कसरी मान्नु दसैं ?
इटहरी : विगतमा एक महिना अघिदेखि इटहरी–२० की अनिता श्रेष्ठको परिवारमा दसैंको तयारी सुरु हुन्थ्यो। नयाँ लुगा, खाद्यान्न र अन्य आवश्यक वस्तुको जोहोसँगै घुम्न जाने ठाउँको खाका बन्थ्यो।
तर, यसपटक त्यस्तो कुनै रौनक छैन। ‘६ महिनादेखि घरभाडा तिर्न पाएको छैन’, स्थानीय हाँसपोसा सामुदायिक वनबाट ल्याएको दाउराको भारी बिसाउँदै श्रेष्ठले भनिन्, ‘दसैं नै नआइदिए हुन्थ्योझैं भाको छ।’ तीन जना छोराछोरीलाई नयाँ लुगा किन्न र मिठोमसिनो खुवाउन उनलाई समस्या छ। उनका श्रीमान् विद्युतीय रिक्सा चलाउँछन्।
कोरोना संक्रमणअघि श्रेष्ठ आफैँ निर्माण मजदुरका रूपमा काम गर्थिन्। ‘लकडाउनले त गर्नु ग¥यो, सफारी जसोतसो चल्यो, मेरो त काम नै ठप्प छ’, उनी भन्छिन्। बन्दाबन्दीकै बीचमा दसैंतिहारजस्ता चाडपर्व नजिकिएकाले छोराछोरीको खुसीका लागि ऋण खोजेर दसैं मनाउने श्रेष्ठ दम्पतीको योजना छ। मजदुरी गरेर गुजारा चलाउने धेरैको अवस्था श्रेष्ठ परिवारको भन्दा भिन्न छैन। कोरोना संक्रमण बढिरहँदा बन्द भएका उद्योग कलकारखाना अझै पूर्ण क्षमतामा चल्न सकेका छैनन्। ‘पैसा नभएर छोराछोरी पढाउन त सकिएको छैन, कसरी दसैं मनाउनु ?’ अनितासँगै दाउरा लिएर फर्किएकी इटहरी–२० की विष्णुमाया श्रेष्ठ भन्छिन्, ‘स्कुलले वाइफाई जोड भन्छ, पैसा छैन, छोराछोरीले पढ्न पाएनन्।’
कोरोना महामारीका कारण योपटकको दसैं खल्लो हुने उनी बताउँछिन्। ‘छाक टार्नै गाह्रो छ, किनमेल र रमाइलो कसरी गर्न सक्नु’, श्रेष्ठले भनिन्। ग्रामीण भेगमा बसोबास गर्नेहरूले मजदुरीसँगै कृषि, पशुपालनसँगै विविध पेसा अपनाएका छन्। तर सहरी क्षेत्रमा काम गर्ने मजदुर काम नपाउँदा समस्यामा छन्।
कोरोना संक्रमणले रोजगारी गुमाएकी इटहरी–४ मा बसोबास गर्ने कोपिला राईले बच्चाका लागि दूध किन्न ग्याँस सिलिन्डर बेच्नु प¥यो। निर्माण क्षेत्रमा काम गर्ने श्रीमान्को आम्दानी नियमित नभएपछि तीन जनाको परिवार आर्थिक संकटमा परेको हो। एउटा कोठा भाडा लिएर बस्ने सो परिवारको समस्या बुझेपछि विभिन्न संघसंस्थाले सहयोग पनि गरे। ‘चामल, दाल त मागेर खानु परेको छ, चाडपर्व त पैसा हुनेका लागि हो’, राई भन्छिन्।