ढोरपाटनमा बाढी : मृत्यु हुनेको संख्या सात पुग्यो (अपडेट)
बागलुङ : ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार १३ जना बेपत्ता छन्। राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० भन्दा बढी घर बगाएको छ।
अहिलेसम्म बाढीमा परेर मृत्यु भएका सात जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। मृतकमध्ये ६ जना पुरुष भएपनि नाम सनाखत भएको छैन। एक महिला भने ढोरपाटन नगरपालिका- ९ की २६ वर्षिया केशमाया पुन रहेको रेग्मीले बताए। 
शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएको छ। शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको हो।
यसैगरी ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन, गलकोट नगरपालिका- ४ घर भई ढोरपाटन घुम्न गएको २४ वर्षीय नविन भण्डारी बेपत्ता भएका छन् भने भण्डारी सँगै घुम्न गएका अन्य ३ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।
ढोरपाटनको वडा नम्बर ६,७ र ८ मा नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य शुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। ‘बाढीका कारण सबै ठाउँमा सवारी अवरुद्ध भएको खबर छ,’ प्रजिअ न्यौपानेले भने, ‘जिल्ला तहबाट हेलिकप्टरमार्फत उद्धारको पहल पनि भएको छ, हामी जतिसक्दो छिटो सम्भाव्य स्रोत साधन परिचालन गरेर उद्धार कार्य अघि बढाउछौ।’
बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, २ वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, एक वटा झोलुङ्ले पुल, ढोरपाटन ९ को सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवनसमेत बगाएको छ।

ढोरपाटनको भुजीखोलामा आएको बाढीले क्षतिग्रस्त बनेका घर
प्रतिक्रिया दिनुहोस !