‘संक्रमितको साथ छाडिन्न’
जनकपुरधाम /वीरगन्ज : संघीय सरकारले कोभिड–१९ का बिरामीको कोरोना परीक्षण र उपचार खर्च नबेहोर्ने निर्णय गरे पनि प्रदेश २ सरकारले कोरोनापीडितको साथ नछाड्ने निधो गरेको छ। प्रदेश २ मा कोरोना संक्रमित बिरामीको निःशुल्क उपचारमा संघीय सरकारको निर्णयले कुनै प्रभाव नपार्ने प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश २ को तथ्यांकअनुसार यस प्रदेशमा हालसम्म कोरोना संक्रमणले १ सय ६१ जनाको ज्यान लिइसकेको छ। संक्रमितको संख्या १४ हजार ९३८ छ, जसमा १२ हजार ४९४ पुरुष र २ हजार ४४४ महिला छन्। रोगबाट निको भई १२ हजार ९७६ घर फर्केका छन्।
कोभिड १९ को परीक्षण र उपचारमा शुल्क लिने सरकारको निर्णयले संक्रमण झन् फैलाउने जोखिम बढेको सरोकारवालाले बताएका छन्। कोरोना परीक्षण र उपचारमा शुल्क लिने सरकारको निर्णय जनहितमा नरहेको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंह बताउँछन्। उनी भन्छन्, ‘सरकारको लागि यो निर्णय राम्रो होला तर जनताका लागि यो निर्णय हितमा छैन।’ अब सामान्य लक्षण देखिएका शंकास्पद व्यक्तिले परीक्षण नै नगर्ने भएकाले समुदायमा संक्रमण झन् फैलने जोखिम हुने उनी बताउँछन्।
कोरोना परिक्षण निःशुल्क हुँदा कोभिडको शंका लाग्नेबित्तिक्कै सर्वसाधारण नागरिकले स्वाब दिएर परीक्षण गराउँथे’, उनले भने, ‘तर अब पैसा तिर्नुपर्ने भएपछि संक्रमति भए पनि रोग लुकाएर घरमै बस्न बाध्य हुन्छन् । यसका कारण संक्रमण अरूलाई पनि सर्न सक्छ ।’