बागलुङमा मृत्युपछि कोरोना पुष्टि, स्वास्थ्यकर्मीसहित १० जनामा संक्रमण
बागलुङ : धौलागिरी अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि धौलागिरी अस्पतालमा भर्ना गरिएका बागलुङ नगरपालिका–२ का ८० वर्षीय पुरुषको उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । योसँगै बागलुङमा मृतकको संख्या ७ पुगेको छ ।
कोरोना भाइरस (कोभिड १९) सँग मिल्ने लक्षण भएकाले अन्य उपचार सँगै बुधबार स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पोखराको क्षयरोग उपचार केन्द्रमा पठाइएको थियो ।
जसको रिपोर्टमा शुक्रबार कोरोना संक्रमण पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए । तीन दिनदेखि धौलागिरी अस्पतालको शव गृहमा रहेको मृतक पुरुषको शव अन्त्येष्टि अब नेपाली सेनाले गर्ने तयारी गरिएको उनले बताए ।
शुक्रबार मात्रै बागलुङमा एक स्वास्थ्यकर्मीसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा कार्यरत ३३ वर्षीया स्वास्थ्यकर्मी महिलासहित बागलुङ नगरपालिकाका ६३, २०, १२ र ५ वर्षीय ४ जना पुरुष, ६०, ५६ र ५० वर्षीया तीन महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
यसका साथै वैदेशिक रोजगारीबाट फर्किएका काठेखोला गाउँपालिकाका २३ वर्षीय पुरुष र ताराखोला गाउँपालिकाका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमित सबैलाई आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !