पृथ्वी, समुद्र र आकाशबाट चम्किएका यदुनाथ
पृथ्वी, समुद्र र आकाश । निबन्ध प्रतियोगिताको शीर्षक । मुनामदन जस्तो लोकप्रिय खण्डकाव्य लेखिसकेका महाकवि लक्ष्मीप्रसाद देवकोटा त्रिचन्द्र कलेजस्तरीय उक्त निबन्ध प्रतियोगिताका परीक्षक । देवकोटाका सहयोगीका रूपमा अंग्रेजी साहित्यका प्राध्यापक बोधविक्रम अधिकारी र देशकै उच्च प्राज्ञिक व्यक्तित्व खड्गमान सिंह । नेपालबाट सर्वप्रथम एमए पास गर्ने व्यक्तित्व बोधविक्रम ।
१९९३ सालको कुरा हो । त्यति बेला त्रिचन्द्र कलेजमा कलेजस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको थियो । त्यसमा यदुनाथ खनाल, सुरेन्द्रबहादुर शाह, कण्ठनारायण प्रधान, गोपालप्रसाद रिमाल, रामप्रसाद तण्डुकार, साम्बदेव पाण्डे, रामप्रसाद जोशी र तीर्थनाथ अधिकारी गरी आठ प्रतिभाशाली छात्रको सहभागिता थियो । सबै उत्तरपुस्तिका परीक्षक महाकवि देवकोटालाई बुझाइयो । उनले अंक निर्धारण गर्दा १ देखि ८ नम्बरसम्म क्रम संख्या राखेर निबन्धको मूल्यांकन गरियो । निबन्धलेखनमा भाषाशैली, भावुकता, बौद्धिकता, प्रखरता, कल्पनाशक्ति, यथार्थ गहिराइ र चातुर्यजस्ता विषयलाई मूल्यांकनको आधार मानी अंक निर्धारण गरियो । यदुनाथको उत्तर पुस्तिकाको नम्बर ५ थियो । अन्ततः निबन्ध प्रतियोगितामा सबैभन्दा बढी ६० अंक प्राप्त गरी यदुनाथ खनाल सर्वप्रथम भए । स्वर्ण पदकका लागि योग्य घोषित भए । नेपालका हेनरी किसिन्जर मानिने उनै यदुनाथ खनालको १०८औं जन्म दिवसमा उनलाई आजपर्यन्त सम्झिने काम भइरहेको छ ।
यदुनाथले अध्ययनको महŒवलाई छात्र जीवनदेखि नै अत्यन्त सुझबुझका साथ आफूलाई अघि बढाएका थिए । १९८२ सालमा करिब १४ वर्षको उमेरमा तनहुँको मानुङ गाउँबाट सात दिनको पैदल हिँडेर यदुनाथ देशको राजधानी काठमाडौं आएका थिए । तनहुँदेखि काठमाडौं आउँदा बाटोमा डेढ रुपैयाँ पनि खर्च हुन नसकेको उनको अनुभव छ । दोस्रो स्थानमा साम्बदेव पाण्डे घोषित भए । त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक डाक्टर हुन्, साम्बदेव पाण्डे । उक्त निबन्ध प्रतियोगितामा सहभागी आठै जनाले आआफ्ना क्षेत्रमा नाम र ख्याति कमाए । तर, यदुनाथले प्राप्त गरेको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्राज्ञिक उचाइ र ख्याति आजसम्म कसैले पनि कायम गर्न सकेका छैनन् । मानिसको जीवनको लक्ष्य प्रारम्भिक चरणदेखि नै सार्वजनिक हुँदै जाँदो रहेछ भन्ने तथ्य आजको युवापुस्ताले यदुनाथको जीवनीबाट बुझ्न सक्छन् ।
निबन्ध प्रतियोगिताका सहभागी २२ वर्षीय युवक यदुनाथ भविष्यमा गएर देशको विविध क्षेत्रका साथै अन्तर्राष्ट्रिय मामिलासम्बन्धी क्षेत्रमा समेत ख्यातिप्राप्त विद्वान् बन्न सक्लान् भन्ने महाकवि देवकोटाले तत्कालीन परिवेशमा गरेको सुदूर–भविष्यवाणीलाई आजको स्थितिमा स्मरण नगरिरहन सकिन्न । नेपाली साहित्यका विशिष्ट साधक, पूर्वीय एवं पाश्चात्य समालोचनाका ज्ञाता तथा प्रख्यात अन्तर्राष्ट्रिय कूटनीतिज्ञ सरदार यदुनाथको प्रेरणादायी व्यक्तित्वबाट समाज, राष्ट्र र विशेषगरी युवापुस्ताले लामो समयसम्म पनि प्रेरणा र बौद्धिक ऊर्जा प्राप्त गरिरहने छ भन्नेमा विमति नरहला । यदुनाथ साहित्य, दर्शन र विज्ञानका त्रिवेणी विद्वान्रत्न हुन् ।
