बैठक बोलाउन ओली लचिलो

बैठक बोलाउन ओली लचिलो

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी सचिवालय बैठक बोलाउन ‘लचिलो’ देखिएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच नेताले बैठक माग गर्दै कात्तिक २२ मा पत्र बुझाउँदासम्म प्रधानमन्त्री ओली सकारात्मक थिएनन्।

बहुमत सदस्यले माग गरेपछि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई विधानअनुसार बैठक बोलाउने प्रक्रिया अगाडि बढाउन तोकादेश गरेका थिए। प्रधानमन्त्रीले मंगलबारसम्म आइपुग्दा बैठक बोलाउन आफू तयार रहेको जनाउ दाहाललाई दिएका थिए। उनले सोमबार महासचिव पौडेल र मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेललाई दाहाल निवास खुमलटार पठाएर बैठकका एजेन्डामा सहमतिको खोजी गरेका थिए। ओली अहिले सचिवालय बैठकको एजेन्डा र त्यसका निर्णयका विषयमा आश्वस्त हुन चाहिरहेका छन्।

अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बैठक तत्काल बस्नुपर्ने, बैठकमै एजेन्डामा छलफल गरेर निर्णयमा पुग्नुपर्ने अडान लिएका छन्। बैठकका लागि दाहाल–नेपाल समूहले पाँचबुँदे प्रस्ताव ओलीलाई बुझाएका थिए।

उनीहरू कोभिड—१९ बाट उत्पन्न संकट, उपचार र नियन्त्रण प्रयास, स्थायी समिति बैठकको निर्णय कार्यान्वयनको समीक्षा, कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद, पर्सा बर्दिवास हत्याकाण्डपछिको समस्या र रअका प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ताका विषयलाई एजेन्डा बनाई छलफल गर्नुपर्ने पक्षमा छन्। 

ओली भने यी एजेन्डाका कतिपय विषय छलफल गर्नुपर्ने मागसँग सहमत देखिँदैनन्। जसकारण उनले दाहालसँग पहिले एजेन्डामा सहमतिको खोजी गरेका थिए। तर, बैठकका लागि सहमति कुरेर दुई दिन बसेको दाहाल–नेपाल समूहले मंगलबार औपचारिक बैठक बोलाउने तयारी गरेको थियो। त्यसपछि भने ओलीले स्थायी समिति सदस्य पोखरेललाई खुमलटार पठाएर दाहालसँग छलफल गराएका थिए। पोखरेलले बैठक बोलाउनकै लागि पनि दुई अध्यक्ष मिल्नुपर्ने, पार्टी विभाजन गरे कसैलाई पनि हित नगर्ने भन्दै नेताहरूले परिस्थितिलाई बुझ्नुपर्ने आग्रह दाहालसँग गरेका थिए। तर, दाहालले पोखरेललाई निरपेक्ष कुरा मात्र गरेर समस्या समाधान नहुने जवाफ दिएको दाहाल–नेपाल समूहका एक सचिवालय सदस्यले बताए।
‘तपाईं (पोखरेल) निरपेक्ष कुरा गर्नुहुन्छ, ठोस ठोस समस्या कहाँ छ, त्यो कुरा गर्नुहुन्न। समाधानको निम्ति प्रयत्न गर्नुहुन्न । निरपेक्ष कुरा गरेर हुन्छ ? तुरुन्त बैठक राखेर त्यही छलफल गर्र्नु पर्‍यो भन्नुस् प्रधानमन्त्रीज्यूलाई’, दाहालले पोखरेललाई भनेका थिए।

दाहाललाई पनि बैठक बोलाउन उनीनिकट समूहको दबाब थियो। त्यसपछि सुनाकोठीस्थित एक घरमा दाहाल, नेपाल, प्रवक्ता श्रेष्ठलगायत नेता छलफलमा बसेका थिए। नेताहरूले त्यहाँ पनि पार्टी बैठक बसेर अब अगाडि बढ्नुपर्ने कुरा गरेका थिए। दाहालले पोखरेलले ओलीका तर्फबाट ल्याएको सन्देश सुनाएका थिए। अन्य नेताले प्रधानमन्त्री अब बैठक बोलाउन तत्पर नहुने भन्दै बैठकबाटै अगाडि जान दाहाललाई दबाब बढाएका थिए।

