डा.केसी र सरकारबीच भएको सहमतिलाई कांग्रेसले गर्यो स्वागत
काठमाडौं : नेपाली कांग्रेसले डा. गोविन्द केसी र संघीय सरकारबीच भएको सहमतिलाई स्वागत गरेको छ। मध्यरातमा गरिएको ८ बुँदे सहमति ईमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न नेपाली कांग्रेसले वर्तमान सरकारलाई सार्वजनिक रुपले आग्रह गरेको छ।
सहमतिलाई सकारात्मक रूपमा लिएको बताउँदै कांग्रेसका सूचना, संचार तथा प्रचार विभाग प्रमुख एवं प्रवक्ता विश्वप्रकाश शर्माले विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न अपील गरेका हुन्।
‘डा. के.सी.ले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो। जुम्ला अनशनपछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउँदै सहमतिमा पुगेको छ।’ आइतबार जारी विज्ञप्तिमा भनिएको छ,‘सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं। तर विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं।’
वर्तमान प्रधानमन्त्रीको अग्रसरतामा ०७५ साउन १० गते डा. के.सी.सँग गरिएको सहमति सोही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको भएको कांग्रेसको ठहर छ। नेपाली कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा. के.सीका मागहरू पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. के.सीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको विज्ञप्तिमा उल्लेख छ।
डा. केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएसँगै आज बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर उनले अनसन अन्त्य गरेका छन्। डा. केसीले कोरोना संक्रमण भएर निको भएका त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका थिए।