बहराइनको राजपरिवारको नाममा गोरखाली डाँडाको नामाकरण

बहराइनको राजपरिवारको नाममा गोरखाली डाँडाको नामाकरण

गोरखा : चुमनुब्री गाउँपालिका १ सामागाउँको एउटा डाँडालाई स्थानीयबासीले बहराइनको राजपरिवारको नामबाट नामाकरण गरेका छन् ।

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको भ्रमणको अवसर पारेर सामागाउँका बासिन्दाले पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ नामाकरण गरेका हुन् । बहराइनका राजपरिबारका सदस्य भ्रमणमा आउँदा दिने महत्वपूर्ण कोसेलीको रुपमा पहाडको नाम दिएको वडा सदस्य मिङ्मार लामाले बताए । ‘हामीले कोसेलीस्वरुप पैसा दिन सक्दैनौँ । पैसा उहाँहरुसँगै छ । हामीले दिने त्यस्तो नयाँ सामान पनि छैन । जे चाहे पनि उहाँहरुसंगै छ । माया र सद्भाव देखाउन हामीसंग जे छ, त्यही कोशेली दिने हो, त्यसैले हाम्रो एउटा पहाडको नाम दिएका हौँ’, वडासदस्य मिङ्मार लामाले भने, ‘राजकुमार आउनुभन्दा अघि गाउँ भेला गरेर पहाडलाई बहराइनको नाम दिने निर्णय गरेका थियौँ ।’ राजपरिवारको नाम दिएपछि राजकुमार अत्यन्त खुसी भएको उनले बताए ।

‘उहाँको स्वागत कार्यक्रममा वडाअध्यक्ष वीरबहादुर लामाले पहाडको नाम दिएको औपचारिक जानकारी गराएपछि उहाँ धेरै खुशी हुनुभयो अनि हेलिकोप्टर लिएर पहाड हेर्न जानु भयो’, वडासदस्य लामाले भने, ‘अनि फर्केर आएर हामीलाई धेरै धन्यवाद दिनुभयो । सामागाउँको सुखदुखमा सँधै साथ दिने वचन दिनुभयो ।’

राजा वीरेन्द्र सामागाउँको भ्रमणमा आउँदा पनि गाउँलेले एउटा महत्पूर्ण तालको नाम वीरेन्द्रलाई दिएका थिए । ‘पहिले राजा वीरेन्द्र यहाँ भ्रमण गर्न आउँदा पनि हामीले यहाँको सबैभन्दा ठूलो तालको वीरेन्द्र तालको नाम दिएका थियौँ’, उनले बताए ‘यो हाम्रो ठूला पाहुनालाई सम्मान गर्ने परम्परा हो ।’ राजाको नामको ताल छ भनेपछि यहाँसम्म आइपुग्ने जो कोही पनि वीरेन्द्र ताल हेर्न भनेर जाने गरेकाले सो पहाडसम्म पनि पर्यटन विकास हुने विश्वास लिएको उनले बताए । ‘पछि भविष्यलाई राम्रो हुन्छ, पर्यटन विकास हुन्छ भनेर त्यसो गरेका हौं’, उनले भने ।

साविकको पङ्वोछे डाँडा ५,१६० मिटर अग्लो छ । ‘झलक्क हेर्दा हाम्रो पङ्वोछे डाँडा नुर्बु(डायमण्ड) जस्तो देखिन्छ । गुरु मेलारेप्पा गुफा पनि छ’, उनी भन्छन्, ‘गण्डकी खोलापारि पर्ने त्यहाँ हरसाल हिउँदका बेला गाउँलेले याकचौरीको गोठ राख्ने मुख्य ठाउँ हो ।’

राजकुमार सेख मोहम्मद अहिले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको आधार शिविरमा छन् । उनीसहितको टोलीलाई मनास्लु आरोहणका लागि सेभेन सम्मिट ट्रेक्स प्रालिले बन्दोबस्त गरिरहेको ट्रेकिङ कम्पनीका कार्यकारी निर्देशक पासाङ फुर्बु शेर्पाले जानकारी दिए ।

टिमको नेतृत्व विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका छाङ धावा शेर्पा र कान्छा सगरमाथा आरोही टासी लाक्पा शेर्पाले गरिरहेका छन् । सो टिममा २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामी रिता शेर्पा गाइडको भूमिकामा छन् । सेभेन सम्मिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा पनि टिममा छन् ।

अक्टोबर १५ देखि २० तारिखभित्र मनास्लु हिमाल आरोहण गरिसक्ने कार्यक्रम रहेको शेर्पाले बताए । यसअघि राजकुमारको टोलीले गत शनिबार सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.