क्रान्तिका नाममा बर्बरता स्वीकार्य हुँदैन : मन्त्री ज्ञवाली
बुटवल : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले क्रान्तिका नाममा मानवमाथिको बर्बरतापूर्ण हत्या स्वीकार्य नहुने बताएका छन्। मुलुकलाई पुन: आशान्तितर्फ धकेल्न केही समूह लागेको भन्दै उनले नेपाली जनताले त्यसलाई स्वीकार गर्न नसक्ने बताए।
‘एउटा सामान्य परिवारका शिक्षकको बर्बरतापूर्ण हत्या गरिएको छ। नेपालमा हिंसाको राजनीति सम्भव छैन’, उनले भने, ‘यस्ता घटनाहरु सरकारले निस्तेज पार्छ।’
मोरङमा विप्लव समूहले गरेको शिक्षकको हत्याको उनले कडा निन्दा गरे। लुम्बिनी बौद्ध विश्वविद्यालयले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बिहीबार बुटवलमा आयोजना गरेको बौद्ध दर्शन र मानवअधिकार विषयक गोष्ठीको भर्चुअल उद्घाटन गर्दै मन्त्री ज्ञवालीले राजनीतिक संगठनको नाममा क्रुर मानवअधिकार उलंघनको घटना घटाइएको बताए।
मन्त्री ज्ञवालीले बुद्ध शिक्षाको अवलम्बन गर्दै विश्वलाई नै निशस्त्र बनाउने अभियान जरुरी रहेको बताए। विश्वमा हतियारकै खरिद विक्रीमा अर्बौ रकम खर्च हुने गरेको भन्दै उनले त्यो रकमलाई गरिबी निवारण र स्वास्थ्य सुरक्षा प्रत्याभूतिमा खर्च गर्न आवश्यक रहेको बताए।
‘अहिले कोरोना भाइरसविरुद्धको खोप जुटाउन कम विकसित मुलुकलाई ठूलो चुनौती छ। तर ठूला राष्ट्रहरुले हतियारमै अर्बौ खर्चिरहेका छन्’, उनले भने। अतिवादलाई त्यागेर हतियारको शक्तिको दौड रोक्नुपर्ने उनले बताए।
नेपाली जनताहरु शान्ति र समृद्धिको पक्षमा रहेको मन्त्री ज्ञवालीले बताए। मुलुकलाई अशान्ततर्फ धकेल्ने प्रयास सफल नहुने बताए। शान्ति र अंहिसाको शिक्षा दिने बुद्धकै मुलुकमा यस्ता घटना स्वीकार्य नहुने भन्दै सरकारले त्यस्ता क्रियाकलाप निस्तेज पार्ने बताए।
मानवअधिकारका पूर्ण प्रत्याभूति दिलाउन सरकार लागिरहेको भन्दै कतिपय चुनौतिहरु काम रहेको उनले बताए। ‘विकास र सुशासनसँग जोडेर मानवअधिकारका व्यवस्थाहरु कार्यान्वयन भइरहेका छन्’, उनले भने। उनले परराष्ट्र नीति निर्माणमा समेत बौद्ध दर्शनलाई आत्मसाथ गरिएको बताए।
सो अवसरमा मानवअधिकार आयोगकका पूर्वसदस्य सुशील प्याकुरेल, बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य, रजिष्ट्रार डा. तिलक आचार्यले बौद्ध दर्शन र मानवअधिकारको विषयमा धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस !