टसमस भएनन् ओली–प्रचण्ड

टसमस भएनन् ओली–प्रचण्ड

काठमाडौं : सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ।

दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ। तर, विवाद समाधानको सूत्र खोजी गर्न दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेताहरूले घचघच्याइरहेका छन्। सचिवालयमा एकअर्काविरुद्ध लिखित प्रस्ताव ल्याएर सिँगौरी खेलिरहेका ओली र दाहालले बिहीबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै ‘अर्थपूर्ण’ भेटघाट गरेका छन्।

नेताहरूले २० मंसिरसम्म सचिवालय बैठक रोकेर आ–आफ्ना तयारीसहित अनौपचारिक संवादमा जुटेका छन्। दुवै पक्ष भने टसमस देखिएका छैनन्। ओली सचिवालय बैठकमा जान छाडेका छन् भने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमत/अल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा लैजानुपर्ने बताइरहेका छन्। दोस्रो तहका नेताहरू असारमा स्थायी समिति बैठकमा देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिकामा थिए। परिणामस्वरूप दुवै अध्यक्षसहित शीर्ष नेता पार्टी विवाद मिलाउन कार्यदलमार्फत एउटा टोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्नेसम्मको समझदारीमा पुगेका थिए।

तर, यसपटक उनीहरूको प्रयास कामयावी हुन सकिरहेको छैन। उनीहरूका दबाब अध्यक्षद्वयले स्विकारिरहेका छैनन्। यस्तो बेला राष्ट्रपति भण्डारीले आफ्नो तहबाट नेकपाभित्रको विवाद समाधान गर्न दुई अध्यक्षलाई मिलाउन सक्रियता देखाउन थालेको स्रोतको भनाइ छ।

भण्डारीसँग बिहीबार दिउँसो ओली र साँझ दाहालले गरेको भेटवार्ता मध्यस्थताको भूमिका निर्वाह गर्न रहेको बताइन्छ। राष्ट्रपतिले सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेल र मंगलबार कृषिमन्त्री घनश्याम भुसालसँग भेट गरेकी थिइन्। राष्ट्रपतिले कात्तिक १८ मा उपाध्यक्ष वामदेव गौतम र २० गते गृहमन्त्री रामबहादुर थापासँग पनि छलफल गरेकी थिइन्।
राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता नियमित भएको तर दाहालसँगको भेटवार्ता अध्यक्ष दाहालले चाहेर भएको शीतल निवास स्रोतले बताएको छ। तर, भेटमा भएका कुराकानीबारे भने खुल्न सकेको छैन।

राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्रीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पनि भेट गरेका थिए। उता, दाहालले पनि महासचिव पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङलगायत नेताहरूसँग छलफल गरेका थिए।

ओलीसँग दाहालको प्रत्यक्ष संवाद हुन नसकिरहेका बेला पौडेल र नेम्बाङ बिहीबार खुमलटार पुगेका थिए। पौडेलले दुवै अध्यक्षले सचिवालयमा पेस गरेको प्रस्ताव थाती राखेर संयुक्त प्रस्ताव तयार पारेर जाने विषयमा दाहालसँग आग्रह गरेका थिए। दाहालले त्यसमा अरुचि देखाएको खुमलटारनिकट स्रोतले बताएको छ। त्यसमा दाहालले ओलीको प्रस्तावको जवाफसहित आफूले पूरक प्रस्ताव तयार पारिरहेको, आउने पार्टी बैठकमा छलफलका लागि राखेर जान चाहेको जवाफ दिएर फर्काएको स्रोतको भनाइ छ।

‘दुवै अध्यक्षहरू आफ्ना अडानमा टसमस देखिनुभएको छैन। तापनि पार्टी एकता जोगाउनुपर्ने पक्षमा भने दुवै अध्यक्ष हुनुहुन्छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अन्नपूर्णसँग भने, ‘तर, मिलनबिन्दु के खोज्ने भन्नेमा मेसो फेला परेको छैन।’ पौडेलले बिहीबार दाहालसँग भेट गरेका थिए।

नेम्बाङले पनि पार्टी टुटफुट हुन दिनुहुँदैन भन्नेमा दुवै अध्यक्ष देखिए पनि सहमतिको सूत्र भने फेला परिनसकेको बताए। ‘अध्यक्ष प्रचण्डले आउनुहोस् छलफल गरौं भनेर बोलाउनुभएको थियो। म पुगेँ। तर उहासँग विशेष केही कुराकानी हुन पाएन। उहाँको राष्ट्रपतिसँग भेट्न जाने कार्यक्रम सेडुअल जुधेछ। एकछिन बसियो। म तपाईंलाई फेरि बोलाउँछु। अलिक लामो समय लिएर बस्नुपर्छ भन्नुभयो। सायद फेरि बोलाउनुहुन्छ कि’, नेम्बाङले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अहिलेसम्म सहमतिका सन्दर्भमा केही जुटेको छैन। तर, उहाँले केही गर्नुपर्छ भन्ने छलफलमा मसँग भन्नुभएको छ। पार्टी टुटफुट हुन दिनु हुँदैन भन्ने कुरा उहाँले पनि भन्नुभएको छ। प्रधानमन्त्रीको पनि त्यही कुरा छ।’

दाहालले पार्टीभित्रको विवाद मिलाउन अब २६ भदौको सहमति पछि परिसकेको बताएका छन्। बिहीबार आफूलाई भेट्न आएका नेताहरूसँग दाहालले अब २६ भदौको सहमतिबाट मात्र सहमति नजुट्ने बताएका थिए। प्रधानमन्त्रीले सहमति तोडेको भन्दै उनले अब नयाँ शिराबाट सहमति खोजी गर्नुपर्ने बताएका थिए।

दाहालले अब पार्टी एकता गर्दा दुई अध्यक्षबीच भएको सहमतितिर फर्केर त्यसबाट नयाँ सहमति खोजी गर्नुपर्ने या पार्टी कमिटीको निर्णयलाई मानेर जानुपर्ने पक्षमा आफू रहेको नेताहरूसँगको छलफलका क्रममा बताएका थिए। ‘उहाँहरू टसमस हुनुहुन्न। अब २६ भदौको सहमतिबाटै समझदारी खोजी गर्ने कुरा नहुने देखियो’, स्थायी समिति सदस्य पौडेलले भने, ‘अब कि पार्टी एकता गर्दाको सहमति मान्नुपर्‍यो कि बैठकले जे निर्णय गर्छ त्यसलाई सबैले मानेर जानुपर्‍यो। यो मात्रै अब विकल्प देखिन थाल्यो।’

ओली पक्षले भने दुवै अध्यक्षले एक अर्काेलाई आरोप÷प्रत्यारोप लगाएको प्रस्ताव फिर्ता गर्ने या थाती राखेर नयाँ संयुक्त प्रस्ताव तयार पार्ने र भदौ २६ को सहमतिलाई ढृढतापूर्वक दुवै पक्षले मानेर जाने गरी सहमति खोजी गर्नुपर्ने अडान लिइरहेको छ। भदौ २६ मा दाहालले पार्टी र ओलीले सरकार सञ्चालन गर्ने तर एकआपसमा महत्वपूर्ण निर्णय गर्दा समन्वयमा अगाडि बढ्ने गरी कार्यविभाजन गरेर जाने समझदारी भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.