लघुवित्तको ऋणले उठिबास

लघुवित्तको ऋणले उठिबास

गोरखा :

घटना नं. १ :

लघुवित्तको किस्ता तिर्न नसकेर हार खाएपछि पालुङ्टार नगरपालिका १० पिपलटारीका भक्तबहादुर बिकले जन्मे हुर्केको थातथलो छाडे । उनी कहाँ गए गाउँलेलाई थाहा छैन । उनी बस्ने गरेको घर वनमासाको घारीभित्र डुबेको चाहिँ गाउँलेलाई थाह छ ।

भूकम्पले भत्किएको घर बनाउन सरकारले दिएको अनुदानले नपुग्ने भएपछि उनले लघुवित्तसँग कर्जा लिएका थिए । ‘न घर बनाउन सके, न किस्ता तिर्न सके’, नगरपालिकाका वडा सदस्य बालकृष्ण देवकोटा भन्छन्, ‘अनुदान लिएर बनाउन लागेको घर पनि डिपिसी मात्र गरेर छाडेका छन् । बिचराको उठिबास भयो ।’ धेरै लघुवित्तबाट कर्जा लिएका उनी अहिले कता पुगेका छन्, कसैले बताउन सक्दैनन् ।

घटना नं. २ :

पालुङ्टार नगरपालिका ९ सेराबजारमा सिलाइकटाइ व्यवसाय गरेर बसेकी बिन्दु परियारले पनि लघुवित्तको कर्जा तिर्न नसकेपछि घर छोडिन् । तीन भन्दा धेरै लघुवित्तबाट कर्जा लिएको तर तिर्न नसकेपछि पसलै छोडेर गएको वडाअध्यक्ष भेजराज पाण्डेले बताए । ‘घरभाडा पनि नतिरी गइन् । पछि मेरो रोहोबरमा प्रहरीले मुचुल्का गरेर पसल फुटाएर सामान निकालेको हो ।’ हाल उनी चितवनमा छिन् भन्ने चाहिँ सुनेको तर नदेखेको छिमेकी बताउँछन् । 

घटना नं. ३ :

लघुवित्तको कर्जा तिर्न नसकेपछि पालुङ्टार १० का दिलबहादुर परियारको पनि उठिबास लागेको वडा सदस्य देवकोटाले बताए । उनको पनि फेन्सी पसल थियो । पसलका कपडा अलपत्र पारेर दुई वर्षअघि देखि गाउँघर छाडेको उनले बताए ।

घटना नं. ४ :

लघुवित्तकै ऋणले पिप्लेबँगैचाका बाबुराम परियारको परिवारलाई बिल्लीबाठ बनायो । उनी अहिले भारत पसेका छिमेकी सन्तबहादुर परियार बताउँछन् । ‘ऋण लिए, तिर्न सकेनन् अनि नभागेर के गर्ने त ?’ गुरुङ भन्छन्, ‘कुखुरा पाल्ने, बाख्रा पाल्ने भनेर ऋण ल्याउँछन् । अनि घरखर्च गरेरै सिध्याउँछन् । तिर्ने बाटो केही हुन्न अनि भाग्छन् ।’ लघुवित्तको ऋणले सोही ठाउँका मदन परियार पनि घर तीन वर्षअघि नै काठमाडौँतिर भासिएको उनले बताए ।

घटना नं. ५ :

घर बनाउन सरकारले दिएको अनुदानले अपुग भएपछि गाइने दजी र गने दर्जीले तुरतुरेको आशा लघुवित्तबाट आठ लाख रुपैयाँ कर्जा लिए । तर कर्जा तिर्न नसक्ने भएपछि अहिले लघुवित्तले उनीहरुको भएभरको सबै जग्गा लिलामी गरेको छ । ‘बैकले सत्र रोपनी जग्गा लिलाम गरेको छ’, सानुमाया दर्जी भन्छिन्, ‘दुईलाख रुपैयाँ बैना लगिसकेको छ ।’ आठ लाख ऋण लिदैमा १७ रोपनी जग्गा गुमाउनु पर्दा मर्का परेको उनले बताइन् ।

भूकम्पले घर भत्किएपछि नयाँ घर बनाउनका लागि गनेले कुखुरा पालनका लागि भनेर पाँच लाख र गने दर्जीले तीन लाख रुपैयाँ लिए थिए । ‘१५, १६ किस्ता त तिरिसकियो तर अहिले लकडाउनले हाडछाला काड्यो’, ईश्वरी परियारले भनिन्, ‘हामीलाई पास बुक देखाउँदैनन् । हामी घरमा पनि हिसाब राख्दैनौँ । फलानो दिनमा किस्ता तिर्ने हो भनेर मात्र थाहा छ । सानुमायाले दुईलाख जति, मैले एकलाख जति किस्ता तिरिसकियो होला ।’

‘१७ रोपनी जग्गा आठ लाखमा भनेपछि त खर्लप्पै खाइहाले नि । अझै कति त तिरिसकेका छौं’, ईश्वरी परियारले भनिन् ‘जायजेथा वैँकले खायो । अब हामी अधियाँडालो गरेर खाउँला ।’ लघुवित्त वैँकले टाट पल्टाएको भन्दै उनले गुनासो गरिन् ।

लघुवित्तका कारण उनीहरु जस्ता धेरै गाउँका धेरैको व्यवहार तहसनहस पारेको स्थानीय रामचन्द्र सेढाइँ बताउँछन् । ‘एउटै टोलमा यति धेरैको बास खेदिसकेको छ । अझै खोजिपस्नुपर्छ, गाउँगाउँमा यस्ता घटना धेरै छन् । सजिलै ५० हजार, ६० हजार रुपैयाँ बाँड्छ । लिने पनि सजिलै लिन्छ, दिनेले पन सजिलै दिन्छ । सजिलै पाएको पैसा सजिलै खर्च गरेर सक्छ’, उनले भने, ‘रक्सी खाने, लुगा कपडा किन्ने गरेर घर खर्च गरेर मासिदिन्छ । सम्झौतापत्रमा भने अनुसार उसले काम गरेको छ कि छैन भनेर अनुगमन पनि छैन । सर्वसाधारण ठग्ने लघुवित्तको नीति ठीक छैन ।’

लघुवित्तले गर्दा धेरैको ‘उठिबास’ भएको पालुङ्टार नगरपालिका वडा नं. ९ का अध्यक्ष भेजराज पाण्डे बताउँछन् । अव्यवस्थित लगानी, चर्को व्याज, सामुहिक जमानी जस्ता व्यवस्था बेठिक भएको उनको तर्क छ । ‘सामुहिक जमानीमा लगानी गर्ने अवधारणा नै गलत छ’, पाण्डे भन्छन्, ‘तालि बजाएको भरमा रिन बाँड्छ । ताली बजाएर लिएको रिन रक्सी चुरोटमा उँडाइदिन्छन् । अन्तिममा एउटाले बेइमानी गरेपछि ताली बजाएकै भरमा निर्दोषहरु फँस्छन् ।’

आफ्नो मात्र कर्जा तिरेर ऋणमुक्त हुन्छु भन्न पनि नपाउने व्यवस्था रहेको भन्दै उनले आपत्ति जनाए । पालुङटार नगरपालिकामा डिप्रोक्स, नेष्डो, छिमेकी, स्वदेशी, एनएमबी, आशा, स्वाबलम्बन, निर्धन, लक्ष्मी, गणपति, जालपा, कालिकालगायत लघुवित्त वैँकले ऋण लगानी गरिरहेका छन् ।

पालुङ्टार ८ का वडा अध्यक्ष शंकरप्रसाद कँडेलका अनुसार विशेषगरी दलित र विपन्न समुदायमा लघुवित्त प्रवेश गर्छन् । ‘हाम्रो यहाँ पनि गीता परियार, सानु बराम लघुवित्तको कर्जा तिर्न नसकेर घर छोडेर भागे । उनीहरु कहाँ छन्, थाहा छैन’, कँडेल भन्छन्, ‘मरेपछि हकदारले पेन्सन पाउँछ भनेर प्रलोभन देखाएर कर्जा लिन आकर्षित गर्छन् । मिटिङ सुरु हुनुअघि प्रार्थना गर्छन् । रमाइलो वातावरणमा कर्जा प्रवाह गर्छन् अनि ग्राहकले एउटा वैँकबाट ऋण लिन्छन् । त्यसको किस्ता तिर्न अर्को वैँकबाट कर्जा लिन्छन् । यसरी धेरै बैंकमा ऋण तिर्नु भएपछि घरबास छोडेर भाग्छन् ।’

लघुवित्तका कारण गाउँलेले दुख पाएको घटना मात्र नखोज्न डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका पालुङ्टार शाखाका प्रवन्धक उज्जल कट्टेल तर्क गर्छन् । ‘असफल ऋणीको अवस्था मात्र होइन, लघुवित्तबाट कर्जा लिएर किसानले उद्यम गरे, सफल भए भन्नेतर्फ पनि खोज्नुस्’, उनले भने, ‘सबै लगानी सफल हुन्छ भन्न सकिदैन । धेरै राम्रा उदाहरण भएको ठाउँमा एकाध नराम्रा हुनसक्छन् ।’

जालपा लघुवित्त वित्तीय संस्थाका पालुङटार शाखा प्रबन्धक सुमन खत्रीले ग्राहकहरुले स्वतस्फूर्त रुपमा कर्जा लिने तर निर्धारित भन्दा अन्यत्रै खर्च गरेका कारण केही ठाउँमा खराब नतिजा आएको हुनसक्ने औँल्याए । ‘हाम्रोमा त त्यस्तो छैन जस्तो लाग्छ तर कतिपय ठाउँमा नराम्रो भएको पनि सुन्नमा आउँछ’, उनले भने, ‘त्यसमा कर्मचारीले कसरी प्रस्तुती गरे भन्नेमा पनि भर पर्छ । कर्जा प्रबाह गर्नुअघि कसरी विष्लेषण गरे भन्नेमा पनि निर्भर हुन्छ ।’

लघुवित्त वित्तीय संस्थाका कारण किसानले दुख पाएका गुनासो धेरै सुन्नमा आएको पालुङ्टार नगरपालिकाकी उपमेयर पम्फा बसेल बताउँछिन् । ‘गुनासो धेरै छ । हामीले लघुवित्तलाई नगरपालिकाभित्र प्रवेश नै नदिने निर्णय गर्ने तयारी गरेको पनि हो । तर नमिल्दो रहेछ’, उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.