नाम र राजधानी : अलमलमै २ नं. प्रदेश
जनकपुरधाम : प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा हुन लागेको छ । तर प्रदेश राजधानी र नामबारे प्रदेश २ अझै अलमलमा छ । दलहरूका आ–आफ्नै अडानले यो विषय जटिल बन्दै गएको छ ।
हाल अस्थायी राजधानी रहेको जनकपुरलाई स्थायी राजधानी बनाउने विषयमा सत्तासीन मधेसवादी दलसहित प्रमुख तीन दल सहमत छन् । नामको विषय टुंगो लाग्न सकेको छैन ।
प्रदेशको नाम र राजधानी निर्धारण गर्न गत वर्ष भदौ ५ गते प्रदेशसभामा दलहरूले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका थिए । सत्तापक्ष जनता समाजवादी पार्टीले प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुर’ हुने प्रस्ताव दर्ता गरायो । प्रमुख प्रतिपक्षी दल नेकपाले नाम ‘जानकी’ र राजधानी ‘धनुषा’ को प्रस्ताव राख्यो ।
अर्को दल नेपाली कांग्रेस भने प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्ने पक्षमा प्रस्ताव दर्ता गराएको छ । केही सांसदले प्रदेशको राजधानी ‘वीरगन्ज’ राख्ने प्रस्ताव पनि दर्ता गराए । दलहरूको प्रस्तावमा सहमति नजुटेपछि गत चैत ४ मा प्रदेशसभामा सबै प्रस्तावमाथि छुट्टाछुट्टै मतदान पनि भयो । तर, कुनै पनि प्रस्तावले दुई तिहाइ मत नपाएपछि सबै अस्वीकृत भए ।
प्रदेशको नाम र राजधानीको टुंगो लगाउन संसदको दुई तिहाइ मत आवश्यक हुने संवैधानिक व्यवस्था छ । सत्तापक्ष जसपाले प्रदेशको नाम ‘मधेस’ कायम नगरे राजधानी जनकपुर नदिने अडान राखेपछि राजधानीको पनि टुंगो लाग्न सकेको छैन । ‘राजधानी जनकपुरलाई दिएर मधेसवादी दलले मधेस प्रदेश नाम राख्न खोजेको छ । तर, त्यो न त कांग्रेसलाई स्वीकार्य छ न त कम्युनिस्टलाई नै ।’ नेकपा सांसद रामचन्द्र मण्डल भन्छन् ।