पाँच कर्मचारीसहित १२ जनामा कोरोना पुष्टि
![पाँच कर्मचारीसहित १२ जनामा कोरोना पुष्टि](https://annapurnapost.prixacdn.net/media/albums/corona-virus__20200906104104_bEOioIgOSL.jpg)
स्याङ्जा : पुतलीबजारमा बिहीबार १२ जना कोरोना संक्रमित थपिएका छन्। थपिने सबै कन्ट्याक्ट ट्रेसिङ्बाट स्वाब परीक्षण गराएका हुन्। मालपोतका कर्मचारी, वडा सचिव र संक्रमित जुवाडेका आफन्तसहित १२ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेमा ५ महिला र ७ पुरुष छन्। संक्रमित मध्ये ५५, ३८, ३६, ३१, २५, ४१, ५२ वर्षीय पुरुष र २७, ३३, ५३, ६०, २६ वर्षीया महिला रहेको प्रादेशिक स्वास्थ्य कार्यालय पोखराले जनाएको छ।
संक्रमितका प्रत्यक्ष सम्पर्कमा रहेकाको कन्ट्याक ट्रेसिङ्का आधारमा गरिएको पीसीआर परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको पुतलीबजार नगर स्वास्थ्य प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए।
यसरी थपिनेमा मालपोतका कर्मचारी ४ जना, पुतलीबजार नगरपालिकाका एकजना, समुदायका ७ जना रहेको नगर स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफ्लेले जानकारी दिए। उनीहरुलाई पुतलीबजार स्थित करेन्डाँडा स्वास्थ्य केन्द्र र भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलसनमा राखिएको छ।
पाँच दिनअघि मालपोतका एकजना कर्मचारी र १९ जना जुवाडेमा कोरोना संक्तमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका मध्ये ७५ जनाको कन्ट्याक ट्रेसिङ गरी परीक्षणका लागि पोखरा पठाइएको थियो।
संक्रमित थपिएसँगै स्याङ्जामा संक्रमितको संख्या ३ सय ४९ पुगेको छ। निको भएर ३ सय ८ जना घर फर्केका छन्। विभिन्न आइसोलेसनमा ३९ जना उपचाररत छन् भने करिब २ महिनाअघि कोरोनाका कारण २ जनाको निधन भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)