नेकपा विवाद स्थायी समितिमा

नेकपा विवाद स्थायी समितिमा

काठमाडौं : अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिबीच सत्तारुढ दल नेकपा सचिवालयले आइतबारका लागि स्थायी समिति बैठक तय गरेको छ। शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले ठोस प्रस्ताव, कार्यसूची र तयारीबिना स्थायी समिति बोलाउनुको अर्थ नहुने अडान राखेका थिए। साथै, बैठक बसेर निकाल्ने निष्कर्षबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग जिज्ञासा राखेका थिए।

प्रत्युत्तरमा दाहालले पूर्वनिर्धारित कार्यतालिकाअनुसारै आइतबार स्थायी समिति बैठक बस्ने बताए। दुवै अध्यक्षका यसअघिका प्रस्ताव छलफलमा लैजान र निष्कर्षमा पुग्न स्थायी समितिमा जानुपर्ने दाहालको भनाइ थियो। ‘पार्टीभित्रको संकट समाधान गर्न मैले पनि प्रस्ताव पेस गरेको छु। केपी कमरेडले पनि पेस गर्नुभएको छ। स्थायी समितिमा ती प्रस्तावमाथि छलफल गर्ने हो। भोलि (आइतबार) स्थायी समिति बैठक बोलाइसकेका छौं, पहिलेकै पूर्वनिर्धारित बैठक छ’, दाहालले बैठकमा भने, ‘स्थायी समिति बैठकमा जाऔं। प्रस्ताव बाँडौं। अध्ययन गर्न भनौं। त्यसपछि स्थायी समितिकै अनुमतिमा केही समय लिएर अनौपचारिक छलफल र गृहकार्य पनि गर्दै गरौंला।’

सचिवालयका एक सदस्यका अनुसार दाहालको प्रस्तावमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन जनाए। प्रधानमन्त्री ओलीले भने स्थायी समितिमा जान नेताहरूले गरेको हतारोका विषयमा आफू जानकार रहेको भन्दै आफ्नो राजीनामाका लागि समय खेर फालेर नबस्न आग्रह गरे।

‘के गर्न स्थायी समिति बैठक आवश्यक भयो ? महाधिवेशनको तयारीका लागि कि मलाई कू गर्न वा मेराविरुद्ध आरोपपत्र पास गर्नका लागि ?’ ओलीले सचिवालय बैठकमा व्यक्त गरेको धारणा उद्धृत गर्दै एक सदस्यले अन्नपूर्ण पोस्ट्सँग भने, ‘मेरो कुरा प्रस्ट छ। म दुईवटै पद छाड्दिनँ। अध्यक्ष पनि छाड्दिनँ। प्रधानमन्त्री पनि छाड्दिन। मलाई तपाईहरू यही दुवै पद छोडाउनु खोज्दै हुनुहुन्छ होइन ? म जानकार छु। जता जे–जे गरे पनि गर्नुस्। अध्यक्ष लिने भए महाधिवेशन कुर्नुस्। प्रधानमन्त्रीका लागि अर्काे चुनाव पर्खिनुसू। मेरो बटमलाइन यही हो।’
ओलीले पार्टीमा बल प्रयोग गर्ने काम नर्गन पनि दाहाल र नेपाललगायत नेतासँग आग्रह गरेका थिए। ‘तपार्इंहरू बल प्रयोग गर्न खोज्दै हुनुहुन्छ, त्यसो नगर्नुस्, यो पनि बल प्रयोगकै बैठक हो। यो विषयमा पनि म जानकार छु। तपाईंहरूको मेरो राजीनामा माग गर्ने तयारी पुगेको होला। पुगेको छ भने बैठक गर्नुस्। स्थायी समितिमा फेरि गालीगलौज सुन्ने र रत्यौली नाच्ने मलाई मन छैन’, ओलीले बैठकमा भने, ‘सचिवालयमै छलफल गरौं। संकटको समाधान निकाल्ने कोसिस निकालौं। स्थायी कमिटी किन बस्ने ? त्यसको तयारी खोइ, एजेन्डामा सहमति खोइ ? अहिले स्थायी समिति बस्दैन।’

उनले दाहालले पार्टीभित्र राखेको प्रस्ताव पार्टीभित्र छलफलका लागि योग्य नै नभएको पनि दोहोर्‍याएका थिए। ‘तपाईं (दाहाल)को लान्छनापत्र, आरोपपत्र नै हो। त्यो पार्टी कमिटीमा छलफलका निम्ति उपयुक्त छैन। अहिले पनि मेरो कुरो त्यही छ। त्यसलाई फिर्ता लिनुपर्छ, यसलाई लिएर स्थायी समितिमा लिएर जान सकिन्नँ,’ उनले भने।

दाहाल र नेपाल पक्षले भने स्थायी समितिमै अब छलफललाई लानुपर्ने अडान लिएका थिए। त्यसपछि बैठकले आइतबारका लागि पूर्वनिर्धारित समयमै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक राख्ने निर्णय लिएको हो। तर, यो निर्णय ओलीको असहमतिबीच पार्टीले लिएको हो। यद्यपि, यसमा ओलीले लिखित रूपमा फरक मत भने राखेका छैनन्।
दाहाल–नेपाल पक्षले भने यो प्रस्तावलाई स्थायी समिति हुँदै केन्द्रीय समितिसम्म लैजान चाहेको छ। स्थायी समितिमा अब बैठक बोलाउन माग गर्दै दाहालसहित वरिष्ठ नेता नेपाल, खनाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले ओलीलाई लेखेको अनुरोधपत्र, ओलीले लेखेको पत्र, दाहालले ओलीलाई लेखेको पत्र र दुवै अध्यक्षका प्रस्तावलाई स्थायी समतिमा छलफलका लागि लगिने भएको छ 

प्रवक्ता श्रेष्ठले अब दुवै अध्यक्षका प्रस्ताव स्थायी समितिमा लगेर छलफल गरेर सार्थक निष्कर्ष निकालिने बताए। ‘पूर्वनिर्धारित मंसिर २१ गते १ बजे स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकलाई निश्चित गर्दै उक्त बैठकमै अब पार्टीको संकट र त्यसको निवारण सन्दर्भमा छलफल गरेर निष्कर्ष निकाल्ने काम गरिनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी संकट निवारणका लागि पार्टीमा अहिलेसम्म प्रस्तुत भएका प्रस्ताव स्थायी कमिटीमा पेस भएर छलफल हुनेछ। दुई अध्यक्षबीच पनि छुट्टै छलफल भयो। छलफल स्वाभाविक रूपमा पार्टीभित्रको समस्या र समाधानका लागि नै केन्द्रित थियो। छलफलमै सबै समस्या समाधान सम्भव थिएन। र, निष्कर्ष निस्किसकेको छैन। तर, अध्यक्ष कमरेडहरूको बीचमा छलफलको क्रम पनि अगाडि बढ्नेछ। आवश्यक पर्‍यो भने स्थायी समितिको बीचमा पनि पार्टीका नेताबीच सचिवालयको अनौपचारिक, औपचारिक छलफल हुनेछ। र, सार्थक निष्कर्षका लागि अगाडि बढाइनेछ।’

ओलीले पार्टीभित्र समस्या आफूले ननिम्त्याएको बताएका थिए। उनले कर्णालीमा देखिएको पार्टी विवादका विषयमा पनि बोलेका थिए। भने, ‘कर्णालीमा तपाईंहरूले समस्या ल्याउनुभएको हो महिले होइन ? ’

ओली बोलेपछि वरिष्ठ नेता नेपालले उनको कार्यशैली अझै बदलिन नसकेको भन्दै आलोचना गरेका थिए। ‘कर्णालीमा गुटबन्दीका कारण समस्या आएको हो। सिनियरलाई माइनस गर्ने, त्यसमा तपार्इं (प्रधानमन्त्री)ले कति न्याय गर्नुभएको छ ? त्यही पुष्टि हुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले अन्नपूर्ण पोस्ट्सँग भने, ‘केन्द्रीय कमिटीमा भएको मान्छेलाई मन्त्री नबनाउने तर जिल्ला कमिटीमा रहेको र त्यसमाथि पनि व्यापारीलाई मन्त्री बनाउने काम भयो। यही हो तपाईंको न्याय ? माधव नेपालनिकट छन् भन्नेबित्तिकै सुरुदेखि नै सम्पूर्ण रूपमा दबाउने, पन्छाउने रणनीति अख्तियार गर्नुभयो। समस्या त्यसरी खडा भएको हो। त्यसकारण दुई अध्यक्षका मात्र कुरा होइन, यो पार्टीकै समस्या हो।’

नेपाल बोलेपछि ओलीले पनि जवाफ दिए। ‘तपाईंका कुरा खाली गुटका मान्छे यहाँ व्यवस्थापन भएन, उहाँ व्यवस्थापन भएन भन्ने मात्र सुनिन्छ। तपाईंले आफ्ना गुटका नेताहरूको नाम कहिले मलाई दिनुभयो ?’, ओलीले भने, ‘मैले सधैँ नेकपाको कुरा गरेको छु। तर, खालि तपाईं गुटको कुरा गर्नुहुन्छ। गुटकै कुरा गर्ने हो भने तपाईंका गुटका कसका लागि के गर्नुपर्ने हो ? नाम दिनुस्। त्यसरी नाम कहिले दिनुभयो ? ’

आफू नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न तयार रहेको ओलीको भनाइप्रति नेपालले कटाक्ष गरे।  ‘नेतृत्व हस्तान्तरण अहिले नै गर्नुस् न तपार्इंले। अहिले छोड्नुस, अनि अरुलाई पनि छोड्न आह्वान गर्नुस्। त्यसपछि क–कसले छोड्ने रहेछन् दाज्यौं’, नेपालले भने, ‘आफू नगर्ने अनि अरुलाई छोडौं भनेर आह्वान गर्न सुहाउँछ ? पहिले तपाईंले छाडेपछि मात्र आह्वान गर्न सुहाउँछ। आफू पदमा छँदासम्म कुर्सीमा पूरा समय बस्ने अनि पुस्तान्तरणको कुरा गर्ने ? यो ढाँटको कुरा हो। छलछामको कुरा हो।’
नेपाल, खनाल र गौतमले ओलीलाई समय चाहिएको हो भने पनि स्थायी समिति बैठक राखेर दुवै अध्यक्षका प्रस्ताव नेताहरूलाई अध्ययनका लागि बाँडेपछिको समय लिन आग्रह गरेका थिए । त्यसपछि झन् ओलीले आक्रोशित हँुदै भनेका थिए, ‘ ‘प्रचण्डजीको यो आरोपपत्र फिर्ता लिन मात्र मेरो कुरा हो। अब उतै (स्थायी समिति) जाने हो भने मलाई समय चाहिँदैन, केही पनि चाहिँदैन।’ दाहालले स्थायी समिति बैठक तोकिइसकेकाले त्यसलाई अन्देखा गर्नु नहुने बताएका थिए।

गौतमले जबज प्रधनमन्त्रीले छाडेको संकेत गरे। ‘जबज तपाईंले छाडेको होइन, राजनीतिक मस्यौदा कार्यदलमा तपाईंले छाडेको होइन ? महाधिवेशनमा तपाईंले नै होइन सहमतिमा गर्ने भनेको ? महाधिवेशन सहमतिमा भनेपछि जबज तपाईंले छाडेको भन्ने हँुदैन ? नेतृत्वमा सहमति गर्ने भन्ने भएपछि विचारमा पनि सहमति भएको होला नि त ?’ गौतमले ओलीसँग प्रश्न गरेका थिए।

