निर्वाचनबाटै नेतृत्व
![निर्वाचनबाटै नेतृत्व](https://annapurnapost.prixacdn.net/media/albums/FNCH-logo_20201124052102_wcPh6elTEE.jpg)
काठमाडौं : सोमबार साँझसम्म वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारले चुनावी मैदानबाट हट्न अस्वीकार गरेपछि नेपाली व्यवसायीको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचनको माहोल तातेको छ। महासंघको भावी नेतृत्व चयनका लागि नियमित समयभन्दा करिब आठ महिना ढिला गरी यो निर्वाचन हुन लागेको हो। कोरोना भाइरसको महामारीले गत चैतमा तय गरिएको चुनाव दुई पटकसम्म स्थगित गरिएको थियो।
यही साताको अन्त्यमा हुने महासंघको ५४औं साधारण सभाले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षसहित ६४ पदाधिकारी चुन्नेछ यसका लागि १ सय २७ जना चुनावी प्रतिस्पर्धामा छन्। महासंघमा भावी अध्यक्षको चुनाव भने हुँदैन। वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालमा स्वतः अध्यक्षमा बढुवा हुनेछन्।
आगामी कार्यकालका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा छन्। प्रधान यसअघि पनि शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षको निर्वाचनमा पराजित भएका थिए। प्रधान विद्युत्का पोल तथा ह्युमपाइप उत्पादन गर्छन्। ढकाल भने आईएमई समूहका अध्यक्ष छन्। चन्द्रागिरि हिल्सदेखि पूर्वाधार विकास बैंकको स्थापनासम्म उनले प्रमुख भूमिका खेलेका छन्।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति उम्मेदवार छन्। ढकाल समूहमा भने वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, जिल्ला नगरतर्फ गुणनिधि तिवारी र एसोसिएटतर्फ रामचन्द्र संघाई उम्मेदवार बनेका छन्।
महासंघको नेतृत्व चयन दोस्रो पुस्तामा हस्तान्तरण हुँदै गर्दा पछिल्ला वर्ष विवादको घेरा पनि तन्किँदै गएको छ। यसअघि अध्यक्ष भवानी राणाले विधान संशोधन कार्यदल गठन गरेर विधानका आधारभूत पक्षमा फेरबदल गर्ने प्रस्ताव अघि बढाएपछि महासंघ नयाँ अन्तरद्वन्द्वमा फसेको थियो। महासंघकै पूर्वअध्यक्ष चण्डीराज ढकालको संयोजकत्वमा गठित उक्त कार्यदलले निर्वाचित वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउने प्रस्ताव गरेपछि विवाद जन्मिएको थियो।
महासंघभित्रको वित्तीय अनियमितताबारे विवादमा तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिनुप¥यो। त्यसपछि बनेको विधान संशोधन कार्यदलले कोषाध्यक्ष पद नै हटाउने प्रस्ताव गरेको थियो। यस्ता विवादले महासंघ पछिल्लो समय तुलनात्मक रूपमा कमजोर बन्दै गएको व्यवसायीले नै बताउँदै आएका छन्। स्थापनाकालदेखि नै महासंघको सदस्य रहेको नेपाल चेम्बर अफ कमर्स यही अवधिमा महासंघको सदस्यता त्यागेर आफैं महासंघको रूपमा स्तरोन्नति भयो। नेपाल उद्योग परिसंघपछि महासंघबाट टुक्रिने दोस्रो संस्था चेम्बर बन्यो।
विवादकै घेराबीच शेखर गोल्छालाई अध्यक्ष भएको केही समयमै प्रदीपजंग पाण्डेकै भाँती पदच्युत गर्ने हल्ला फिँजाएको भन्दै भावी अध्यक्ष गोल्छाले किशोर प्रधानलाई आफ्नो समर्थन रहने घोषणा गरिसकेका छन्। वर्तमान अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका र कुशकुमार जोशीलगायतले प्रधानलाई समर्थन गरिरहेको महासंघ सम्बद्ध बताउँछन्। जिल्लानगरको भोटमा ठूलो पकड बनाइराख्न सफल भएका चण्डीराज ढकाल भने चन्द्रको समर्थनमा जुटेका छन्।
अर्का पूर्वअध्यक्ष सुरज वैद्यले स्पष्ट रूपमा कुनै पनि उम्मेदवारलाई समर्थन गरिसकेका छैनन्। विनोद चौधरीले महासंघबाट अलग्गिएर नेपाल उद्योग वाणिज्य परिसंघ स्थापना गरेपछि महासंघको चुनावी खेलमा चण्डीराज ढकाल लामो समय केन्द्र भागमा देखिन्छन्। गत वर्षदेखि पशुपति मुरारकाले पनि आफ्नो वर्चस्व स्थापित गर्न प्रयास गरिरहको धेरैको बुझाइ छ। यो निर्वाचनमा भने भर्खरै कोषाध्यक्षबाट हटाइएका ज्ञानेन्द्रलाल प्रधान पनि ‘गेम मेकर’को भूमिकामा उदाएका छन्। प्रधानको भूमिकाले निर्वाचनको परिणामलाई प्रभावित पार्न सक्ने धेरै व्यवसायीले आकलन गरेका छन्। निर्वाचनलाई तुलनात्मक रूपमा स्वतन्त्र अवलोकन गरिरहेका व्यवसायी उल्लेख्य प्रतिस्पर्धा हुन सक्ने बताउँछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)