भानु नगरपालिकामा एक साता निषेधाज्ञा थप
दमौलीः भानु नगरपालिकामा एक साता निषेधाज्ञा थप गरिएको छ। गत सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार बिहिबारबाट लागु हुने गरी थप एक साताका लागि निषेधाज्ञा लागु गरिएको नगर प्रमुख उदयराज गौलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस अघि जारी निषेधाज्ञा बुधबार सकिंदै थियो। नगरपालिकाभित्र समुदायस्तरमा संक्रमण देखिएको र संक्रमण क्षेत्रमा हालसम्म पनि कन्ट्याक्ट ट्रेसिङको काम भैरहेकाले निषेधाज्ञा थप भएको विज्ञप्तिमा उल्लेख छ।
नगर प्रमुख गौलीले कन्ट्याक्ट ट्रेसिङमा परेका र शंका लागेकालाई परीक्षणका लागि नगरपालिकामा सम्पर्क गर्न पनि आग्रह गरेका छन्। विज्ञप्तिमा उनले सबै नागरिक सचेत भइ स्वास्थ्य मापदपण्डको पालना गर्दै बन्दाबन्दीको अवस्थामा सघाउन अनुरोध गरेका छन्। गत साउन २५ गते समुदायस्तरमा संक्रमण बढेपछि २७ गतेयता नगर क्षेत्रमा निरन्तर निषेधाज्ञा जारी छ।