अंग्रेजी भाषामा नेपालसम्बन्धी पुस्तक लेख्ने थोरै नेपाली विद्वान्को कोटीमा उनी अग्रपंक्तिमा पर्छन् । अंग्रेजीमा अन्तर्राष्ट्रिय परराष्ट्र मामिला सम्बन्धमा लेखिएका उनका आधा दर्जनभन्दा बढी कृतिले विदेश नीतिका बारेमा सफल कूटनीतिक व्याख्या विवेचना गरेका छन् । अंग्रेजीमा लेखिएका उनका जति पनि आलेख छन्, ती सबै कूटनीतिक मामिलासम्बन्धी ऐतिहासिक दस्तावेज हुन् । नेपाली भाषासाहित्यमा कविवर भानुभक्त आचार्यलाई नेपालका सन्त तुलसीदास भनेजस्तै यस अर्थमा यदुनाथलाई नेपालका हेनरी किसिन्जर भनिएको हो ।
१९९९ सालमा कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए गरेपछि उनले त्रिचन्द्र कलेजबाट अंग्रेजी साहित्यको प्राध्यापन सेवा प्रारम्भ गरेका थिए । आफ्नो बौद्धिक नवऊर्जाशील लेखन र अध्ययनको माध्यमबाट एउटा कुशल अंग्रेजीविद् मात्र नरही एक अग्रणी बौद्धिक व्यक्तित्वका साथै अंग्रेजी साहित्यबाट प्राप्त विराट् मानव सचेतना र उन्नत संस्कार सुरुचिपूर्ण आभूषणभित्र यदुनाथले देश र समाजको पक्षमा प्रदान गरेको अग्रणी सेवा भावी पुस्ताका लागि पनि जीवन्त प्रेरणा भएर रहेको छ र रहिरहने छ । यदुनाथ १९९९ देखि २०१३ सालसम्म त्रिचन्द्र कलेजमा लोकप्रिय प्राध्यापकका रूपमा रहे । उनको लोभलाग्दो जीवनशैली र योगदानको पक्ष अनुकरणीय थियो, जान्ने बुझ्नेलाई अझै छ ।
सर्वप्रथम नेपालमा १९९० सालमा एसएलसी परीक्षा बोर्डको विधिवत् गठन भएपछि नेपाली विद्यार्थीले स्वदेशमै रहेर परीक्षा दिन पाउने सुगम प्रणाली सुरु भयो । यही मेसोमा १९९१ को एसएलसीमा दरबार हाइस्कुलको तर्फबाट सहभागी भई सर्वाधिक अंक प्राप्त गरी प्रथम श्रेणीमा प्रथम हुने अवसर प्रतिभाशाली छात्र उनैले प्राप्त गरेका थिए । एसएलसी परीक्षामा सर्वाधिक अंक प्राप्त गरेबापत राणा सरकारले उनलाई त्रिचन्द्र कलेजमा आईएस्सी पढ्न दुई वर्षसम्म मासिक १५ रुपैयाँको छात्रवृत्ति प्रदान गरेको थियो । यसले उनको पठनपाठनमा महŒवपूर्ण आर्थिक सहयोग पु¥याएको थियो भने त्रिचन्द्र कलेजमा अध्ययनको क्रमसँगै यदुनाथले गहन प्राज्ञिक भूमिकासमेत निर्वाह गरे । साहित्य लेखनको प्रारम्भसँगै निबन्धको क्षेत्रमा यदुनाथले विशेष भूमिका छात्र जीवनदेखि नै निर्वाह गरे । राणाकालमा देशकै जनचेतना र बौद्धिकताको केन्द्र त्रिचन्द्र कलेज नै रहेको पृष्ठभूमिमा यदुनाथको आरम्भकालीन बौद्धिक प्रतिभा आफ्नो परिचय दिन पनि सफल भयो ।
विशेषतः २००७ सालको जनक्रान्तिद्वारा देशमा विकसित भएको राजनीतिक परिवर्तनपश्चात् नेपाललाई बाहिरी संसारसँग परिचित गराएर एउटा स्वाधीन राष्ट्रका रूपमा स्थापित गराउन जे जति कूटनीतिक पहल र प्रयास भए, त्यसमा विश्व कूटनीतिज्ञ सरदार यदुनाथ खनालको संस्थागत योगदान छ । अंग्रेजी भाषामा नेपालसम्बन्धी पुस्तक लेख्ने थोरै नेपाली विद्वान्को कोटीमा उनी अग्रपंक्तिमा पर्छन् । अंग्रेजीमा अन्तर्राष्ट्रिय परराष्ट्र मामिला सम्बन्धमा लेखिएका उनका आधा दर्जनभन्दा बढी कृतिले विदेश नीतिका बारेमा सफल कूटनीतिक व्याख्या विवेचना गरेका छन् । अंग्रेजीमा लेखिएका उनका जति पनि आलेख छन्, ती सबै कूटनीतिक मामिलासम्बन्धी ऐतिहासिक दस्तावेज हुन् । नेपाली भाषासाहित्यमा कविवर भानुभक्त आचार्यलाई नेपालका सन्त तुलसीदास भनेजस्तै यस अर्थमा यदुनाथलाई नेपालका हेनरी किसिन्जर भनिएको हो । विश्व–कूटनीतिज्ञ हेनरी किसिन्जरको कूटनीतिक क्षेत्रमा जुन स्तरको क्षमता, घनत्व र कलाकौशल छ; त्यही स्थानमा यदुनाथको भूमिका रहेको पाइन्छ ।
नेपालको अन्तर्राष्ट्रिय नीति असंलग्नता हुनुपर्छ भन्ने मानक निर्माण गर्ने पहिलो कूटनीतिज्ञ पनि यदुनाथ नै हुन् । सिंगो असंलग्न आन्दोलनको आरम्भ बिन्दु इन्डोनेसियाको वाङडुङ सम्मेलन सन् १९५५ का सदस्यसचिव रहेका कूटनीतिज्ञ यदुनाथले नेपालको परराष्ट्र नीतिका बारेमा व्याख्या गर्दा दिग्गज पाश्चात्य विद्वान्हरूको विचारसँग तर्कपूर्ण र क्षमतापूर्ण ढंगले असहमतिसमेत व्यक्त गरेको तथ्य डा. जयराज आचार्यले उल्लेख गरेका छन् । कठोरता सृष्टिको नियमको प्रतिकूल र नम्रता नियमको अनुकूलताले समेत उनको कूटनीतिमा महŒव पाएको छ । त्यसैले उनको कूटनीतिक क्षमता र देशप्रेम अनुकरणीय छ ।
परराष्ट्र सचिव रहेकै अवस्थामा यदुनाथ २०२७ सालमा संयुक्त राज्य अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय मामिला अध्ययन केन्द्रमा छात्रवृत्ति प्राप्त गरेर एक वर्ष कूटनीतिक अध्ययनका लागि गए । एक वर्षसम्म त्यहाँ बसेर अध्ययन गर्दा यदुनाथले गहन र प्रचुर अध्ययनका साथ धेरै शोधपत्र लेखे । हार्वर्डमा छात्रवृत्ति प्राप्त गर्ने यदुनाथ पहिलो नेपाली कूटनीतिज्ञ हुन् । यस विश्वविद्यालयको स्थापना प्रोफेसर हेनरी किसिन्जरले सन् १९५९ मा गरे । दोस्रो नेपाली कुमार खड्गविक्रम शाह हुन् । यदुनाथ गएको २५ वर्षपछि सन् १९९५–९६ का लागि डा. जयराज आचार्य त्यहाँ पुगेका थिए । जयराज पुग्दाको रोचक प्रसंग के छ भने रिटायर्ड भइसकेका ८० वर्षीय प्रोफेसर बेन्जामिन ब्राउनले परिचयमै यदुनाथका बारेमा सोधे । उनले भनेका थिए— यदुनाथ अत्यन्त गहन् विद्वान् रहेछन् ।
अन्तर्राष्ट्रिय कूटनीतिक मामिलामा उनले प्राप्त गरेको अर्को चखिलो सम्मान के हो भने जब उनी हार्वर्डमा अमेरिकी परराष्ट्र नीतिको गहन अध्ययन गरी नेपाल फर्किए, त्यसको एक वर्षपछि २०३० सालमा उनी अमेरिकाकै लागि राजदूत भएर गए । उनको ओहदाको प्रमाणपत्र स्वीकार गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले दिएको भाषणमा भनिएको छ, ‘तपाईंजस्तो ख्यातिप्राप्त र उच्च सम्मानप्राप्त व्यक्ति श्री ५ बाट यस देशका लागि राजदूत नियुक्त हुनुभएकोमा संयुक्त राज्य अमेरिका नै सम्मानित भएको छ ।’ आज सचेत युवा पुस्ताले हाम्रा अग्रज मनिषीका विचार र चिन्तन पक्षलाई बुझ्न कूटनीतिज्ञ डा. जयराज आचार्यद्वारा लिखित ‘यदुनाथ खनाल ः जीवनी र विचार’ ज्यादै नै गहन र प्राज्ञिक पुस्तक हो, जुन पढ्नु अपरिहार्य छ ।
