प्रदेश लोकसेवाले थाल्यो काम : प्रदेशमै स्थायी कर्मचारीको पदपूर्ति हुँदै
बुटवल : मुलुक प्रादेशिक संरचनामा पुगेपछि पहिलो पटक प्रदेशबाटै स्थायी कर्मचारी नियुक्ती थालिएको छ। ५ नम्बर प्रदेशको लोकसेवा आयोगले कर्मचारी छनोट प्रक्रिया थालेको हो।
प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक तर्फका केही पदमा स्थायीपूर्तिका लागि स्वीकृति दिएसँगै स्विकृति दिएसँगै लोक सेवाले औपचारिक रुपमा कर्मचारी छनोट गर्न थालेको छ। प्रदेश निजामती सेवामा पहिलो पटक इन्जिनियरिङ तर्फको सातौं तह र स्वास्थ्यतर्फको सातौं र आठौं तहमा कर्मचारी भर्ना गरिदैछ।
प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतमले खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोटका लागि आयोग तयारीमा रहेको बताए। ‘हामीले सबै कानुनी प्रक्रिया पुरा गरेका छौं’, उनले भने, ‘अब छिट्टै खुला प्रतिस्पर्धाका लागि सूचना प्रकाशित हुन्छ।’
लोकसेवाले पहिलो पदपूर्तिमा १२५ जना प्राविधिक पदमा खुला आवेदन गर्ने तयारी थालेको छ।
इन्जिनियरिङतर्फका ५३ र स्वास्थ्यतर्फका ७२ पदमा आवेदन हुन लागेको हो। स्वास्थ्यतर्फका सातौं र आठौं तह र इन्जिनियरिङतर्फको सातौं तह छन्। प्रदेशबाट हुने आवेदनमा देशैभरका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। सबैको सहजताका लागि अनलाइनबाट दरखास्त लिने तयारी भइरहेको छ।
प्रदेश लोकसेवा आयोगका प्रवक्ता सूर्य भुसालले अत्यावश्यक पदमा सुरुमै पदपूर्ति गर्न थालिएको बताए। ‘तत्कालै आवेदन लिने विषयमा तयारी चलिरहेको छ’, उनले भने।
लोकसेवाले परीक्षा लिने तयारी गरेका विषयको पाठ्यक्रम तयार गरिसकेको छ। संघीय लोकसेवाकै पाठ्यक्रममा आधारित रहेर प्रदेश पाठ्यक्रम निर्माण गरिएको छ। लोकसेवाले आयोगको नियमावली, खर्च आम्दानी मापदण्ड, बैठक कार्यविधि तयार गरिसकेको छ।
आयोगले काम सूचारुका लागि आवश्यक जनशक्ति समेत प्रदेश सरकारसँग माग गरेको छ। अहिले आयोगमा कार्यालय सहयोगी बाहेक ६ जना मात्रै कर्मचारी छ। लोकसेवाका लागि ५५ जनाको दरबन्दी माग भए पनि तत्कालका लागि २० कर्मचारी भए काम गर्न सकिने आयोगका सदस्य गौतमले जानकारी दिए।
आयोगले परीक्षा सञ्चालनका लागि प्रदेश सरकारको सहयोग लिनेछ। आयोगको कामलाई निष्पक्ष र पारदर्शी बनाउनका लागि सबै प्रक्रिया पूरा गरिएको जनाएको छ। तीन सदस्यीय लोक सेवा अयोगमा अहिले अध्यक्षमा डिलीराम भट्टराई र सदस्यमा गौतम मात्रै छन्। एक जना सदस्यको नियुक्ती विवादित बनेपछि अहिलेसम्म अर्काे नियुक्ती भएको छैन।
प्रतिक्रिया दिनुहोस !