सीमामा छेकिएन तस्करी
![सीमामा छेकिएन तस्करी](https://annapurnapost.prixacdn.net/media/albums/kapada-taskari-_20180828105457_Rfjgcbx7lC.jpg)
जनकपुरधाम : महोत्तरीको जलेश्वर भएर बखरी जाने बाटो बिहान ४ बजेदेखि नै व्यस्त हुन्छ। १२ देखि १५ वर्ष उमेरका बालबालिका र केही वयस्क साइकलमा केराउको बोरा लिएर घाम नउदाउँदै यही बाटो भएर सीमापारि भारतीय बजार पुग्छन्। अवैध रूपमा केराउ ओसारपसार गर्छन्।
उक्त बाटोबाट हुने तस्करीबारे स्थानीय सबैलाई थाहा छ। तर, प्रहरीले अवैध ओसारपसार रोक्न कुनै चासो दिएको छैन। सीमा क्षेत्रबाट खाद्यान्न, लत्ताकपडा, मेसिनरीलगायत नुनदेखि सुनसम्म दिनहुँ तस्करी भइरहँदा पनि प्रहरी ‘मूकदर्शक’ बनेको आरोप स्थानीय लगाउँछन्। प्रहरीले कहिलेकाहीँ थोरै मात्रामा सामान बरामद गर्ने गरे पनि मुख्य तस्कर खासै समातिएका छैनन्।
केही प्रहरी कर्मचारीकै मिलेमतोमा प्रदेश २ मा बढ्दो तस्करी नियन्त्रणबाहिर देखिएको छ। तस्करहरू प्रहरी अधिकारीसँग ‘लाइन’ मिलाएर निर्धक भई अवैध कारोबार गर्छन्। जिल्लामा नयाँ प्रहरी अधिकारी आए भने केही समय तस्करीका सामान नियन्त्रणमा लिने वा छापा हान्ने पनि गरिन्छ। तर, यस्तो बेला तस्करसामु प्रहरी नै निरीह बनेका थुप्रै उदाहरण प्रदेश २ मा छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रको कमान्डमा ११ प्रहरीको टोलीले भदौ १२ गते नेपाल—भारत सीमामा पर्ने दुहबी नाकाका ‘तस्कर’ राजीव महासेठको घरमा छापा हान्यो। महासेठले अवैध सामान ट्रकमा ल्याएर घरकै गोदाममा भण्डारण गरेको सुराकीका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोली खटिएको थियो। आसपासमा खोजतलास चलिरहेकै बेला सीमावर्ती भारतीय गाउँबाट ५ सयभन्दा बढी मानिस आएर प्रहरीमाथि ढुंगामुढा गरे। प्रहरीले एक राउन्ड हवाई फायर गरी तत्कालै पछि हटेको थियो।
राजविराज नगरपालिका—१३ मुसहर्नियास्थित नहरमा प्रहरी र तस्कर समूहबीच झडप भयो। तस्करी गर्न लागेको सामान लिएर रातको समयमा खेतमा बसेको समूहले प्रहरीलाई घेरा हालेर आक्रमण गरेको थियो। त्यस क्रममा प्रहरी हवल्दार ३६ वर्षीय कमलदेव यादव र २७ वर्षीय दीपेन्द्र साह घाइते भएका थिए। अवैध सामान बरामद गर्न खोज्दा उनीहरूले होहल्ला गरेपछि २०–२५ स्थानीय धारिलो हतियार लिएर आक्रमणमा उत्रिएका थिए। प्रहरीले बचावमा चार राउन्ड हवाई फायर पनि ग¥यो। तस्करहरू प्रहरी हवल्दार यादवको साढे आठ हजार नगद र मोबाइल पनि लुटेर भागेका थिए।
लकडाउनको मौका छोपेर काठ तस्करी गर्न लागेकाहरूले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका १ महुली र अमसोत खोलामा प्रहरीसँग झडप गरे। गस्ती टोलीले बरामद गरेको काठ तस्करले लुट्ने प्रयास गरेपछि टोलीले आत्मरक्षामा दुई राउन्ड हवाई फायर गर्नुपरेको थियो। तस्करहरू हतियारसहित वन क्षेत्रमा प्रवेश गर्न थालेपछि डिभिजन वन कार्यालय सप्तरीले द्वन्द्वकालमा बुझाएको १० थान बन्दुक र गोलीगठ्ठा जिल्ला प्रशासन कार्यालयबाट फिर्ता लिएको छ।
तस्करी नियन्त्रणकै लागि प्रदेश २ मा सशस्त्र प्रहरीले ५७ वटा बोर्डर आउट पोस्ट र ६३ वटा चेकपोस्ट स्थापना गरेको छ। सीमा सुरक्षा र तस्करी रोक्न ३५ सयभन्दा बढी सशस्त्र प्रहरी २४ सै घण्टा सीमामा तैनाथ छन्। तापनि तस्करहरू प्रहरीलाई छल्दै निरन्तर अवैध सामान ओसारपसार गर्छन्।
तस्करी रोक्न खोज्ने सुरक्षाकर्मी उल्टै निसानामा पर्छन्। तस्करले नयाँ–नयाँ हत्कण्डा अपनाएर तस्करी गर्ने गरेको सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ का डीआईजी कृष्णभक्त ब्रह्मचार्यको अनुभव छ। ‘अहिले महिला र बालबालिका प्रयोग गरी तस्करी गर्छन्’, डीआईजी ब्रह्मचार्यले भने, ‘हामीले बढी कडाइका साथ नियन्त्रण गर्न खोज्याँै भने हामीमाथि आइलाग्छन्।’
उनका अनुसार तस्करको प्रतिकार गर्न प्रहरीलाई समूहमा ड्युटी खटाउने गरिएको छ। मोबाइल टोली, साइकल टोली वा गस्तीमा जाँदा १० जनाजतिको समूहमै जाने गरेको उनले बताए।
नेपाल प्रहरी प्रदेश २ का डीआईजी धीरजप्रताप सिंहले सीमाबाट हुने तस्करीमा नेपाल र भारत दुवैतर्फका बासिन्दाको संलग्नता रहेको बताए। प्रायःजसो भारतीय पक्षबाटै प्रहरीमाथि आक्रमण हुने गरेको डीआईजी सिंहको भनाइ छ।
‘तस्करहरू देखेर होइन लुकेर काम गर्छन्। कहिलेकाहीँ प्रहरीभन्दा तस्करको संख्या बढी भयो भने उनीहरू आक्रामक भएर आउँछन्’, डीआईजी सिंहले भने, ‘तस्करको पिछा गर्न सिभिलमा एक–दुई जना प्रहरी खटाइयो भने पनि ब्याकपमा फोर्स राखेर मात्रै काम गरिरहेका छौं। यसले तस्करसँग सामना गर्न सहज हुन्छ।’ नेपाल प्रहरीसँग सीमामा पर्याप्त जनशक्ति नभएका कारण पनि तस्करले मौकाको फाइदा उठाउने गरेको उनको ठम्याइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)