क्रसरमार्फत अवैध कारोबार
![क्रसरमार्फत अवैध कारोबार](https://annapurnapost.prixacdn.net/media/albums/crossor_20201227015331_xhzCL7EjBy.jpg)
बेनी : नदी दोहनमा संलग्न गिरोहले म्याग्दीमा विकास आयोजनामार्फत बगर उत्खनन र चोरी निकासी सुरु गरेका छन्। आयोजनाले सञ्चालन गरेका अस्थायी क्रसरमार्फत अवैध कारोबार हुन थालेको हो।
गृह मन्त्रालयको गत महिनाको परिपत्रपछि प्रशासनले कडाइ गरेपछि स्थायी रूपमा खोलिएका कतिपय क्रसर बन्द छन्। कोरोना जोखिम, लकडाउन, पहिरो, बाढी जस्ता कारणले विकास आयोजनामा ढिलासुस्ती भएको छ। सोही मौका छोपेर नदीजन्य वस्तुको व्यापार सुरु भएको हो। मंसिर २४ गते बेनी नगरपालिका(९ गलेश्वरमा बिक्रीका लागि ल्याइएको बालुवासहित ना. ८ ख ४२०८ र ना. ८ ख ४२०७ नम्बरको टिपर सशस्त्र प्रहरीले नियन्त्रणमा लियो।
गलेश्वरस्थित आश्रित गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङका अनुसार दुवै टिपर बेनी–जोमसोम–कोरला सडक आयोजनाको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनका हुन्। ओमकारेश्वर राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेडको सहायक ठेकेदार हो। मुख्य ठेकेदार शर्मा–युनाइटेडले रघुगंगा गाउँपालिका–१ बेगखोलामा दुई वर्षदेखि अस्थायी क्रसर उद्योग सञ्चालन गरेको छ।
आयोजनाभन्दा अन्य प्रयोजनका लागि बालुवा बिक्री गरेको पुष्टि भएपछि जिल्ला अनुगमन समितिले ओमकारेश्वरलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। जफत गरिएको बालुवा बढीबढाउमा बेच्न गाउँपालिकालाई जिम्मा लगाउने निर्णय भएको जिसस प्रमुख देवेन्द्र केसीले बताए। युनाइटेडको अस्थायी क्रसरभन्दा करिब तीन किलोमिटर तल रघुगंगा गाउँपालिका–२ स्याउली बजार भन्ने ठाउँमा अर्को क्रसर उद्योग खोल्न जग्गा सम्याउने काम भइरहेको छ। कसले के प्रयोजनका लागि क्रसर स्थापना गर्न खोजेको हो भन्ने स्पष्ट नभएको वडाध्यक्ष रिम कटुवालले बताए।
कालीगण्डकी नदी किनारको निजी जग्गामा क्रसर उद्योगका संरचना बन्न थालेपछि स्थानीयले विरोध जनाउँदै वडा, गाउँपालिका, जिल्ला समन्वय समिति र प्रशासनमा जानकारी गराएका छन्। स्याउलीबजार नजिकको बैसरीका बासिन्दा भीमबहादुर कार्कीले सडक मापदण्डविपरीत सामुदायिक वन मास्ने र वातावरणलाई असर पुग्ने क्रसर खोल्न लागिएकोमा आपत्ति जनाए। ‘गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजनाका लागि अस्थायी क्रसर खोल्न लागिएको भनियो’, उनले भने, ‘तर सम्बन्धित कार्यालय, ठेकेदार, वडामा बुझ्दा अनुमति नलिएको र क्षेत्राधिकारमा नपर्ने जवाफ पाएका छौं।’
राष्ट्रिय गौरव र महत्वका जलविद्युत्, सडक आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री आपूर्तिका लागि प्रभावित क्षेत्रमै क्रसर खोल्न पाएको सुविधा ठेकेदारले दुरुपयोग गरेका हुन्। ‘विकास निर्माणका काम समयमै सक्न निर्माण सामग्री आपूर्तिका लागि सहज होस् भनेर अस्थायी क्रसर खोल्ने सुविधा दिइएको हो,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘आयोजनाको नाममा अस्थायी क्रसर खोलेर नदीजन्य वस्तुको अवैध व्यापार हुन थालेपछि नियमन र निगरानी बढाएका छांै।’
अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा मिस्ट्रीखोला, घलेम्दीखोला र नीलगिरि खोला जलविद्युत् आयोजनाका लागि बेँसीगाउँ नजिक पाँच वर्षदेखि क्रसर सञ्चालन भइरहेको छ। मिस्ट्री र घलेम्दी जलविद्युत् आयोजनाको निर्माण सकिए पनि क्रसर बन्द नभएको स्थानीयले बताएका छन्। घारखोला जलविद्युत् आयोजनाको ठेकेदारले अन्नपूर्ण गाउँपालिका–६ कुरिलाबगरमा क्रसर उद्योग सञ्चालन गरेको छ।
त्यसैगरी बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीले अन्नपूर्ण गाउँपालिका–३ दानामा अस्थायी क्रसर उद्योग खोल्ने तयारी गरेको छ। राहुघाट जलविद्युत् आयोजनाको ठेकेदार जयप्रकाश एसोसियट्सले रघुगंगा गाउँपालिका–३ चमेरे र बगैंचामा दुईवटा अस्थायी क्रसर चलाएको छ।
बेनी–दरवाङ सडक आयोजनाको पहिलो प्याकेजको ठेकेदार लामा(समानान्तर जेभीले बेनी नगरपालिका–४ सिंगामा अस्थायी क्रसरको संरचना तयार पारेको छ। घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको बेनी नगरपालिका(५ बगुवाखोलास्थित जिसी क्रसर उद्योग पनि कानुन बाझिएपछि नवीकरण हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)