उनले प्रधानमन्त्रीमाथि सुरुमा आफूले आरोप लगाएको पनि बताए। ‘आरोपपत्र त मैले लगाएको हो सुरुमा। सरकारको नेतृत्वमा आएको ७÷८ महिनाकै बीचमा दुवै पद छोड्नुस भनेर मैले भनेको हो। तपार्इं अयोग्य हुनुभयो भनेर पहिले मैले भनेको हो’, गौतमले भने।  

महासचिव विष्णु पौडेलले भने सचिवालयमा छलफल गरेर समस्या समाधान गर्न छाडेर स्थायी समितिमा विवाद लैजानु तन्काउने विषय मात्र भएको बताए। ‘सचिवालय असफल भएकै हो त ?’, महासचिव पौडेलले प्रशन गरे। उनले सचिवालयले समस्या समाधान गर्न नसक्ने हो भनेर नेताहरूले पहिले बताउनुपर्ने धारणा व्यक्त गरेका थिए।
महासचिवको त्यस्तो धारणामा नेपाल, खनाल र गौतमले आक्रोश पोखेका थिए। ‘कमिटीमा जाने भन्दैमा सचिवालय असफल भएको भन्ने हुन्छ र ? महासचिव भएर यस्तो बोल्दै हिँड्ने ?’, उनीहरूको आक्रोश थियो।  

म दुईवटै पद छाड्दिनँ। मलाई तपाईंहरू यही दुवै पद छोडाउन खोज्दै हुनुहुन्छ होइन ? जता जे–जे गरे पनि गर्नुस्। अध्यक्ष लिने भए महाधिवेशन कुर्नुस्। प्रधानमन्त्रीका लागि अर्काे चुनाव पर्खिनुस्। 
– केपी शर्मा ओली
 

स्थायी समिति बैठकमा जाऔं। प्रस्ताव बाँडौं। अध्ययन गर्न भनौं। त्यसपछि स्थायी समितिकै अनुमतिमा केही समय लिएर अनौपचारिक छलफल र गृहकार्य पनि गर्दै गरौंला। 
– पुष्पकमल दाहाल

सचिवालय बैठकअघि दुई अध्यक्ष ओली र दाहालबीच संवाद भएको थियो। कात्तिक २५ यता पार्टी बैठकबाहेक अन्य रूपमा यी दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन। २५ दिन लामो संवादहीनता तोड्दै दुवै अध्यक्षले सचिवालय बैठक अगाडि प्रधानमन्त्री निवास बालुवाटारमै करिब आधा घण्टा छलफल भएको थियो।

ओलीले उक्त छलफलमा पनि दाहाललाई आफूले कुनै पनि हालतमा दुवै पद नछाड्ने भन्दै सक्दा आफूलाई कारवाही गरेर देखाउन चेतावनी दिएका थिए। दाहालले कात्तिक २८ गते ओलीलाई आरोपित गर्दै १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए। जसलाई ओली र उनी पक्षका नेताले आरोपत्रको संज्ञा दिइरहेका छन्। त्यसपछि ३ मंसिरमा बसेको सचिवालयमा ओलीले पनि लिखित रूपमा जवाफ दिने भन्दै १० दिन समय पाएका थिए। उनले १३ मंसिरमा ३८ पृष्ठको प्रस्ताव सचिवालय बैठकमा पेस गरेका थिए। शनिबारको सचिवालयले स्थायी समितिमा दुवै प्रस्ताव लाने भनेपछि बैठकमा ओलीको सहभागिताका विषयमा भने अन्योल छ। ओलीनिकट एक नेताले भने, ‘उहाँ बैठकमा जाने÷नजाने र यसै हुन्छ भन्नेमा अहिले नै भन्न सकिन्न।‘

थापाको बेग्लै प्रस्ताव !
विवाद समाधानका लागि गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामवहादुर थापाले भने बेग्लै प्रस्ताव गरेका थिए। उनले दुवै अध्यक्षका प्रस्तावबाट मिलाएर साझा प्रस्ताव तयार पार्ने र त्यसरी तयार हुने प्रस्तावलाई मात्र स्थायी समिति बैठकमा लिएर जानुपर्ने प्रस्ताव गरेका थिए।

उनले त्यसका लागि ३ सदस्यीय कार्यदल बनाउन पनि प्रस्ताव गरेका थिए । ‘दुवै प्रस्तावलाई साझा मिल्न सक्नेसम्म मिलाएर एउटै प्रस्ताव बनाई स्थायी कमिटीमा लैजाऔं। त्यसका लागि दुई अध्यक्षले सक्नुभएन। उहाँहरूका आ–आफ्नै मत छन्, प्रस्ताव एक गर्न उहाँहरूबाट अब सम्भव पनि देखिएन। सचिवालयले आएका दुवै प्रस्तावलाई एउटै बनाउनका लागि ३ सदस्यीय एउटा कार्यदल बनाऔं’, थापाले बैठकमा भनेका थिए, ‘त्यो कार्यदलले दुवै प्रस्तावको साझा प्रस्ताव तयार पार्ने काम गरौं। सचिवालयले यसरी जाँदा राम्रो होला। पार्टीभित्रको संकट समाधान गर्न मद्दत पनि पुग्ला। पार्टीमा आरोप प्रत्यारोप मात्र लगाउने गरी जाने हो भने त्यसले पार्टी विभाजन निम्त्याउन सक्छ। एकता जोगाउन यसरी जाँदा राम्रो हुन्छ भन्ने यो मेरो प्रस्ताव हो।’

महासचिव पौडेल, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमनत्री ओलीले त्यसमा समर्थन जनाएका थिए। दाहाल, नेपाल, खनाल, गौतम र श्रेष्ठले भने त्यसमा सहमति जनाएनन्। ‘अहिले सचिवालयमा कार्यदल बनाउने भन्नेतिर  नअल्झिउँ, सचिवालयमा आएका दुवै प्रस्ताव हामी दुई जनाका आ–आफ्ना रहे। यसलाई स्थायी समिति बैठकमा लैजाऔं, त्यहीँबाट छलफल गरौं। जे हुन्छ त्यहीँबाट निकास निकाल्नेतिर जाऔं। त्यहाँ जाँदा कार्यदल बनाउने कुरा आए, त्यहीँ कुरा गरौंला, अहिले सचिवालयमा कार्यदल बनाउनेतिर जाने कुरा नगरौं। स्थायी समितिमा दुवै प्रस्ताव लगेर छलफल गरौं,’ दाहालले थापाको प्रस्तावमा असहमति जनाउँदै भने।

ओलीले भने थापाको प्रस्तावमा समर्थन गर्दै भनेका थिए, ‘मैले साझा प्रस्ताव तयारी नगरी स्थायी समितिमा जानेका कुरा गर्नु हुँदैन भन्ने तर्क गदै आएको छु। गृहमन्त्रीजीको कार्यदल बनाउने कुरा पनि राम्रो प्रस्ताव आयो। ३ सदस्यीय बनाउने कुरा पनि सही छ। उपाध्यक्ष वामदेव कमरेडको नेतृत्वमा बनाऔं। बादलजी र महासचिव रहेको कार्यदल बनाएर लैजाऔं। उहाँहरूले साझा प्रस्ताव बनाएपछि, सहमतिका लागि खाका कोरेपछि त्यसलाई सचिवालयमा छलफल गरेर मात्रै स्थायी समिति बैठकमा जाऔंला।’
धेरैजसो नेताले सचिवालयमा कार्यदल बनाउनेभन्दा पनि दुवै प्रस्ताव स्थायी समितिमा लैजाने र त्यहीँ छलफल गर्नुपर्ने भनाइ राखेपछि थापाले गरेको प्रस्ताव अनुसारको कार्यदल गठन सचिवालय बैठकबाट हुन सकेन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.