कोरोनाबाट कपिलवस्तुमा थप दुईजनाको मृत्यु
कपिलवस्तु : कोरोना संक्रमणका कारण कपिलवस्तुमा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयकाअनुसार शिवराजनगरपालिका ५ की ४७ वर्षीया महिलाको बुटवलधागो कारखानास्थित कोरोना अस्थायी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ ।
यसैगरी शिवराज नगरपालिकाकै ५ का ५८ वर्षीय पुरुषको भैरहवास्थित भिम अस्पतालमा उपचारको क्रममा आइतबार राती मृत्यु भएको कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
मृतक महिलालाई भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई मृगौला र उच्च रक्तचापको समस्या रहेको थियो । अर्का मृतक पुरुष दमको बिरामी थिए । उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि पछि उपचार सुरु गरिएको थियो । जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !