छैन स्वास्थ्य सतर्कता

छैन स्वास्थ्य सतर्कता

हेटौंडा : बिहीबार मध्याह्न हेटौंडा–१० स्थित बसपार्कमा यात्रुलाई सार्वजनिक सवारी चढ्ने र ओर्लने हतार थियो। उनीहरूमा कतिखेर गन्तव्यमा पुगिन्छ भन्ने मात्र चिन्ता देखिन्थ्यो। 

प्रायः यात्रुले न मास्क लगाएका थिए, न त स्यानिटाइजर कसैले बोकेको देखिन्थ्यो। चालक र सहचालक आफ्ना सवारीसाधनमा बढीभन्दा बढी यात्रु चढाउनमै व्यस्त थिए। ‘बसभित्र सकेसम्म यात्रु कोचाकोच गरेका छन्, कतिपयले मास्क पनि लगाएका छैनन्’, चितवनबाट विराटनगर जाँदै गर्दा हेटौंडा बसपार्कमा भेटिएका यात्रु विक्रमप्रसाद रेग्मीले गुनासो गरे, ‘गाडीमा पनि बढी मान्छे जम्मा गर्ने मात्र ध्यान छ, यात्रुको स्वास्थ्यप्रति कोही सतर्क छैन।’ 

बसमा सिट नपाएपछि उभिएर यात्रा गरेकी सरस्वती चापागाईंले बाध्यताले स्वास्थ्य जोखिम मोलेर यात्रा गर्नु परेको बताइन्। ‘आफ्नो साधन छैन, बस नचढी घर पुगिन्न तर यस्तो लापरबाहीको बीचमा कसरी सुरक्षित घर पुग्ने थाहा छैन’, चन्द्रनिगाहपुर जाँदै गरेकी उनले भनिन्।  

पूर्वपश्चिम राजमार्गको मध्य भागमा पर्ने हेटौंडा बसपार्कमा दैनिक हजारौं यात्रु ओहोरदोहोर गर्छन्। सवारीबाट ओर्लने र चढ्ने क्रम बिहानदेखि राति अबेरसम्म जारी रहन्छ। तर, अचेल प्रायः यात्रुले मास्क लगाउन छोडेका अग्नि यातायात हेटौंडा काउन्टरका सहायक इन्चार्ज अर्जुनप्रसाद घिमिरेले बताए। ‘न प्रहरी प्रशासनले कुनै कडाइ गरेको छ, यात्रु र चालक सहचालकको पनि यात्रामा मात्र ध्यान देखिन्छ’, उनले भने, ‘कोरोना जोखिम बढे पनि यसलाई सबैले सामान्य रूपमा लिन थालेका छन्।’ 

यसअघि बन्दाबन्दी खुलेलगत्तै बजार र सार्वजनिक सवारीमा मास्क नलगाई हिँड्ने यात्रुलाई जरिवानासमेत गरिएको थियो। यो अभियान अहिले सेलाएको छ।  ‘हामीसँग जिल्लाभर हेर्नका लागि जम्मा ३० जना जनशक्ति छ’, मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रकाश पाण्डेले भने, ‘हामीले मात्र भनेर हुँदैन, सर्वसाधारण नै सचेत हुनुपर्छ।’

बजार र कार्यालयमा पनि लापरबाही 

हेटौंडा बजार क्षेत्रमा हिँड्ने करिब ५० प्रतिशत यात्रुले पनि मास्क लगाएका देखिँदैन। हिँड्दा उनीहरूले भौतिक दूरी पनि कायम गर्दैनन्। ‘हामीले प्रत्येक व्यवसायीलाई स्वास्थ्य सतर्कता अपनाउने र ग्राहकलाई पनि भौतिक दूरी कामय गरेर मात्र सामान दिने भनेका छौं तर सबैले लापरबाही गर्न थालेका छन्’, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले भने, ‘यसले गर्दा जोखिम पनि बढ्दै गएको छ।’ 

बन्दाबन्दी खुलेलगत्तै सरकारी कार्यालयहरूले पनि भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य गरे पनि हाल त्यो नियम अधिकांश कार्यालयमा लागू भएको छैन। बिहीबार जिल्ला मालपोत कार्यालयमा भीड देखिन्थ्यो। ‘सार्वजनिक सवारी, बजार र सरकारी कार्यालयमा बढ्दो लापरबाहीले कोरोना जोखिम बढ्दै गएको छ’, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रवीण श्रेष्ठले भने, ‘स्वास्थ्यकर्मीबाहेक अन्य निकायले कोरोनालाई ख्लालठट्टाका रूपमा मात्र बुझ्दा स्थिति झन् विकराल बन्दै गएको छ।’

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार गत कात्तिक १ गते प्रदेशका १३ जिल्लामा आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ४१ थियो। कात्तिक २० गते यो संख्या बढेर २२ हजार ४० पुगेको छ। संक्रमणलाई सामान्य ढंगले लिँदा जोखिम थप बढ्दै गएको स्वास्थ्यकर्मीको 
ठहर छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.