म्याग्दीका एक हजार घर स्थानान्तरण गरिने

म्याग्दीका एक हजार घर स्थानान्तरण गरिने

बेनी : पहिरोबाट अति प्रभावित म्याग्दीका ८१ वटा बस्ती स्थानान्तरण गर्न सिफारिस भएको छ। घरबास गुमाएकाको पुनस्थापना, जोखिमयुक्त बस्ती स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माणका लागि बजेट र कार्यविधिको अभाव मुख्य चुनौति बनेको छ। 

८१ वटा बस्तीका एक हजार ८६ घर पुननिर्माण र स्थानान्तरणका लागि सिफारिस गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। गत असार महिना यताको पहिरोका कारण पूर्ण क्षति भएका घर पुननिर्माण र जोखिमयुक्त ठाउँमा रहेका बस्ती तथा घर स्थानान्तरणका लागि सिफारिस गरिएको हो। 

‘पहिरोले भत्किएर पूर्ण क्षति भएका २४७ घर पुननिर्माण र जोखिमयुक्त ८२१ घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस भएको हो’, उनले भने ‘भूगर्वविद्को टोलीले जोखिम र सुरक्षित ठाउँ पहिचान गरेपछि पुनःस्थापना सुरु हुन्छ।’

धवलागिरी गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर, अन्नपूर्णका ८ वटा बस्तीका १३७ घर, मंगलाका ९ बस्तीका १००, रघुगंगाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुननिर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ। 

पालिकाका जनप्रतिनिधि, प्राविधिक, कर्मचारी र जिल्ला प्रहरी कार्यालयले छुट्टा–छुट्टै टोलीले गरेको स्थलगत अध्ययनपछि जिल्ला स्तरीय विपद् ब्यवस्थापन समितिले एकमुष्ट प्रतिवेदन तयार पारेको हो। सिफारिसको आधारमा भूगर्वविद्को टोलीले जोखिम र सुरक्षित ठाउँ पहिचान गरेपछि पुनःस्थापनाको काम सुरु गर्ने पहिरो प्रभावित मालिका–७ बिमका वडा अध्यक्ष रेशम जुग्जालीले बताए। 

घर र जग्गा सबै पहिरोमा गुमाएका बिमका १२ परिवारका लागि घर निर्माणका लागि पाँच रोपनी जग्गा पहिचान गरिएको उनले बताए।  बिमको तल्लो गाउँ स्थित हिराजित स्मृति युवा क्लवको खेलमैदान परिसरमा बिस्थापितको घर बनाउन २० लाख रुपैयाँमा जग्गा खरिद गर्ने तयारी भएको छ। 

‘स्वदेश तथा विदेशमा भएका बिमबासीहरुको पहलमा संकलित रकमबाट जग्गा खरिद गरेर दसैं लगत्तै पहिरो पीडितका लागि घर निर्माण सुरु गर्ने योजनामा छौं’, वडा अध्यक्ष जुग्जालीले भने, ‘जति सक्दो छिटो पुर्नवासको व्यवस्था मिलाउन पालिका, प्रदेश र संघ सरकारलाई कार्यविधि र बजेटको व्यवस्थापन गर्न माग गरेका छौं।’

असारयता म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन्। १०६ वटा सडक, ८४ वटा खानेपानी, ४६ वटा सिंचाइ, ३१ वटा कृषि तथा पशुपंक्षी फार्म, ३१ वटा विद्यालय, १७ वटा लघुजलबिद्युत, ८ वटा सामुदायिक भवन, ७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको विवरण तयार भएको छ। 

पहिरो, कटान र बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको समेत क्षति विवरण संकलन गरेर पुननिर्माणका लागि प्रदेश तथा संघ सरकारका सम्बद्ध मन्त्रालयमा सिफारिस गरिए पनि स्रोतको अभाव मुख्य चुनौति देखिएको छ। 

पहिरो लगत्तै उद्धार, राहत, अस्थाइ बसोबास, क्षतिग्रस्त विद्युत, खानेपानी, सडक मर्मत गरेका स्थानीय तहले पुननिर्माण र पुनस्थापनाका लागि आर्थिक स्रोतको अभाव भएको जनाएका छन्। पालिकाहरुले संशोधन गरेर सबै बजेट विनियोजन गरे पनि पीडितको पुनस्थापना र पुननिर्माण गर्न नपुग्ने भएकाले विशेष योजना र बजेट आवश्यक रहेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.