नेपाल फकाउँदै ओली

नेपाल फकाउँदै ओली

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सम्बन्ध बिग्रिएपछि वरिष्ठ नेता माधवकुमार नेपालसँग हिमचिम बढाउन खोजेका छन्। त्यही क्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई आइतबार दिउँसो बालुवाटारमा बोलाएर छलफल गरेका छन्। नेपाल शनिबार मात्रै अध्यक्ष दाहालसहितका नेतासँगै पार्टी बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री निवास पुगेका थिए। 

ओलीले त्यसबेला दाहालसँग भनाभन गरे पनि तत्कालीन एमाले धारका नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग भने कुनै सवाल–जवाफ गरेका थिएनन्। बरु माओवादी पृष्ठभूमिकै प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पदीय जिम्मेवारीबाहिर जान खोजेको भन्दै प्रधानमन्त्रीले जवाफ फर्काएका थिए।

प्रधानमन्त्री ओलीले आफूलाई छलफलमा बोलाएपछि नेपालले त्यसबारे दाहाललाई टेलिफोनमा जानकारी गराएका थिए।

उनले स्थायी समितिका आफूपक्षीय नेता भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई साथै लगेका थिए। पार्टीभित्र देखापरेको पछिल्लो विवादपछि ओलीकै निम्तोमा नेपाल बालुवाटार यसरी पुगेको यो तेस्रो पटक हो। ओलीले कात्तिक ४ मा र कात्तिक ११ मा पनि नेपाललाई बोलाएर मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए। आइतबारको भेटमा ओलीले नेपालसँग आफ्नो स्वास्थ्य अवस्थाबाट कुरा सुरु गरेका थिए।

‘म अहिले पूरै स्वस्थ भएको छु। दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गरिसकेपछि  त अहिले हाछ्यँु पनि आएको छैन। ज्वरो पनि आएको छैन, अहिलेसम्म एकपटक पनि। सेता जुँगा पनि कालो–कालो भएर झन् झन् आउन थाल्यो। म स्वस्थ देखिन्छु। स्फूर्ति पो देखिन्छु। स्वास्थ्यमा अहिले कुनै समस्या छैन,’ प्रधानमन्त्रीले नेपालसहितका नेताहरूलाई सुनाए। त्यसपछि भने उनले लामै फेहरिस्त राखे। पार्टीभित्रका समस्या र त्यसमा अर्का अध्यक्ष दाहालको भूमिकाप्रति उनले चर्काे असन्तुष्टि पोखे। कर्णालीमा देखिएको विवाद, पर्सा बर्दिवासमा भएको पार्टी जिल्ला सदस्यको हत्या, मन्त्रिमण्डल पुनर्गठनलगायत विषयमा अर्का अध्यक्षबाट जहिल्यै बखेडा मात्र झिकिएको उनको गुनासो थियो।

उनले आफूसँग एउटा र अन्य नेतासँग अर्को कुरा गरेर दाहालले दोहोरो चाल चलिरहेको आरोप लगाए। उनले पार्टीकै कार्यकारी अध्यक्ष नै बैठक बोलाउन माग गर्दै पत्र बोकेर आएकामा पनि असन्तुष्टि पोखे। 

‘पार्टी बैठक बोलाउन माग गरेर पत्र नै लेखेर यसरी किन ल्याउनुपथ्र्याे ? यसरी लेखेर ल्याउनुपर्ने थिएन। यसले सन्देश अर्काे जाने खालको मात्र भयो’, एक नेताले ओलीको भनाइ उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘नेताहरूका आ–आफ्ना जिम्मेवारी छन्। जिम्मेवारीअनुसार काम गरेको भए यसरी पत्रै कोरेर आउनुपर्ने अवस्था नै होइन। यो त मौखिक पनि भन्न सकिन्थ्यो। प्रचण्डजीसँग बैठकका विषयमा छलफल भइरहेकै थियो। यसरी पत्र बोकेर आउनु यो जिम्मेवारीबाट पन्छिएजस्तो देखियो।’

त्यसपछि भने ओलीले नेपालसँग भने, ‘पार्टी संकटमा छ। विभाजनको डिलमा छ। तपाईं हामी मिलेर पार्टी जोगाउनुप¥यो। मलाई सहयोग भएन।’

ओलीको यस्तो प्रस्तावपछि भने नेपालले पार्टी एकता बचाउने प्रधानमन्त्रीको प्रस्ताव के हो भनी सोधेका थिए। ‘तपाईं सधैँ यस्तै कुरा गर्नुहुन्छ ? अहिलेको संकट कसरी समाधान गर्ने, तपाईं पार्टीको अध्यक्ष, प्रधानमन्त्री पनि। त्यो कुरा ल्याउनु न। यहाँ गफ गर्दा पनि कुनै ठोस प्रस्ताव आएन। बैठक राख्नुहोस्, त्यहाँ ल्याउनुहोस्, तपाईंको प्रस्ताव। कहाँबाट समस्या उत्पन्न भयो, कहाँबाट जाने ? त्यो कुरा गर्न बैठक गरौं। त्यहीँ ल्याउनुहोस्  तपाईंको प्रस्ताव’, नेपालले ओलीसँग भने।

नेपालले बैठक छिटो बोलाउन आग्रह गरे। तर, ओलीले पहिले बैठकका इस्यु टुंगो लाग्नुपर्ने बताएका थिए। नेपालले भने बैठक बसेपछि त्यही इस्यु (एजेन्डा) टुंगो लाग्ने बताए। प्रधानमन्त्रीले बैठक बस्ने कुरा दुई अध्यक्षको परामर्शमा महासचिवले बोलाउने विषय भएको बताएको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए।  ‘विभिन्न घटना, समयमा कसले के भन्यो, के भयो भन्नेमै धेरै समय गयो। हामीले यस्ता विषयमा गलफत्ती नगरौं, यो कुनै समस्या समाधान गर्ने विधि होइन। यसले केही गर्दैन। यो पार्टी र सरकारलाई अगाडि लानका लागि तपाईंसँग ठोस प्रस्ताव के छ, त्यो ल्याउनुहोस्। बैठक डाक्नुहोस्, त्यहाँ ठोस प्रस्ताव ल्याउनुहोस्। त्यसले समस्या  समाधान गर्छ। यस्ता कुरा गरेर यसको ÷उसको टिप्पणी गरेर वा ’पार्सियल‘ कुरा गरेर केही हुँदैन भन्यौं’, पाण्डेले अन्नपूर्णसँग भने, ‘ठोस कुरै केही भएन। हामीले बैठक डाक्नुहोस् भन्दा प्रधानमन्त्रीज्यूले दुई अध्यक्ष र महासचिव भएर गर्ने विषय हो त्यो भन्नुभयो। त्यसमा पनि कुनै प्रगति भएन।’

नेपालले भने ओलीसँग प्रधानमन्त्री ओलीको कार्यशैली र सोच पहिले परिवर्तन हुनुपर्ने धारणा छलफलका क्रममा राखेका थिए। ‘तपाईं (प्रधानमन्त्री) सधैँ यस्तै कुरा गर्नुहुन्छ। मैले नै सबै जानेको छु, मैले नै बुझेको छु। पार्टी नै महिले चलाएको छु। मजति जान्ने कोही छैन भन्ने गरी सर्वाेसर्वा ठान्नुहुन्छ ? पहिलो कुरा तपार्इंले यो तरिका, कार्यशैली, व्यक्तिवादी सोच, प्रवृत्ति सच्याउनुहोस्,’ नेपालले प्रधानमन्त्रीसँग भने, ‘आफ्नो अनुहार ऐनामा हेर्नुहुन्न ? एकलौटी ढंगले चल्नुभएको छ। एकलौटी पार्टी चलाएको भएकाले समस्या आएको हो। त्यसलाई सच्याउनुहोस्।’

ओलीले भने नेपालसँग आफूलाई अहिले सहयोग गर्न नै नेपालसँग आग्रह गरिरहे। ‘म प्रधानमन्त्री प्रतिनिधिसभाको अबको चुनावपछि हुन्न। महाधिवेशन पछि म पार्टी अध्यक्ष पनि हुन्न। अहिले पार्टी जोगाउनुप¥यो। मलाई सहयोग गर्नुस्’ नेपालसामु ओलीको प्रस्ताव थियो।  स्थायी समितिका अर्का सदस्य भीम रावलले पनि दुई नेताबीच भएको भेटवार्ता कुनै सहमति र निष्कर्षमा पुगन नसकेको बताए। ‘भेटघाटमा यसबीचका घटनाक्रमबारे विवरणात्मक विचारको आदानप्रदान भयो। त्यहाँ कुनै ठोस प्रस्तावमाथि छलफल गरेर सहमति या निर्णय केही पनि भएन,’ रावलले अन्नपूर्णसँग भने, ‘बैठकका विषयमा हामीले पहिलेदेखि जे भन्दै आएका छौं, बैठक बोलाउन नेताहरूले लेखेर दिनुभएको छ। म सरसल्लाह गर्दै छु, त्यसपछि बोलाउँछु। तर, यो दुई अध्यक्ष र महासचिव छलफल गरेपछि राखिने विषय हो। भन्नुभयो। मितिको कुरा गर्नुभएन।’

दाहाल नेपाल सहितका सचिवालयका ५ नेताले भने शनिबार ओलीसँगको छलफलमा सोमबारसम्मको मौखिक समय सीमा दिएर पार्टी बैठक बोलाउन ओलीसँग आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले अर्का अध्यक्ष र पार्टी सचिवालयका अन्य नेतासँग पनि छलफल गरेपछि मात्र बैठकबारे टुंगो लाग्ने बताएका थिए। ‘हामीले समस्याको समाधान भनेको सामूहिक प्रयत्नबाट, बैठकबाट पार्टीका विधि र प्रणालीबाटै खोज्नुपर्छ भन्ने कुरा भेटका क्रममा फेरि दोहो¥याएर राख्यौं। तर, प्रधानमन्त्रीले नेताहरूसँग सल्लाह गरेर बैठक बोलाउँछु मात्र भन्नुभयो। थप केही भन्नु भएन’, रावलले भने।

पूर्वएमाले धारका नेताहरूलाई एकढिक्का बनाउने प्रयासमा ओलीको नेपालसँगको भेटवार्ता हो। उपप्रधानमन्त्री ईश्वर पोखरेलले शनिबार मात्रै काठमाडौं जिल्ला समितिमा रहेका झण्डै ६५ जना नेतालाई जम्मा पारी बसुन्धरामा जबजको बहस चलाएका थिए। 

नेपालले बालुवाटारमा ओलीसँग झण्डै तीन घण्टा छलफल गरेपछि उक्त छलफलबारे अध्यक्ष दाहालसहित सचिवालयका अन्य थप २ नेतालाई पनि ब्रिफिङ गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.