स्वाब परीक्षण रिर्पोट १२ दिनसम्म आएन
कपिलवस्तु : कोरोना संक्रमण परीक्षणका लागि संकलन गरी पठाक्षएको स्वाब परीक्षण रिर्पोट १२ दिनसम्म पनि आएको छैन। कपिलवस्तु नगरपालिकाले तौलिहवा स्थित बुद्धपद्म मा.वि.परिसरमा भदौ १३ गते संकलन गरी पठाएको स्वाब परीक्षण रिर्पोट हालसम्म नआएको कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका ७८ जनाको स्वाब नमूना संकलन गरी बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। तर १२ दिनसम्म रिर्पोट नआउँदा कोरोना संक्रमण नियन्त्रणका प्रयास विफल हुँदै गएको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा संयोजक उमेश गुप्ताले बताए। 'अब रिर्पोट कहिले आउने हो ? थाहा छैन', स्वास्थ्य शाखा संयोजक गुप्ताले भने, 'कोरोना पोजिटिभ भनेर आउने रिर्पोटको खासै अर्थ रहँदैन। किनभने संक्रमितले घर परिवार वरपर कोरोना सारिसकेका हुन्छन्। रिर्पोट ढिलो आउँदा संक्रमित व्यक्ति २ हप्ता आइसोलेसनमा बस्नु पर्ने समय गुज्रिसकेको हुन्छ।'
सोमबार मृत्यु भएका पत्रकार बनारसी बर्माको पनि गत भदौ १३ गते ७८ जनाकै समूहमा स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। तर रिर्पोट नआउँदै उनको मृत्यु भएपछि स्वास्थ्य कार्यालयको विशेष अनुरोधमा सोमबार सांझ मात्रै उनको रिर्पोट पोजिटिभ देखाइएको थियो। जिल्ला अस्पतालमा मृत्यु भएका पत्रकार बर्माको शव आफन्तले घरमा लगेर राखी अन्तिम संस्कारको तयारी गरिरहँदासम्म पनि उनी कोरोना संक्रमित हुन् भन्ने थाहा भएन। शव घरमा लैजाँदा र घरमा राख्दा शव हेर्न आउने थुप्रैमा कोरोना संक्रमण भएको सक्ने अनुमान गरिएको छ।
संक्रमितको सम्पर्कमा आएकाको २४ घण्टाभित्र नामावली सूची तयार पार्नु पर्छ। त्यसै सूचीका आधारमा उनीहरुको स्वाब परीक्षण गरी जति सक्यो छिटो रिर्पोट प्राप्त गर्न सके मात्रै कोरोना संक्रमण समुदायमा फैलन नदिइ यसको नियन्त्रणका लागि गरिएको प्रयास प्रभावकारी हुन सक्ने गुप्ताले बताए। 'स्वाब परीक्षण रिर्पोट प्राप्त गर्न नै १२ दिनभन्दा बढी समय लाग्छ भने संक्रमण नियन्त्रण कसरी गर्ने ?', स्वास्थ्य संयोजक गुप्ताले प्रश्न गरे।
कपिलवस्तु नगरपालिकाभन्दा ढिलो गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको जिल्लाका अन्य विभिन्न पालिकाको स्वाब संकलन रिर्पोट आइसक्यो। तर कपिलवस्तु नगरपालिकाको रिर्पोट ढिलो भएको नगरपालिकाका स्वास्थ्यकर्मीले बताए।
कपिलवस्तु नगरपालिका भित्र २ सय ५३ जनामा कोरोना संक्रमण देखिएकोमा २ सय २९ जना कोरोना संक्रमण मुक्त भइ सामान्य जीवनमा फर्केका छन्। ३ जनाको मृत्यु भएको छ। संक्रमित २१ जना होम आइसोलेसन तथा सरकारी आइसोलेसन सेन्टरमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !