, माथाँगढी गाउँपालिका, पूर्वखोला गाउँपालिका बगनासकाली गाउँपालिकाले दुई वर्षदेखि बाँझो रहेको जमिनमा पुन खेती गर्ने कृषकका लागि प्रतिरोपनी पाँच हजारसम्म अनुदान दिने व्यवस्था गरेका छन्। पाल्पाका एक सयभन्दा बढी परिवारले बाँझो जमिनमा तरकारी तथा फलफूल लगाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.