नेपालको कूटनीतिक मर्यादामा भारतले धावा बोल्यो : पूर्वराजदूत उपाध्याय
कपिलवस्तु : भारत सरकारले नेपालसँगको कूटनीतिक तहको सम्बन्धलाई हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै अघि बढेको भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले बताएका छन्।
दिपावलीको अवसरमा नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वराजदूत उपाध्यायले चर्को राष्ट्रवादको भाषण गर्ने वर्तमान केपी ओली नेतृत्वको सरकार कूटनीतिक पहलमा असफल भएको बताए।
‘केही दिन अघि मात्रै भारतीय गुप्तचर संस्थाका प्रमुखले सुटुक्क आएर प्रधानमन्त्री ओलीलाई भेट्नु कूटनीतिक मर्यादा विपरित हो’, उनले भने, ‘पूर्वराजदूत उपाध्यायले भने, ‘अरु छिमेकी राष्ट्रहरु श्रीलंका, बंगलादेश लगायतसँग भारतले प्रधानमन्त्री तहमा छलफल गर्न सक्ने तर नेपालसँग महामारीको बाहानामा गुप्चतरी संस्थाको माध्ययमबाट कुरा गर्न खोज्नु पटक्कै सुहाएन।’
उनले यो भेट कूटनीतिक मर्यादा विपरित भएको बताए। ‘हामी कूटनीतिमा असफल भयौं। यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल सरकारको छविलाई झुकाएको छ’, उनले भने।
‘भारतले आफ्ना एजेन्सी र प्रशासनका माध्ययमबाट मात्रै नेपाल सरकारसँग वार्ता संवाद अघि बढाउँदै आएको छ। राजनीतिक तथा कूटनीतिक पहलमा खासै भारतीय पक्षबाट जोड दिएको पाइएन, पूर्वराजदूत उपाध्यायले भने, ‘राजनीतिक र कूटनीतिक सम्बन्धलाई बलियो बनाउन नेपाल सरकारका तर्फबाट पनि ठोस पहल आवश्यक छ।’
सरकारले आफ्ना दुई ठूला छिमेकीसँग आफ्नो कूटनीतिक सम्बन्ध मजबुत बनाउन नसकेका कारण यस्तो परिस्थिति भोग्नु परेको उनको भनाइ छ।
नेपाल भारतबीचको सीमा विवाद जटिल अवस्थामा पुगेको उनको भनाइ छ। यसको समाधानका लागि नेपाली जनताको चासो हुँदाहुँदै नेपाल सरकारको पहलमा भारतीय पक्षबाट विवाद सुल्झाउन कुनै संकेत नदेखिएको उनले बताए।
‘विवाद समाधानको साटो भारतले कूटनीतिक मर्यादा विपरित संवाद अघि बढाएको छ’, उपाध्याय भन्छन्, ‘यसले नेपालको हित हुँदैन।’
प्रतिक्रिया दिनुहोस !