मिल्लान् ओली-नेपाल ?

मिल्लान् ओली-नेपाल ?

काठमाडौं : गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए। 

कतिले अनुमान लगाए– अब नेकपा विभाजन हुँदै छ, उनलाई फेरि सक्रिय हुन आग्रह भयो। कतिपयले त पूर्वएमाले ब्युँताएर प्रदीप नेपाललाई अध्यक्ष नै बनाउन लागेको भनिदिए। तर, नेपालले अन्नपूर्णसँग भने, ‘पार्टी एकता बचाउन तपाईंले माधव कमरेडलाई सम्झाइदिनुपर्‍यो भन्ने उहाँहरू (ओलीनिकट नेताहरू) को आग्रह थियो।’

नभन्दै सोमबार वरिष्ठ नेता माधव नेपाल उनलाई भेट्न गोठाटार पुगे। त्यहाँ उनीहरूबीच करिब दुई घण्टा बातचित भयो। ‘उहाँ (माधव नेपाल) ले हिजो (आइतबार) टेलिफोन गर्नुभएको थियो। तपाईंकहाँ प्रधानमन्त्रीका मान्छे आएछन्, मैले पत्रपत्रिका पढेर थाहा पाएँ। म भोलि लप्सीफेदीको कार्यक्रममा जानु छ। फर्किंदा तपाईंकहाँ पस्छु भन्नुभएको थियो,’ प्रदीपले भने, ‘त्यसपछि उहाँ आउनुभयो। कुरा खस्रा–मिठा भन्छन् नि ! त्यही भयो।’

पार्टीभित्र दुई अध्यक्षको पेचिलो अन्तरसंघर्ष चुलिइरहेका बेला नेताहरू शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, सूर्य थापा, राजन भट्टराईलगायत उनलाई भेट्न शनिबार गएका थिए। भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले धेरैपछिको सामूहिक भेटमा रमाइलो र दुर्लभ कुराकानी पनि हुने नै भयो भन्दै तस्बिरसमेत सार्वजनिक गरे। उनीहरू के गर्न आए ? भन्दै वरिष्ठ नेता नेपालले प्रदीपसँग जिज्ञासा राखेको उनले सुनाए। ‘तपाईंहरू (ओली–नेपाल) मिल्नुपर्‍यो रे ! मलाई पनि सक्रिय भइदिनुपर्‍यो, तपाईं हामी सबैको अभिभावक हुनुहुन्छ भन्दै आउनुभएको थियो’, प्रदीपले माधवलाई जवाफ दिए। 

‘माधव कमरेड यहाँ आइरहनुहुन्छ। त्यही क्रममा आउनुभयो। म एकदम सक्रिय राजनीतिबाट बाहिर छु। अब थाकें। कति गर्न सक्छु र ?’ नेता नेपालसँग भएको कुराकानी बताउँदै उनले अन्नपूर्णसँग भने, ‘तपाईंहरू मिल्नुहुन्छ भने मिल्छ, मिल्नै चाहनुभएन भने मिल्दैन।’

तत्कालीन एमालेभित्र एक समय थियो– प्रदीप नेपाल र ईश्वर पोखरेलले पार्टीको आन्तरिक संगठनको जिम्मेवारीमा हस्तक्षेपकारी भूमिका खेल्थे। प्रदीप नेपालका कुरा त्यतिखेर माधव नेपाल र केपी ओलीसम्मले टार्न सक्दैन थिए। उनी निकै सक्रिय थिए र कडा स्वभावका पनि। 

छैटौँ महाधिवेशनदेखि माधव नेपाललाई निरन्तर साथ दिँदै आएका उनी नवौं महाधिवेशनमा भने ओलीनिकट पुगे। ओलीको स्वास्थ्य स्थितिका कारण पनि एकपटक अध्यक्ष बनाउनुपर्ने उनको धारणा थियो। त्यही भएर ओली समूहबाट उपाध्यक्षमा चुनाव लडे। हारे। तर, उनकै सक्रिय भूमिकाका कारण प्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यक्षमा बाजी मारेको चर्चा अहिले पनि पूर्व एमाले वृत्तमा हुने गर्छ।

त्यसयता भने उमेर, स्वास्थ्य अवस्थालगायत कारण उनी सक्रिय राजनीतिबाट टाढा छन्। पार्टीको आन्तरिक जीवनलाई भने उनले नियाल्न छाडेका छैनन्। उनको स्वास्थ्य अवस्था त्यत्ति राम्रो छैन। अचेल पार्टीभित्रको अप्ठ्यारोमा भूमिका खेलिदिन आग्रह गर्दै नेताहरू उनका निवास पुग्न थालेका हुन्।

शंकर पोखरेल, भानुभक्त ढकाललगायत अन्तरसंघर्षमा पूर्वएमाले धारका नेताहरू एकै कित्तामा उभिनुपर्ने पक्षमा भित्रभित्रै लबिङ गर्दै आइरहेका छन्। प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग संवाद सौहार्दपूर्ण नभएपछि कात्तिक ४ र कात्तिक ११ मा दुईपटक वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर भेटघाट गरेका थिए।

ती भेटघाटमा प्रधानमन्त्री ओलीले नेपालसँग सहकार्यको प्रस्ताव गरेका थिए। तर, नेपालले दाहालसँगको निकटता घटाएका छैनन्। ‘माधवजीले केपीले कसैलाई टेर्नुहुन्न भन्नुभयो। मैले फेरि तपाईंहरू छलफलमा बस्नुस् भनेर आग्रह गरें,’ प्रदीपले भने। पार्टीभित्र विभाजनको संकेत देखिएको प्रसंगमा पनि दुई नेताबीच छलफल भएको थियो। तर, माधव नेपालले आफ्नो स्वभाव पार्टी विभाजन रोक्नेतिरै रहेको बताएका थिए। उनले प्रदीपलाई उल्टै सोधेका थिए, ‘मलाई यसमा कुनै शंकाले हेर्नुपर्ने छ र ?’ 

के तपाईले पार्टी विवादमा समन्वयकारी भूमिका खेल्न खोज्नुभएको हो ? भन्ने अन्नपूर्णको जिज्ञासामा उनले भने, ‘अरूले आग्रह गरेका छन्। तर, कति गर्नु ? एउटा मान्छेले कति गर्ने ? गरे पनि अन्तिममा लात्ताले हानिदिने हुन्। मिलाइदियो, उनीहरूले राज गर्छन् अनि म जस्तालाई फेरि उही त हो। कतिपटक हन्डर खाने ? तिमीहरू मिलाऊ, तिमीहरूले नै जिम्मा लिनुपर्छ म सक्दिनँ भनेको छु।’

नेकपामा त्रिपक्षीय शक्ति सन्तुलन छ। अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता नेपालका आ–आफ्नै समूह छन्। नेपाल जता मिल्छन्, दुई अध्यक्षमा उनैको पल्ला भारी हुने राजनीति छ। यही कारण पनि अहिले नेपाल तानातानमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.