प्याकेजसहित होटेल सञ्चालन

प्याकेजसहित होटेल सञ्चालन

बन्दीपुर : कोरोनाको त्रासका कारण वाक्क हुनुहुन्छ ? भीडभाड र सहरी त्रासका कारण वाक्क तपाईं त्रासरहित वातावरणमा दसैं मनाउन चाहनुहुन्छ भने बन्दीपुर तपाईंको आकर्षण बन्न सक्छ। 

सहरी कोलाहलबाट पर यस प्राचीन सहरले लकडाउनका कारण थिलथिलो परेको पर्यटन व्यवसायलाई ब्यूँताउन दसैंलक्षित पर्यटक प्याकेज ल्याएको छ। झन्डै डेढ सयको संख्यामा रहेका यहाँका अधिकांश होटलले १० देखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेका छन्। ‘पर्यटक आकर्षित गर्न सबैले केही छुट दिने निर्णय गरेका छौं’, क्षेत्रीय होटल संघ बन्दीपुर बजार एकाइ समितिका अध्यक्ष विपिन प्रधानले भने, ‘सबैले छुट दिनुहुन्छ।’

संघमा ७७ होटल दर्ता छन्। तर, झन्डै सोही संख्याको हाराहारीमा पर्यटक राख्ने होटल र गेस्ट हाउस बन्दीपुरमा छन्। अरू बेला भएको भए अहिले मुख्य पर्यटकीय सिजन थियो। पर्यटन वर्षमा धेरै पर्यटक भित्र्याउने योजना बनाएर लगानी गरे पनि लकडाउनको मारमा परेपछि व्यवसायीले यस योजनाबाट राहत लिने सोचेका छन्। 

सुरक्षित स्वागत र सुरक्षित बिदाइ

चहलपहल कम हुने ठाउँ भएकाले सहरमा जस्तो कोरोना जोखिम नहुने ठानेर व्यवसायीले पर्यटक भित्र्याउन खोजेका हुन्। तर, आफ्नै र पर्यटकको सुरक्षाका लागि पनि उनीहरूले स्वास्थ्य मापदण्डको भने पूर्ण पालना गर्ने बताएका छन्। ‘सरकारले तोकेको मापदण्ड पालना गरेर मात्र होटल सञ्चालन हुनेछ’, बन्दीपुर भिलेज इन्का सञ्चालक विकास श्रेष्ठले भने, ‘आधा संख्यामा मात्र कोठा सञ्चालन गर्ने योजना छ।’ 

क्षेत्रीय होटल संघका एकाइ अध्यक्ष प्रधान भन्छन्, ‘सुरक्षित स्वागत र सुरक्षित बिदाइ हुनेछ। पूर्ण मापदण्ड पालना गरेर मात्र होटल चलेका छन्।’ केहीले भने चिनेका र पुराना ग्राहकलाई मात्र भित्र्याउने गरेका छन्। ‘चिनेका र पुराना ग्राहक आउँदा मात्र बास दिएका छौं’, हिल्स हेभेन होटलका सञ्चालक सुमन श्रेष्ठ भन्छन्, ‘जोखिम कम हुने हिसाबले होटल चलाइरहेका छौं।’
प्राकृतिक दृश्यले भरिपूर्ण प्राचीन भक्तपुरे नेवारी शैलीको बजार भएकाले बन्दीपुरमा पर्यटकको सदैव आकर्षण रहन्छ। अहिले पनि फोन गरेर सोध्ने र बास बस्न आउनेको संख्या बढ्न थालेको व्यवसायीको भनाइ छ। ‘फोन गरेर सोध्ने र बास बस्न आउन थालेका छन्’, प्रधान भन्छन्, ‘शुक्रबार फ्लो बढ्न थालेको छ।’

दसैंमा खसी प्याकेज
बन्दीपुर टुँडिखेलको दरबार हिमालयले दसैंमा लोकल खसीसहितको पारिवारिक प्याकेज घोषणा गरेको छ। उसले एक पटकमा तीन परिवार बस्न मिल्ने गरी उनीहरूको दसैं यहीँ मनाउने प्याकेज ल्याएको छ। ‘कम जोखिम भएको ठाउँमा परिवारसँगै दसैं मनाउने प्याकेज ल्याएका हौं’, होटल दरबार हिमालयका सञ्चालक बैस गुरुङ भन्छन्, ‘परिवारलाई प्राथमिकता दिएका छौं।’

बन्दीपुर भिलेज इनका सञ्चालक विकास श्रेष्ठ पनि दसैंलक्षित प्याकेजमै जोड दिएको बताउँछन्। ‘विदेशी आउने सम्भावना छैन’, उनले भने, ‘२५ देखि ३० प्रतिशतसम्म छुट दिँदा दसैंमा पर्यटक बढ्ने आशा छ।’ गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा पहिलेजस्तो नभए पनि यस्ता प्याकेजले केही होटेललाई भए पनि राहत मिल्ने बताउँछन्। ‘पहिलेजस्तो त नहोला तर केही ठूला होटललाई भने राहत हुन सक्छ’, उनले भने, ‘हामीले पनि मर्कामा परेका व्यवसायीलाई राहतको योजना बनाएका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.