रुपन्देहीमा एकै दिन तीन संक्रमितको मृत्यु
बुटवल : रुपन्देहीमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। विभिन्न अस्पतालमा उपचार गराइरहेका तीन जनाको शुक्रबार मृत्यु भएको हो। यीसंगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।
शुक्रबार मृत्यु भएका दुई जना सिद्धार्थनगर नगरपालिकाका हुने भने एक जना बुटवल उपमहानगरका हुन्। मृतक तीनै जना दीर्घरोगी थिए।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुटवल–८ मिलनचोकका ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो। उच्च रक्तचाप र श्वासप्रश्वास समस्या देखिएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
सिद्धार्थनगर–८ का अर्का मृतक ४५ वर्षीय पुरुष मिर्गौलाका बिरामी हुन्। उनको घरमै मृत्यु भएको हो। नियमित डायलासिस गराउँदै आएका उनको अस्पताल जाने तयारीकै क्रममा मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदार शाहका अनुसार उनी भरतपुरमा उपचार गरेर फर्किएका थिए।
अर्का एक बिरामीको बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचार गर्दैगर्दा मृत्यु भएको हो। अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार सिद्धार्थनगरकी ६४ वर्षीया महिलालाई भेन्टिलेरमा उपचार गरिदै थियो। उपचारकै क्रममा उनमा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भए पनि अस्पतालले उपचार निरन्तर गरेको थियो। उनमा निमोनिया, उच्च रक्तचापको समस्या रहेको थियो।
प्रतिक्रिया दिनुहोस !