चट्याङ लागेर ताराखोलामा एक युवकको मृत्यु
बागलुङ : जिल्लाको ताराखोला गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। बुधबार राति वर्षासँगै परेको चट्याङ लागेर ताराखोला गाउँपालिका-३ फिलमिरेका २२ वर्षीय भिमबहादुर बस्नेतको मृत्यु भएको हो।
घरमै सुतिरहेको अवस्थामा चट्याङ परेपछि बस्नेतको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरिक्षक युवराज सलमीले जानकारी दिए। चट्याङले लागेर सोही स्थानका ३२ वर्षीय सुरेश थापा र वडा नम्बर ३ कै बराहखोला छमइका धुव्र कंडेल घाइते भएका छन्। घाइते दुवैको स्थानीय क्लिनिकमा उपचारपछि घर फर्किएका छन्। मृतकको शव भने पोस्ट मार्टमका लागि गल्कोट प्राथमिक स्वास्थ केन्द्र हरिचौर लगिएको प्रहरीले जनाएको छ।
यसैबीच, भारी वर्षाका कारण ताराखोला ५ मपेश खोलाबाट आएको बाढीले खेतीयोग्य जमिन सँगै ५ वटा झोलुङ्गे पुलमा क्षती पुर्याएको छ। वडा नम्बर ५ को कमखोला घाट झोलुङ्गे पुल, वडा नम्बर ४ को मिच्चेक घाट झोलुङ्गे पुल र दोगाडी घाट झोलुङ्गे पुल बगाएको स्थानीय तम बहादुर घर्तीले जानकारी दिए।
बाढीले ताराखोला जलविद्युत प्रसारण लाइनका पोलहरु समेत बगाएकाले विद्युत अवरुद्ध भएको छ। वडा नम्बर ४ को दलानचौरमा रहेको काठको अस्थायी मोटरेबल पुलमा समेत क्षति पुर्याएकाले ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पनि अवरुद्ध बनेको छ। वडा नम्बर ५ को सिंजालीचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो समेत अबरुद्ध बनेको स्थानीयले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !