नेकपा विवाद वारपारतर्फ

नेकपा विवाद वारपारतर्फ

काठमाडौं : सत्तारूढ दल नेकपाका ‘जोर पाइलट’ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा ‘टसमस’ नहुँदा विवाद झन् कचपल्टिएको छ। बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालले सहमति नजनाएपछि परिस्थिति थप बिग्रिएको हो।

कात्तिक २८ को सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि नेकपा विभाजनको दोसाँधमा उभिएको छ। शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ। कलहले उत्कर्ष रूप लिइरहेको छ। ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। नत्र बैठकमा बस्नु र प्रस्तावमा प्रधानमन्त्रीले जवाफ दिइरहनु पर्छ भन्ने नभएको उनीहरूको भनाइ छ। उक्त प्रस्ताव ‘प्रस्ताव’ नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ।

दाहालको प्रस्ताव फिर्ता लिन, दुई अध्यक्ष संवादमा बसेर सहमति खोज्न र बुधबार तय भएको सचिवालय बैठक केही समय स्थगित गर्न प्रधानमन्त्री ओलीले मंगलबार महासचिव विष्णु पौडेललाई दाहालको निवास खुमलटार पठाएका थिए। तर दाहालले त्यसमा सहमति जनाएनन्। उनले आफ्नो प्रस्ताव फिर्ता नहुने र बैठक पनि नरोकिने बताए। सबै विषयमा सचिवालय बैठकभित्रै छलफल गरेर निचोडमा पुग्न सकिने उनको भनाइ थियो।

‘मंगलबार अध्यक्ष प्रचण्डसँग महासचिवले बैठक केही दिन पछि सार्न प्रधानमन्त्री तथा अर्का अध्यक्षको तर्फबाट प्रस्ताव गर्नु भएको रहेछ। उहाँ (प्रचण्ड)ले बैठक सार्ने कुरा हुँदैन भनिदिनुभएछ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने। दाहालले पौडेललाई बैठक सार्नै पर्ने भए पनि सचिवालय बैठक बसेरै यस सम्बन्धमा निर्णय लिइने जवाफ दिएको उनको सचिवालयले जनाएको छ।

दिउँसो बालुवाटारमा ओलीसँग महासचिव पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरूको छलफल भएको थियो। छलफलमा दाहालको प्रस्ताव फिर्ता र दुई अध्यक्षबीच सहमति नभएसम्म बैठक राख्न नहुने निष्कर्ष नेताहरूले निकालेका थिए। त्यसपछि महासचिव पौडेलले बालुवाटारमा नेताहरूकै अगाडिबाट दाहाललाई टेलिफोन गरेका थिए।

‘सहमतिमा मात्र बैठक तय गरौं, भोलि (मंसिर ३) का लागि स्थगित गरौं,’ पौडेलले दाहाललाई टेलिफोनमा भने। ओली निकट नेता, संसदीय दलका उपनेता सुवास नेम्बाङले केही दिन बैठक रोकेर दुई अध्यक्षले छलफल गर्दै सहमतिमा पुग्नुको विकल्प नभएको बताए।

गत स्थायी समितिको निर्णय कार्यान्वयन गरेर अगाडि बढ्नु र पार्टीलाई एक ढिक्का बनाएर जानुको विकल्प नरहेको उनको भनाइ छ।

‘बालुवाटारमा हामी प्रधानमन्त्रीसँग छलफल गर्दै गर्दा त्यहींबाट महासचिवले अध्यक्ष प्रचण्डलाई दिउँसो साढे ३ बजेतिर टेलिफोन गर्नुभएको थियो। दुई अध्यक्षसँग सल्लाह गरेर महासचिवले बैठक राख्ने र स्थगित गर्ने हो भन्दै उहाँले भोलि (३ मंसिर) का लागि स्थगित गरौं, केही दिन समय लिएर सहमति जुटाऔं। यसो गरौं भन्नुभयो,’ नेम्बाङले अन्नपूर्णसँग भने, ‘उता (दाहाल)बाट ठीक छ, सल्लाह गरेर म खबर गरौंला भन्नुभएको छ।’  दाहाल पक्षले सहमतिमा बैठक स्थगित गर्नेतिर नगएमा महासचिव पौडेलले बुधबार बिहान आफ्नो तर्फबाट सचिवालय बैठक स्थगित गरेको सूचना सार्वजनिक गर्ने तयारीमा ओली पक्ष छ।

