पहिरोले उहियाका चार घर विस्थापित
गोरखा : धार्चे गाउँपालिका-३ उहियामा पहिरो जाँदा चार घर परिवार विस्थापित भएका छन्। शनिबार राती करिब दुई बजे गएको पहिरोले धनबहादुर गुरुङ, डम्बरसिङ गुरुङ, किसान गुरुङ र धनसरी गुरुङको घरपरिबार विस्थापित भएको वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए।
पहिरो करिब तीनसय मिटर लामो छ। पहिरोले सार्वजनिक भवन, किसान गुरुङको आँगन बाटो सबै लगेको र वाङदिङ टोललाई समेत क्षति पुर्याएको छ। अझै पानी पर्यो भने घर नै पहिरोले बगाउन सक्ने जोखिम रहेकाले किसान गुरुङ, वाङदिङ टोलका मनसरा गुरुङ र धनसरी गुरुङ छिमेकीको घरमा बस्दै आएका स्थानीय जनप्रतिनिधि प्रमिना घलेले जानकारी दिइन्।
घर पहिरोले क्षति पुर्याएको र छोराछोरी र श्रीमान पनि नरहेकाले करिब ८० बर्षकी धनसरी गुरुङको बिचल्ली भएको उनले बताइन्। ‘परिवार कोही पनि नभएको र भएको एउटा घर पनि पहिरोका कारण छोड्नुपर्दा उहाँको बिचल्ली भएको छ’, उनले भनिन्।
प्रतिक्रिया दिनुहोस !