कोभिड अस्पतालमा ५८३ कर्मचारी नियुक्ति गर्दै प्रदेश सरकार
बुटवल : पाँच नम्बर प्रदेश सरकारले चारवटा कोरोना अस्पतालमा ५ सय ८३ जना जनशक्ति नियुक्ति गर्ने निर्णय गरेको छ । जनशक्ति अभावमा आइसीयू समेत सञ्चालनमा आउन नसकेपछि यति धेरै स्वास्थ्यकर्मीलाई नियुक्ति गर्न थालिएको हो ।
मन्त्रीपरिषद्को बिहीबारको बैठकले जनशक्ति थप गर्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ निकाशा समेत गरेको छ । यो रकम तीन महिनाका लागि करारमा नियुक्त हुने जनशक्तिको तलब भत्तामा खर्च हुनेछ ।
प्रदेश सरकारले चारवटा कोरोना अस्पतालमा उपकरण समेत थप गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखानामा आइसियु १८, एचडि बेड २०, आइसोलेन वेड ३६ गरी कुल ७४ बेड रहने त्यसका लागि १ सय ८९ जना जनशक्ति राख्ने निर्णय मन्त्री परिषद्ले गरेको छ ।
भीम अस्पताल भैरहवामा आइसीयू ५, एचडि बेड १३, आइसोलेसन ९ गरी २७ रहने त्यसका लागि ७१ जना जनशक्ति, केन्द्रीय आर्युवेद बेलझुण्डी दाङमा आइसियु १०, एचडि बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहने त्यसका लागि १ सय ७१ जनशक्ति राख्ने निर्णय मन्त्रीपरिषद्ले गरेको हो ।
त्यस्तै भेरी अस्पताल बाँकेमा आइसीयु १०, एचडि बेड ३० र आइसोलेसन बेड २० गरी ६० रहने र त्यसका लागि १ सय ५२ जना जनशक्ति राख्ने निर्णय भएको छ ।
मन्त्रीपरिषद्ले लुम्बिनी प्रादेशिक बुटवलका लागि १ करोड ७५ लाख ११ हजार ९ सय ६०, भीम अस्पताल भैरहवा ६४ लाख ४७ हजार ९ सय ६०, केन्द्रीय आर्युवेद बेलझुण्डी १ करोड ५६ लाख ७२ हजार ३ सय ६० र भेरी अस्पताल बाँके १ करोड ४० लाख ७२ हजार ६ सय ४० गरी कुल ३ करोड ९६ लाख ३२ हजार २ सय ८० निकासा गर्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रदेश निजामति सेवा अन्तर्गत स्वास्थ्य सेवा र इञ्जिनियरिङ सेवाका रिक्त पदहरुमा खुला प्रतियोगिता मार्फत स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरेको छ । जसमा इञ्जिनियरिङतर्फका ५३ र स्वास्थ्य सेवा तर्फका ७२ जना रहेका छन् ।
इञ्जिनियरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल ५,सिंचाई ८, सेनेटरी १ विल्डिङ आर्किटेक्टर १३, मेकानिकल ५, इञ्जिनियर सिभिल २, हाइड्रो जिओलोजिस्ट १ जना गरी ५३ जना रहेका छन् । स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं ५ र मेडिकल ल्याब टेक्नोलोजिष्ट ७ जना गरी ७२ जना छन् । प्रदेश लोकसेवाबाट पहिलो पटक कर्मचारी नियुक्तीका लागि प्रक्रिया शुरु भएको हो ।
मन्त्रीपरिषद्ले भूमिगत जल सिचाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत गरेको छ । विज्ञान प्रविधि तथा बहु प्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान समेत गरेको छ । त्यस्तै प्रस्तावित नेत्रलाल अभागी रंगशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत कार्यान्वयन गर्न स्वीकृति प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस !