चुमनुब्री गाउँपालिकामा बाहिरका मान्छे प्रवेश निषेध
गोरखा : मनास्लु क्षेत्र भ्रमण गर्न आन्तरिक पर्यटकको ओहोरदोहोर बढेपछि चुमनुब्री गाउँपालिकाले आफ्ना गाउँपालिकाभन्दा बाहिरका मान्छेलाई प्रवेश निषेध गरेको छ।
सोमबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले कोरोना महामारी दिनानुदिन फैलिरहेकाले गाउँभन्दा बाहिरका मान्छेलाई प्रवेश गर्न नदिने निर्णय गरेको उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन्।
‘केहीदिनयता मनास्लु क्षेत्र, चुम भ्याली भ्रमण गर्ने, लार्के पास गर्ने भन्दै हुलका हुल मान्छे आउन थाले’, उनले भनिन्, ‘अनि कपडा बेच्ने, भाँडा बेच्ने, विभिन्न सामान बेच्ने डुलुवा व्यापारी पनि आउन थाले। त्यसैले हामीले गाउँ कार्यपालिकाका बैठक बसी यस्ता खालका आवागमन बन्द गर्ने निर्णय गर्यौँ।’
यदि अति आवश्यक कामले कोही आउनु परेमा गाउँपालिकाको आधिकारिक अनुमति लिएर मात्र प्रवेश गर्न दिने निर्णय भएको उनले बताइन्। बैठकले दैनिक उपभोग्य सामान ढुवानी गर्ने खच्चड, खच्चडगोठालालाई भने निर्वाध आवतजावत गर्न दिने निर्णय गरेको उनले स्पष्ट पारिन्।
बैठकले गाउँपालिका भित्रकै मान्छे भने सम्बन्धित वडालाई जानकारी दिएर आउन पाउने निर्णय गरेको छ। ‘गाउँकै मान्छे हो भने सम्बन्धित वडा कार्यालयलाई जानकारी गराएर मात्र आउने र आएपछि सात दिन होम क्वारेण्टाइनमा बस्नु पर्ने निर्णय गरेका छौं’, उपप्रमुख गुरुङले भनिन्।
हिमालपारि पर्ने सो गाउँपालिकामा अहिलेसम्म कोही पनि कोरोना संक्रमित भएका छैनन्।
प्रतिक्रिया दिनुहोस !