दाहाल–नेपाल समूह भेला : समीकरण तलसम्मै पुर्‍याइने

दाहाल–नेपाल समूह भेला : समीकरण तलसम्मै पुर्‍याइने

काठमाडौं : सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समीकरणलाई तल्लो तहसम्मै लैजाने तयारी गरेका छन्। अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरसंघर्ष चर्किएपछि दाहाल र नेपालले आफ्ना कुरा सातै प्रदेशसम्म लैजान थालेका हुन्।

उनीहरूले जिल्ला संगठन समितिका सचिवसम्मलाई भेला गराई प्रशिक्षण अभियान चलाउने निष्कर्ष निकालेका छन्। त्यही क्रममा बिहीबार काठमाडौंमा उनीहरूले वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लाका आफूनिकट इन्चार्ज, अध्यक्ष र सचिवसम्मको भेला गरेका छन्। पेरिसडाँडा कोटेश्वरस्थित जनवर्गीय संगठनहरूको सम्र्पक कार्यालयमा भएको भेलामा करिब ५० जना जिल्ला नेता सहभागी थिए। दाहाल र नेपालले झन्डै चार घण्टा पार्टीको विवाद, दुवै अध्यक्षका प्रस्ताव, अबको रणनीतिलगायत विषयमा प्रशिक्षण दिएका थिए। उनीहरूले प्रधानमन्त्री ओलीसँग कुनै पनि प्रकारको सम्झौता नगरिने, अहिलेको अन्तरसंघर्ष वैचारिक राजनीतिक भएको भन्दै यसलाई तल्लो तहसम्मै छलफलमा लैजाने बताएका थिए।

उनीहरूले अब आफूहरूबीच कसैले पनि फाटो ल्याउन नसक्ने बताएका थिए। ओलीले बुधबार दाहालसँगको भेटमा नेपालसँगको समीकरण तोडेर आफूसँग मिल्न प्रस्ताव गरेका थिए। ‘उहाँको काम नै तोड्ने भत्काउने र आफू रजाइँ गर्ने मात्र हो’, दाहाल र नेपालको एउटै स्वर थियो, ‘अब उहाँको यस्तो भ्रमजालमा हामी दुवै नेता छैनौं।’ 

उनीहरूले एक्लाएक्लै ब्रिफिङ गर्दा दुई नेताको सम्बन्ध भोलिका दिन के होला भन्ने आशंका उठ्न सक्ने भएकोले सँगै जिल्ला नेताहरूलाई पार्टीको अवस्थाबारे ब्रिफिङ गर्न खोजिएको बताएका थिए। ‘हामी दुई नेता (प्रचण्ड, माधव नेपाल)को समीकरण दीर्घकालीन रूपमा स्ट्रोङ (बलियो) भएर अगाडि बढ्छ, यसलाई कसैले फुटाउन सक्दैन। हामीलाई फुटाउने प्रधानमन्त्रीले कोसिस गरेकै हुन्। तर अब त्यो सम्भव छैन। हामीबीच समीकरण मात्र बनेको होइन, विचार समूहकै रूपमा स्थापित भइसकेका छौं’, दाहाल र नेपालको भनाइ उद्धृत गर्दै भेलामा सहभागी केन्द्रीय सदस्य कुमार पौडेलले अन्नपूर्ण पोस्ट्सँग भने।

उनीहरूले सचिवालयमा दाहालका नाममा पेस भएको प्रस्ताव बहुमत सचिवालय सदस्यको सामूहिक दस्तावेज भएको पनि बताएका थिए। ‘अहिले आएको दस्तावेज सामूहिक हो। यसलाई सामूहिक रूपमा डाफ्ट गरेरै बनाएको हो। त्यो सम्पत्ति हो। त्यो संस्थागत हो। अब यो प्रचण्ड, माधव नेपालले चाहेर फिर्ता हुने स्थिति छैन। सामूहिक दस्तावेजलाई सामूहिक रूपमा लैजानुपर्छ। प्रस्तावमा विशेषगरी कमरेड केपी ओलीको प्रवृत्तिको किटान गरिएको हो’, नेपालले भनेका थिए । प्रधानमन्त्रीले पार्टी एकतालाई सरकारमा पुग्ने भर्‍याङ बनाउन ट्याक्टिसका रूपमा प्रयोग मात्र गरेको आरोप दाहालले लगाएका थिए। ‘पार्टी एकतालाई ट्याक्टिसका रूपमा मात्रै उहाँ (प्रधानमन्त्री) ले प्रयोग गर्न खोज्नु भएको रहेछ। साँच्चै नै नेपालमा समाजवाद स्थापना गर्ने उद्देश्यले उहाँले एकता चाहेको होइन रहेछ। खाली 

आफ्नो पदका लागि मात्र रहेछ। अब हामी एजेन्डाको रक्षाका लागि एक ठाउँमा उभिएर अगाडि बढ्छौं’, दाहालले भने। उनले नेपाल र आफूबीचको एकता बलियो वैचारिक राजनीतिक जगमा उभिएर भएको भन्दै कसैलाई पनि विचलित नहुन आग्रह गरेका थिए। नेपालले पनि अब दाहालसँगको आफ्नो एकता नटुट्ने बताए।

‘अहिले हामीबीच समीकरण होइन, विचार समूह निर्माण भएको छ। यसलाई सुदृढ गरेर अगाडि बढौं। देशव्यापी रूपमा ग्राउन्डसम्म यो समूहको बहुमत छ। उताको (प्रधानमन्त्री) त्यो छैन। धम्काउने मात्र छ,’ नेपालले भने, ‘पहिले हामीले तलैसम्म वैचारिक बहस चलाएनौं। उहाँहरूले जस्तो तलसम्म आफ्नो कुरा लिएर गएनौं। तर, उहाँहरूले तलसम्मै लैजाने काम गर्नु भएको छ। हामी भर्खर सुरुआत गर्न खोज्दैछौं, अब जानुपर्छ भन्ने लागेर। अब तलसम्म जानुपर्छ।’

दुवै नेताले प्रधानमन्त्री ओली अब पार्टी बैठक छलेर दायाँबायाँ हिँड्न नसक्ने दाबी गरे। ओली पार्टी बैठकमा नआए पनि २८ मंसिरको स्थायी समिति बैठक नरोकिने र आवश्यक परे पार्टी विधानमा व्यवस्था रहेको बहुमत अल्पमतकै आधारमा भए पनि निर्णय गरेर जाने पनि उनीहरूको भनाइ थियो। केन्द्रीय सदस्य हिमाल शर्माले पार्टीमा दुई दस्तावेज आएपछि त्यसबारे अध्यक्ष दाहाल र वरिष्ठ नेता  नेपाललाई एकै ठाउँमा राखेर विषयवस्तुबारे जानकारी गराउन आग्रह गरेको उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.