आहा ! कति सुन्दर खोपरा (फोटो फिचर)
खोपारा (म्याग्दी) : पहाडको शिरमा भिरालो पाखो । केही तल हरियाली जंगल । पृष्ठभूमिमा लहरै बसेका हिमाल । हिमाल र पहाडको बादलसँग लुकामारी । शान्त वातावरण । मौसम अनुसार फूल्ने रंगिबिरंगी फूल । घाँसे मैदानमा चरिरहेका चौरी, भेडा र घोडाका अलग बथान ।
म्याग्दीको अन्नपूर्ण गाँउपालिका–५ मा पर्ने 'खोपारा' लेक जैबिक, भौगोलिक र प्राकृतिक हिसाबले मनमोहक छ । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपारा प्राकृतिक 'भ्यू प्वाइन्ट' हो ।
यहाँबाट पुथा, गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, बराह शिखरलगायतका हिम टाकुराहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । खोपाराबाट नागबेली परेर फेदीमा बगेको कालीगण्डकी देखि हिमालको दृष्य देखिने त्यहाँस्थित सामुदायिक लजमा विगत एक वर्षदेखि कार्यरत पाउद्धारका आदेश तिलीजाले बताए ।
उनका अनुसार खोपाराबाट सुर्योदय, सुर्यास्तको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडि बस्ती देख्न सकिन्छ । खोपारा भन्दा तलको क्षेत्रमा हरियाली जंगल छ । माथिल्लो क्षेत्र नांगो पाखो । एक जापानी अनुसन्धान कर्ताले यस क्षेत्रमा १७५ प्रजातिका बनस्पति पाइने बताएका वडा सदस्य धनबहादुर पाइजा पुनले सुनाए । _20201006084902.jpg)
‘बर्खामा बुकीमा धेरै थरीका फुल फुलेर रंगीन हुन्छ,' उनले भने, 'हिउँदमा हिउँले छोपिने खोपारा बसन्त ऋतुमा पाखाभरी ढकमक्क फूल्ने लालिगुराँसले मनमोहन देखिन्छ ।' भिरालो हरियाली घाँसे मैदानको पृष्ठभुमिका हिमालहरुको दृष्य बिहान १०–११ बजेपछि भने बादलको घुम्टोभित्र लुक्छ । छिन–छिनमा बादल र कुइरो घुम्टो ओडेर लुकामारी खेल्ने गर्दछन् ।
प्रभातकालीन समयमा हिमाल र खुलेका निलो आकाश देख्दा आँखा चिम्लन मन नलाग्ने बेनीबाट खोपारा भ्रमणमा गएका सिजन शाहीले अनुभव सुनाए । 'हिमालको पृष्ठभूमिमा चौरी, भेडा र घोडाको बनाथ चर्दै र खेल्दै गरेको दृष्य पहिलो पटक यहाँ आएर देखे, 'बेनीबाट १० जनाको समूहमा खोपारा घुम्न गएका शाहीले भने, 'यहाँको रमणीय दृष्य र शान्त वातावरणले मोहित बनायो ।'
खोपारा भन्दा तलको खोचबाट जहाज र हेलीकप्टर मुस्ताङ ओहोर–दोहोर गरेको दृष्य कम लोभ लाग्दो हुँदैन् । खोपारा लेकसम्म पुग्न नाकै ठोकीने उकालो, तल हेर्दा रिंगाटा लाग्ने अक्करे भिरको यात्रा गर्नुपर्छ । प्राकृतिक सौन्दर्यले गर्दा उकालो यात्राको दु:ख र थकाई मेटिएको बेनीका सज्जन हमालले अनुभव सुनाए ।
खोपारा र आसपासका क्षेत्रमा पाउद्धार मावि र हिमाञ्चल माविका निजी स्रोतका शिक्षकको तलब जुटाउन डेढ सय भन्दा बढी चौरी पालिएका छन् । पाउद्धार गाउँका ७ वटा भेडा गोठको चरन क्षेत्र पनि खोपारा वरपरनै हो । पछिल्लो समय यहाँ भैसी र गाईको गोठ भने लैजान छोडिएको छ ।
भैसीले चरन क्षेत्रमै ब्याएका पाडापाडी चिप्लिएर तल तल झर्ने र त्यसलाई खोज्न जानुपर्ने भएका कारण परापूर्व कालमा यस ठाउँलाई 'खोपारा' नामांकरण गरिएको स्थानीय बताउँछन् । पछिल्लो समय यो ठाउँलाई खोप्रा भनेर प्रचार भइरहेको छ । _20201006084901.jpg)
पाउद्वारदेखि खोपारा जाने बाटोमा विभिन्न मण्डलीका थान छन् । स्थानीयबासीको धार्मिक आस्था भएका मण्डलीका थानसँग ग्रामिण कृषि, गोठाला र शिकारीहरुको कथा जोडिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने खोपारा पछिल्लो समय पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको छ । सन २०१८ र १९ मा एक हजार जना भन्दा बढी बिदेशीले खोपरा क्षेत्रको भ्रमण गरेका थिए ।
विदेशीका साथै देशका विभिन्न ठाउँबाट समेत आन्तरिक पर्यटक खोपारा भ्रमणमा आउँछन् । सिजनमा पाहुनाले खोपाराको सामुदायिक लज भरिभराउ हुन्छ । कोरोनाको महामारीले गत फागुन देखि अन्य क्षेत्र जस्तै खोपाराको पर्यटन पनि सुस्ताएको छ ।
तर सहरी क्षेत्रबाट जन्मथलोमा फर्किएका र जिल्लाभित्रकै मानिसहरुले घुमघामका लागि खोपारालाई रोज्न थालेका छन् । सामाजिक अभियन्ता महावीर पुनको अगुवाइ र अवधारणा अनुसार सञ्चालित अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा खोपारालाई समेटिएको छ । _20201006084901.jpg)
खोपाराको रिपीटर टावरबाट पुनले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङ जिल्लाको दुर्गम बस्तीमा तार रहित ईन्टरनेटको सञ्चाल फिँजाएका छन् । दुर्गम भएपनि आधुनिक सूचना प्रबिधिमा रमाउन पाउनु खोपाराको अर्को बिशेषता हो ।
खोपारा घुम्न जानेहरुलाई खाने बस्ने सुविधाका लागि सामुदायिक लज सञ्चालन भएको छ । करिब दश वर्ष पाउद्धार र हिमाञ्चल मावि मार्फत सञ्चालित सामुदायिक लजलाई गत मंसिरदेखि पाउद्वार पर्यटन सहकारी संस्था मातहत ल्याइएको छ । यो लजको क्षमता २४ जनाको छ ।
सहकारी मार्फत सामुदायिक लजका साथै पाउद्धारमा होमस्टे र तातोपानी कुण्ड–भालखरा–खोपारा–खयर–खोपारा–लेरेनी–पाउद्वार जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको कार्यवाहक वडा अध्यक्ष राजेश तिलीजाले बताए ।
फ्रान्सका दाताको सहयोगमा खोपारामा चार कोठे आठ जना क्षमताको नयाँ पाहुनाघर निर्माण अन्तिम चरणमा पुगेको छ । अर्को पाहुनाघर पनि निर्माणको तयारीमा छ । खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषले खोपरामा दुई वटा आश्रयस्थल बनाएको छ ।
पाउद्धार, नारच्याङ, स्वाँता, बयली, ढाडखर्क हुदै खोपारा एकै दिनमा पुग्न सकिन्छ । पाउद्वार हुँदै खोपारा जाने बाटोमा दुईवटा चिया तथा खाजा र खाना खान पाइने रेष्टुरेन्ट खुलेका छन् । पाउद्धारका होटलमा राम्रो खानेबस्ने सुविधा छ ।_20201006084901.jpg)
घोस्केखोर लघुजलविद्युत परियोजनाबाट खोपारा, ढाडखर्क र बयलीको सामुदायिक लजमा बिद्युत आपुर्ति गराइएको छ । पुराना पदमार्ग सडकमा परिणत भएपछि खोपारालाई नयाँ गन्तब्य बनाउन समुदाय र स्थानीय तहले चासो दिएका छन् ।
अन्नपूर्ण गाउपालिकाको दश लाख रुपैयाँ बजेटबाट पाउद्धारदेखि खोपारा हुदै खयर जाने विभिन्न ठाउँमा ८२० मिटर पदमार्ग निर्माण भैरहेको उपभोक्ता समितिका अध्यक्ष राकेश पुर्जाले बताए । थप दश लाख बजेटबाट ढाँडखर्क हुँदै खोपारा जोड्ने पदमार्ग निर्माण सुरु भएको छ ।
पाउद्धारका बासिन्दाले आफन्तको नाममा खोपरा र त्यहाँदेखि चार हजार ७०० मिटर उचाइमा रहेको धार्मिक पर्यटकीय स्थल खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण गर्दै आएका छन् ।
खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका अध्यक्ष राजु पुनका अनुसार पछिल्लो आठ वर्षयता समुदाय तथा प्रवासमा रहेकाहरुबाट करिब डेढ करोड रुपैयाँ सहयोग जुटाएर खोपरा र खयर क्षेत्रमा पूर्वाधार निर्माण गरिएको छ । यसमा सरकारको सहयोग तीन लाख रुपैयाँ मात्र छ । _20201006084901.jpg)
खयरभारानीको थान पुननिर्माण, पदमार्ग निर्माण, भक्तजन र पर्यटक बस्ने आश्रयस्थल निर्माण र खानेपानीको ब्यवस्था मिलाइएको छ । खयरभारानीमा जनै पूर्णिमाका दिन लाग्ने मेलामा आफूले मागेको बर पुरा भएको र आफन्तको नाममा चन्दा सहयोग गरेका छन् । _20201006084900.jpg)
६८ वर्षीय पुन बेलायती सेनाको जागिरबाट सेवा निवृत्त भएपछि विगत ९ वर्षयता खयरभारानीको सेवामा सक्रिय छन् । उकालो र चिप्लो तथा भीरको बाटो भएकाले दुर्घटनाको जोखिम न्युनीकरणका लागि ढुंगासहितको सिंढी निर्माण गरिएको छ ।
पदमार्गको ठाउँ गाउँमा विश्राम गर्ने चौतारी बनाएका छन् । पदमार्ग, सामुदायिक लज, खानेपानी र आश्रयस्थलको सुविधा भएपछि खोपरा र खयरभारानीको पर्यटन विकासमा मद्दत पुगेको छ । स्थानीयको सक्रियतालाई मूर्तरुप दिन गाउँपालिका, प्रदेश र संघ सरकारको साथ र सहयोग आवश्यक रहेको कोषका अध्यक्ष पुनले बताए । _20201006084859.jpg)
_20201006084859.jpg)
_20201006084859.jpg)
_20201006084837.jpg)
_20201006084832.jpg)
प्रतिक्रिया दिनुहोस !