त्यसपछि भने दिउँसो ४ बजे सचिवालय बैठक बोलाउनेसम्मको तयारीमा दाहाल नेपाल समूह पुगेको थियो। त्यही बेला ओलीले दाहाललाई बालुवाटारमा छलफल गर्न निम्ताए। नेताहरूले ओलीसँग भेटेर अब बैठक नरोकिने भन्दै कडा अडान राख्न दाहाललाई भनेका थिए। दाहालले ओलीसँग २७ गते पार्टी बैठक बोलाउन प्रस्ताव गरेका थिए।
‘अब धेरै ढिला गरेर हुँदैन, सबै विषय पार्टी बैठकमै बसेर छलफल गरौं। भोलि (बुधबार) तपाईं (प्रधानमन्त्री) उपत्यकाबाहिरको कार्यक्रम सकेर आउनुहोस्। पर्सि बिहीबार चाहिँ बैठक बसौं, दाहालले ओलीसँग राखेको प्रस्ताव उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने।

तर, ओलीले दाहालको प्रस्तावमा सहमति दिइनसकेको श्रेष्ठको भनाइ छ। ‘हतार किन गर्नुपर्‍यो बैठकको, के गर्न खोज्नु भएको हो ? सहमतिमै बैठक बसौं, म बैठकका लागि तयार छु। महासचिवलाई पनि भनिसकेको छु। उहाँले पनि तयारी गरिरहनु भएको होला’, ओलीले दाहालसँगको छलफलमा भनेका थिए।

ओलीनिकट नेता संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रधानमन्त्रीले महासचिवलाई निर्देशन गरिसकेकाले बैठकको तयारी भइरहेको बताए। ‘सचिवालयका केही साथीहरूले निवेदन दिनेबित्तिकै त्यही दिन उहाँले तोक लगाउनुभयो, महासचिवको नाममा बैठक बोलाउन विधानबमोजिम आवश्यक तयारी गर भनेर भन्नुभयो। त्यही प्रक्रिया अगाडि बढ्दै जाँदा  महासचिवले बालुवाटारमा प्रधानमन्त्रीसँग सल्लाह गर्नुभयो। त्यसपछि खुमलटारमा गएर अध्यक्ष प्रचण्डसँग पनि सल्लाह गर्नुभयो। त्यसपछि फेरि बालुवाटार  फर्किनुभयो आज (मंगलबार) त्यसपछि दुई अध्यक्षको सल्लाह, कुराकानी भयो बैठक राख्ने भन्ने भएको छ। तर बैठक राख्नका लागि केही तयारी गर्नुपर्‍यो। त्यो तयारी गर्न महासचिवलाई भनिएको छ। महासचिवले बैठक डाक्नु हुन्छ।’ नेम्बाङले अन्नपूर्णसँग भने।

उनले दुई अध्यक्षको छलफल सकारात्मक दिशामै गएकोले सहमतिमै बैठकको टुंगो लाग्ने जनाए। ओलीसँगको भेटपछि दाहालले बैठक माग गरेका बहुमत सचिवालय सदस्यलाई पार्टी कार्यालय धुम्बराहीमा ओलीसँगको भेटका विषयमा बिफ्रिङ गरेका थिए। ‘पाँच जना हामी सचिवालयका सदस्यले प्रधानमन्त्रीलाई भेटेर लिखित रूपमा नै सचिवालय बैठक तत्काल बस्ने कुरामा सहमति  जनाउन र बैठक बस्न अनुरोध गरेका थियौं। 

सोमबारसम्म हामीले बैठक बस्ला भनेर अपेक्षा गरेका थियौं। तर बैठक बसेन, बस्ने कुरामा प्रधानमन्त्रीले सहमति दिनुभएको छैन’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसपछि मंगलबार कार्यकारी अध्यक्ष प्रचण्डले कमरेड केपी ओलीसँग भेट्नुभयो र त्यसबारेमा गम्भीरतापूर्वक छलफल गर्नुभयो। छिटोभन्दा छिटो बैठक बस्नुभन्दा अर्काे विकल्प छैन। ढिलो गर्नु हुन्न भनेर कुरा गर्नु भएको छ। बुधबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको उपत्यका बाहिर कुनै कार्यक्रममा जाने भन्ने योजना भएको स्थितिमा पर्सि २७ गते सचिवालयको बैठक बस्नुपर्छ भनेर बैठकमा सहमति गर्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ।’

श्रेष्ठले दाहालले ओलीसँग राखेको प्रस्तावअनुसार २७ गते प्रधानमन्त्रीको सहमतिकै आधारमा सचिवालय बैठक बस्ने आश सचिवालयका बहुमत सदस्यले गरेको बताए। ओलीले भने सहमतिबिना अगाडि जान खोजिए परिस्थिति नसोचिएको हुन सक्ने पनि बताए। ‘तपाईंहरू मिलेरभन्दा भिडेर जान खोज्नु भएको हो भने भिडौं। एक्सनमा मात्रै जान खोज्नु भयो भने मैले पनि भनेको छु म पनि महाएक्सनमा जान्छु तर त्यो स्थिति नआओस्’, ओलीले दाहालसँग बालुवाटार छलफलमा भनेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.