बागलुङमा नयाँ पदमार्ग खोज्दै युवा

बागलुङमा नयाँ पदमार्ग खोज्दै युवा

बागलुङ : कोरोना कहरका बीच जिल्लाका केही युवाले आकर्षक पर्यटकीयस्थल र पदमार्ग पहिचानको अभियान थालेका छन् । युवा टोलीले बेलढुंगादेखि ढोरपाटनसम्म पुग्ने नयाँ पदमार्गको पहिचान गरेको छ ।

यस पदमार्गलाई युवाहरुले ‘मगर सामुदायिक पदमार्ग’को नाम दिएका छन् । जिल्लामा पर्यटनमैत्री पूर्वाधार, पदमार्ग र गन्तव्यको पहिचानमा समस्या देखेकाले स्वतस्फुर्त रुपमा नयाँ पदमार्गको पहिचानमा लागेको फोटोग्राफर आर के अदिप्त बताउँछन् । 

यो पदमार्गमा यात्राका क्रममा मगर संस्कार, संस्कृति, स्वागत, आतिथ्यता, अर्गानिक खानाका विविध स्वाद विशेष भएकाले मगर सामुदायिक पदमार्ग नामबाट यसलाई विकास गर्नुपर्ने उनको भनाइ छ । घुम्नमा सौखिन गिरी अन्य जिल्लामा पदमार्गको राम्रो सम्भावना भए पनि पहिचान, पूर्वाधार निर्माण र प्रर्वद्धनमा निराशाजनक अवस्था देखिएकाले आफूहरुले कदम चालेको बताउँछन् । 

काठेखोला गाउँपालिका ३ धम्जा र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको सिमानामा रहेको बेलढुंगाबाट नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन सम्म पुग्न ६ दिनको पैदल यात्रा गर्नुपर्नेछ । 

पहिलो दिन बागलुङ सदरमुकाम या सर्वसिद्धिधाम पञ्चकोट, संसारकोटबाट बेलढुंगा होम स्टेमा पुग्न सकिनेछ । भोलीपल्ट विहानै बेलढुंगाबाट सुर्योदयसहित आकर्षक हिमश्रृंखला, बागलुङ म्याग्दीका प्राकृतिक मनोरम दृश्य, गाउँबस्ती अवलोकन गरे पछि दोस्रो दिन ताराखोला गाउँपालिकाको अर्गलस्थित किकल्टा होम स्टे या हिल गाउँ होम स्टेमा पुग्न सकिन्छ । तेस्रो दिन ताराखोलाका आकर्षक ढुंगाका घर, पृथक जीवनशैली लगायत बुझ्दै डुडेलेकको फेद नजिकै रहेको ठुलो हिले गाउँको होम स्टेमा बस्न सकिन्छ । ठूलो हिले गाउँ घना जंगलको छेउमा छ । यहाँ ताराखोला गाउँपालिकाले साइकल ल्याण्ड पनि बनाउँदैछ । 

चौथो दिन यस स्थानबाट ३५ सय ५० मिटरको उचाइमा रहेको डुडेलेक चढ्न सकिन्छ । यो ठाउँबाट मन लोभिने अनगिन्ती आकर्षक मनोरम दृश्य देखिन्छ । टेण्ट, खानपानको व्यवस्थापन गर्न सकेमा एक रात यही सेरोफेरोमा बस्न सके विहानको सुर्योदयसँग स्वर्गिय आनन्दको अनुभूति गर्ने अवसर मिल्नेछ । यदी लेकमै बस्न नसक्ने विकल्पमा ढोरपाटन नगरपालिकाको खुंगा हुँदै तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान या तमान गाउँमा पुग्न सकिन्छ । 

पाँचौ दिन बोंगादोभानबाट कटेरी हुँदै २६ सय ५० मिटरको उचाईमा रहेको आकर्षक बराह तालमा पुगिन्छ । जहाँ भेडिगोठहरु पनि प्रशस्त छन् । यो तालमा पानीको मुहान पनि देखिन्न । हिउँद याममा समेत पानी घट्दैन, बढी भएर माथिबाट पनि नजाने स्थानीय बताउँछन् । यो तालमा हरेक वर्षको बैशाख १ मा हजारौको जमघट सहित पुजाआजा हुने गर्दछ । पाँचौ दिन बराह तालबाट अग्ला धुरी छिचोल्दै म्याग्दीको नर्जाघाट पुग्न सकिन्छ । नर्जाघाट पनि ढोरपाटन उपत्यका सेरोफेरो भित्रै पर्दछ । छैठौ दिन यहाँबाट घुम्दै फिर्दै ढोरपाटन उपत्यकाका सबै भाग घुम्न सकिन्छ । यहाँ सामुदायिक लजदेखि पाखाथर होम स्टे र थुप्रै होटलहरु समेत अहिले सञ्चालनमा छन् । 

छिमेकी जिल्ला म्याग्दी, मुस्ताङमा प्रयाप्त पदमार्ग भएर वर्षेनी हजारौ पर्यटक आउँदा पनि बागलुङमा पर्यटकीय पदमार्ग शून्य प्रायः भएकाले नयाँ गन्तव्य र पदमार्गको खोजी थालिएको घुमन्ते टोलीका सदस्य खिमबहादुर क्षत्री बताउँछन् । उनले कोरोना संकटकै बीच जिल्लामा घुम्ने संस्कृतिलाई बढावा दिन ‘पहिले गृह जिल्ला अनि मात्र स्वदेशका चार किल्ला’ अभियान चलाएका छन् । कोरोना कहरकै बीचमा युवाहरुले जैमिनी नगरपालिकाको हाँडिकोट, बागलुङ नगरपालिकाको बुद्ध हिल लगायतका स्थानलाई आकर्षक गन्तव्य बनाउन पहल थालेका छन् । टोलीले नयाँ पर्यटकीय सम्भावना सहित स्थानीय र स्थानीय सरकारलाई पर्यटन र प्रकृतिमैत्री संरचना निर्माण गर्न पनि सुझाएको क्षत्री बताउँछन् ।

युवाहरुको स्वंयम्सेवी अभियानले आफूहरुलाई पनि थप ध्यानाकर्षण गराएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती बताउँछन् । ‘हामीले गाउँपालिकालाई के कसरी पर्यटन सँग जोड्ने भनेर सोचिरहेका छौं, ताराखोला भ्रमण वर्ष मनाउने तयारी पनि गरेका थियौ,’ अध्यक्ष घर्तिले भने, ‘तर कोरोनाका कारण सबै योजना कार्यक्रम प्रभावित भएको छ, यद्यपी नयाँ पदमार्गको विकास, प्रर्वद्धनमा अब हामी अपनत्व लिएर लाग्छौ ।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले पनि अन्य मार्ग भएर छिटफुट ढोरपाटन पुग्ने पर्यटक आए पनि अहिलेको पदमार्ग भएर आउने पहिलो भएको बताए । ‘यो राम्रो सम्भावना भएको पदमार्ग हो, हामीले अन्य केही रुट बनाएर प्रदेश सरकार समक्ष योजनाका लागि माग गरेका पनि छौं,’ अध्यक्ष बुढा थप्छन्,‘पर्यटनमा प्रयाप्त पूर्वाधारहरु निर्माण गर्न सके यो ट्रेल बाह्य पर्यटकका लागि पनि रोजाइको गन्तव्य बन्न सक्छ, तत्कालै हामी सम्भाव्य पहल र प्रयास थाल्छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.