पुस्तकमा प्रस्तुत यदुनाथको जीवनी र विचार पक्षको अध्ययन गर्दा गहन विचारको भू–स्वरूपले विश्व ब्रह्माण्ड बुझेको एउटा सुखद् अनुभव र अनुभूति प्राप्त हुन्छ । पुस्तकमा दुईवटा आकर्षक तस्बिर छन्— पहिलो, श्री ५ वीरेन्द्रद्वारा उतारिएको यदुनाथको मुहार चित्र पुस्तकको आवरणमा छ । दोस्रो, हेनरी किसिन्जर र यदुनाथ खनाल सँगै रहेको पूर्ण कदको तस्बिर । यसमा दुवैको व्यक्तित्व बाघजस्तो छ भने किसिन्जरको यदुनाथप्रतिको हेराइमा नेपालमा यस्ता विराट् व्यक्तित्व रहेछन् भन्ने मनोवैज्ञानिकता बुझ्न सकिन्छ । विश्व ब्रह्माण्ड बुझेका उनले आत्मवृत्तान्त नलेखिदिँदा नेपाली बौद्धिक समाजले धेरै तथ्य गुमाएको छ ।
यदुनाथको आत्मवृत्तान्त भनेको विचारप्रधान ज्ञानको भण्डार हो । जीवनमा प्राध्यापनदेखि प्रशासन एवं कूटनीतिक क्षेत्रमा भारत, चीन र अमेरिकासम्म निवास गरेका यदुनाथको अनुभव र ज्ञानको भण्डार–क्षेत्र व्यापक छ । उनले दर्जनौं अन्तर्राष्ट्रिय कूटनीतिक मञ्च, सभा र सम्मेलनहरूमा शोधपत्र प्रस्तुतसहित भाषण दिएका दिए । यसकारण पनि उनको जीवनी भनेको समाजको जीवनी हो । २०५४ मंसिर ८ गते त्रिभुवन विश्वविद्यालयद्वारा यदुनाथलाई प्रदान गरिएको सम्मानार्थ महाविद्यावारिधि उपाधिपछि त्रिवि परिसरमा उनले गड्गडाएर दिएको लामो बौद्धिक भाषण पनि अत्यन्त चर्चित बनेको थियो ।
अधिकांश कर्मयोगी मानिस जीवनमा एकपटक जसरी उदाए, त्यसरी अस्ताउने पनि गर्छन् । तर, नेपाली वाङ्मय क्षेत्रका सिंगो प्राज्ञिक धरोहर कूटनीतिज्ञ यदुनाथ नै एउटा यस्तो विवादरहित, कर्तव्यनिष्ठ र निष्कलंक नाम हो, जो विगत १९९१ देखि २०६१ सालसम्म नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक, साहित्यिक, शैक्षिक, प्रशासनिक र सामरिक महŒवका क्षेत्रमा अटुट रूपमै आजीवन देखा परे । यदुनाथको जन्म १९७० साउन २८ गते तनहुँको मानुङ गाउँमा असम्पन्न तर शिक्षित परिवारमा भएको थियो ।
उनको निधन २०६१ असोज १६ गते झन्डै ९१ वर्षको उमेरमा आफ्नै निवास बानेश्वरमा भएको हो । यदुनाथको गाउँ मानुङमा त्यहाँका धनीमानीले समाजमा एउटा कहावत फिजाएका थिए— खनाल परिवारमा शिक्षा अफाप सिद्ध हुन्छ । तर यदुनाथले त्यो असम्पन्न अवस्थामा पनि संस्कृत शिक्षाको चाहिँदो ज्ञान प्राप्त गरेर जीवनका विकराल, विषम् र जटिल परिस्थितिसँग लड्दै भिड्दै अन्तर्राष्ट्रिय व्यक्तित्व निर्माण गर्न सक्नु खनाल परिवारमा शिक्षा अफाप हुन्छ भन्नेका लागि चुनौती हो । लेखन, अध्ययन र अध्यापन कलाकौशल प्राप्त गर्नु यदुनाथको अर्को सफल वैशिष्ट्य हो । उनको १०८औं जन्मजयन्तीका क्रममा उनीप्रति हार्दिक शब्द श्रद्धाञ्जलि !
प्रतिक्रिया दिनुहोस !