‘अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तयार गर्ने र बैठक बोलाउने, सम्बन्धित कमिटीको बैठकको कार्यसूची पेस गर्ने, पारित गर्ने र तदनुरूप बैठक सञ्चालन गर्ने विषय अन्तरपार्टी निर्देशन (अपानि) मा उल्लेख भएको छ। त्यही टेकेर महासचिवले बुधबार बिहान दाहाल नेपाल पक्ष सहमतिमा नआए बैठक स्थगितको सूचना पठाउनुहुन्छ,’ ओली निकटका एक स्थायी समिति सदस्यले भने। दाहाल–नेपाल पक्षले भने मंगलबार अबेरसम्म बैठक रोक्ने विषयमा कुनै धारणा बनाइसकेको छैन।

ओली पक्षीय नेताहरू बालुवाटारमा छलफल गर्दै गर्दा दाहालले पनि आफ्नो निवासमा वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका थिए। उक्त छलफलमा पार्टी बैठक नरोक्ने, ओली पक्ष सहभागी नभए पनि बैठक राखेर स्थायी समिति बैठकको मिति तोकेर जाने तय गरियो। प्रवक्ता श्रेष्ठले बैठक नरोकिने बताए। ‘उहाँहरूका कुरा बैठकमै राख्नुपर्छ। बैठक रोकिंँदैन। सबै कुरा बैठकमा राखेर त्यहीँबाट समस्या समाधानको खोजी गर्नुपर्छ,’ श्रेष्ठले भने। 

नेकपामा दुई पक्ष आआफ्नै अडानमा रहने र बैठक राख्ने र नराख्नेमै नेताहरू घम्साघम्सी गरेमा पार्टी संकटमा पर्नेछ। सम्भाव्य जोखिम रोक्न पनि उपायको खोजी पहिले गर्नुपर्नेमा कतिपय नेताहरूको तर्क देखिन्छ। खुमलटारमा उपाध्यक्ष गौतम र वरिष्ठ नेता नेपालसँग भेट गरेपछि साँझ दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन्। भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता बचाएर अगाडि बढ्न सुझाव दिएको स्रोतले बतायो। 

राष्ट्रपति भण्डारीले यसबीच उपाध्यक्ष गौतम, गृहमन्त्री रामबहादुर थापालगायत नेताहरूसँग पनि भेटवार्ता गरेकी थिइन्। प्रधानमन्त्री ओलीले पनि कात्तिक २९ मा राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए। ओली पक्षीय नेता नेम्बाङले आफूले दुवै अध्यक्षलाई केही समय लिएर छलफल गरेर सहमतिमा बैठक बोलाएर जान सुझाव दिएको बताए।

‘खुमलटारमा अध्यक्षलाई पनि खबर पठाएको थिएँ, उहाँले तपार्इंलाई भेट्न बोलाउँछु हैं भनेर खबर पठाउनु भएको छ। तर यति हुँदाहँुदै पनि साथीभाइमार्फत खबर पठाएको छु। दुई अध्यक्षले छलफल गर्दै सहमतिमा पुग्नुको विकल्प छैन। विगत जुन स्थायी समितिको निर्णय छ, त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्छ।

पार्टीलाई एक ढिक्का राख्नुपर्छ। यो सन्दर्भमा अहिले भोलि (मंसिर ३) बस्न लागेको सचिवालय बैठक अगाडि तपाईंहरूको आवश्यक तयारी पुगेको जस्तो लाग्दैन। त्यसकारण केही समय लिनुहोस्। केही समय बैठक रोक्नुहोस्। तपाईंहरूबीच आवश्यक तयारी गरेर मात्र अगाडि बढ्नु होला। त्यसो गर्नु राम्रो होला भन्ने सन्देश दुवै अध्यक्षकहाँ पु¥याउने काम गरेको छु’ नेम्बाङले भने।

प्रधानमन्त्रीले भने आफू पार्टी एकताको पक्षमा ढृढ रहेको र यसलाई यताउती हुन नदिने आफूहरूसँग बताएको पनि नेम्बाङले सुनाए। यसबीच, ओलीले कात्तिक ३० मा वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष गौतमलाई महासचिव विष्णु पौडेललाई सँगै राखेर छुट्टाछुट्टै छलफल गरेका थिए। ओलीले दुवै नेतासँग दाहालले सचिवालय बैठकमा राखेको प्रस्ताव दस्तावेज नभई आफूविरुद्ध नियोजित रूपमा गरिएको प्रहार भएकाले त्यसलाई आफूले जवाफ दिएर नजाने बताएका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.