पर्सामा पाँच रेडियोकर्मीसहित ९८ जनाले जिते कोरोना
वीरगन्ज : पर्सामा शनिबार एकै दिन ९८ जना संक्रमित कोरोना मुक्त भएका छन्। वीरगन्जस्थित नारायणी एफएमका ५ जना रेडियोकर्मीसहित ९८ जना शनिवार कोरोना मुक्त भइ घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।
भदौ ६ गते संक्रमित भएपछि एफएम स्टेशनमै आइसोलेसन बनाएर रेडियो सञ्चालन गर्दै आएका नारायणी एफएमका १ समाचारवाचक , २ जना प्राविधीक , १ जना प्रशासन प्रमुख र १ जना कार्यालय सहयोगी गरि ५ जनाको शनिवार पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरु कोरोना मुक्त भएका हुन्।
यस्तै शनिवार नै वीरगन्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालबाट १४ जना, सेमी आइसोलेसन सञ्चालन गरिएको कलवार अतिथीसदनबाट १५ जना, राणीसती अतिथी सदनबाट ३० जना , होटल कुमु प्यालेशबाट १० र नारायणी बयोधा हस्पिटलबाट ४ जना पनि डिस्चार्ज भइ घर फर्किएको श्रीवास्तवले जानकारी दिए। यसैगरि पर्सागढी नगरपालिकामा होम आइशोलेशनमा रहेका १७ जना र बहुदरमाइ नगरपालिकाको सेमी आइसोलेसनबाट २ जना पनि शनिवार नै कारोना मुक्त भएका छन्।
पर्सामा पछिल्लो ११ दिनको अवधी ( भदौ १० देखि २० सम्म ) मा मात्रै ६ सय ६६ जना संक्रमित , कोरोना मुक्त भएका हुन्। श्रीवास्तवका अनुसार भदौ १९ गते ५४ जना , १८ गते ३६ जना , १७ गते एकै दिन १०९ जना , १६ गते ४२ जना , १५ गते २१ जना , १४ गते ३७ जना , १३ गते ६१ जना , १२ गते ३९ जना , ११ गते १०३ जना र भदौ १० गते ६६ जना कोरोना मुक्त भएका थिए।
श्रीवास्तवका अनुसार , पर्सामा शुक्रबार साँझ सम्म कोरोनाबाट निको हुनेको संख्या १ हजार ४ सय १७ पुगेको छ। पर्सामा शुक्रबार सम्म २ हजार ३ सय ७७ जनामा सक्रमण पुष्टि भएको छ। ती मध्ये उपचार पछि १ हजार ४ सय १७ जना कोरोना मुक्त भइ घर फर्किएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी दिए।
अब पर्साको १ सय ७० बेडको २ वटा कोभिड अस्पतालमा ८० जना मात्रै संक्रमित उपचाररत छन्।
यस्तै होम आइसोलेसनमा ९ सय १२ जना संक्रमित छन्। जिल्लाका विभिन्न स्थानका विद्यालय, होटल र अतिथी सदनमा बनाइएका सेमी आइसोलेसनमा भने २ सय ५९ जना रहेको श्रीवास्तवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !