पाँचथरको चिवा भञ्ज्याङ र भैंसेमा बीओपी स्थापना
फिदिम : भारतसँग सिमाना जोडिएको उच्च पहाडी क्षेत्रमा सीमा सुरक्षा बल (बीओपी) स्थापना गर्न थालिएको छ। पाँचथरको चिवा भञ्ज्याङ र भैंसेमा बीओपी स्थापना गरिएको हो।
याङवरक गाउँपालिका-१ स्थित मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवा भञ्ज्याङ र फालेलुङ गाउँपालिका-५ स्थित भैंसेमा बीओपी स्थापना गरिएको हो। चिवा भञ्ज्याङको बीओपी सशस्त्र प्रहरीका डीआईजी वंशीराज दाहालको उपस्थितिमा स्थापना गरिएको छ। १ नम्बर प्रदेशकी सांसद सिता थेवेको प्रमुख आतिथ्यतामा चिवा भञ्ज्याको बीओपी उद्घाटन गरिएको हो।
चिवामा निर्माणाधिन होमास्टेमा अस्थाई रुपमा बीओपी राखिएको हो। सई जसबहादुर प्रधानको कमाण्डमा १८ जना सशस्त्र प्रहरीको टोली चिवाको बीओपीमा राखिएको छ भने सई युवराज तिम्सिनाको कमाण्डमा १८ जनाको टोली भैंसेमा खटाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म हे.क्वा हिमशिखर पाँचथरका सशस्त्र प्रहरी नायब उपरीक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिए।
‘दुई बीओपीमा शसस्त्र प्रहरी नीरिक्षकको कमाण्डमा ३५ जनाको टोली खटाइनेछ,’ श्रेष्ठले भने ‘अहिले जनशक्ति अभावको कारण सईको कमाण्डमा १८ जनाको दरले बीओपी खटाइएको हो।’
पाँचथरमा जम्मा ४ ओटा बीओपी स्थापना गर्ने योजना छ। जसमध्ये दुई बीओपी स्थापना गरिएको छ। डीआइजी दाहालका अनुसार १ नम्बर प्रदेशमा ३० ओटा स्थापना भइसकेका छन्। अब २२ ओटा बीओपी स्थापनाको चरणमा छन्। ‘हामीले बीओपी स्थापना गर्ने कामलाई तिब्र रुपमा अघि बढाएका छौँ,’ दाहालले भने, ‘पाँचथरमा जस्तै अन्य जिल्लामा पनि धमाधम बीओपी स्थापना भइरहेको छ।’
बीओपी स्थापना भएपछि सिमाक्षेत्रका स्थानीय खुसी छन्। सीमा क्षेत्रमा हुने चोरी निकासी र सीमा अतिक्रमण रोकिने फलैँचाका विश्वेश्वर बेघाले बताए। यसअघि सीमा सुरक्षाको अभावमा बहुमूल्य जडिबुटी, लोपन्मुख वन्यजन्तुको चोरी निकासी हुने गरेको थियो।
चिवा भञ्ज्याङमा बीओपी स्थापनामा संलग्न जनप्रतिनिधि र सुरक्षा अधिकारी । तस्बिर : भीमकुमार बाँस्कोटा