सांसद पहाडीको निधन
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद सानु शिवा पहाडीको निधन भएको छ। नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको बुधबार उपचारका क्रममा काठमाडौंको मेडिकल कलेजमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनी केही दिनअघि मेडिकल कलेजमा भर्ना भएकी थिइन्।
पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन्। 'हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु', प्रधानमन्त्रीले भनेका छन्।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले पनि पहाडीको निधनप्रति दु:ख व्यक्त गरेका छन्। उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, 'ताप्लेजुङ् जस्तो दुर्गम् तथा बिकट जिल्लामा जन्मिएर कलिलो उमेरदेखि नै जनपक्षीय सांस्कृतिक अभियानमा सामेल भएर नेपाली समाजको रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी दिदी सानु सिवा जो मेरा अत्यन्तै हितैसी ईलामेली दाइ डम्बर पहाडीको जीवन सङ्गीनी अनि हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधि सभा सदस्य, संस्कृतिकर्मी कमरेड सानु शिवा पहाडीको निधनबाट दु:ख लागेको छ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै डम्बर दाइसहित ताप्लेजुङ् र ईलामसँग सम्बन्धित शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्दछु।'