गोठालालाई मोबाइल चलाउने तालिम
गोरखा : गोरखाको दुर्गम धार्चे गाउँपालिकाले गोठमा बस्ने गोठालालाई मोबाइल चलाउन सिकाउने भएको छ। आइतबार सम्पन्न हिउँदे सभाले गोठालालाई एन्ड्रोइड मोबाइल चलाउन सिकाउने कार्यक्रम पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।
‘हाम्रो गाउँपालिकामा सधंै गोठमा बस्ने अनपढ गोठालाको संख्या धेरै छ। यो डिजिटल जमानामा उनीहरू मोबाइल चलाउन पनि जान्दैनन्, त्यसैले गाउँपालिकाले मोबाइल चलाउन सिकाउने कार्यक्रम पारित गरेको हो’, अध्यक्ष गुरुङले भने, ‘गाउँपालिकामा कार्यरत सूचना प्रविधि शाखाका कर्मचारी परिचालन गरी वडावडामा मोबाइल चलाउन सिकाउने कार्यक्रम गर्नेछौँ।
पहिलो वर्ष एउटा वडाका एक सय जनाका दरले सातवटा वडाका सात सय जनालाई मोबाइल चलाउन तालिम दिने हाम्रो लक्ष्य हो।’ लेकको गोठबेसी झरेको मौका पारेर आउँदो माघ, फागुन महिनामा तालिम सञ्चालन गर्ने उनले बताए।
दोस्रो चरणमा गोठालाबाहेक अनपढ अरू गाउँपालिकावासीलाई पनि मोबाइल चलाउन सिकाउने कार्यक्रम रहेको उनले बताए। ‘डिजिटल धार्चे अवधारणाअनुसार गाउँका अनपढ, अशिक्षितलाई मोबाइल चलाउन र अनपढ जनप्रतिनिधिलाई इमेल, इन्टरनेट चलाउन तालिम सञ्चालन गर्छौं’, अध्यक्ष गुरुङले भने, ‘यो कार्यक्रम सञ्चालन गर्न खासै धेरै खर्च पनि हुँदैन। ’
आफू गाउँघर चाहार्ने क्रममा अनपढ सर्वसाधारणले मोबाइल चलाउन नजानेर दुःख पाएको देखेपछि सो कार्यक्रमको खाँचो महसुस गरेको अध्यक्ष गुरुङले बताए। ‘म घरदैलोमा गाउँमा जाँदा बूढाबूढी मैले मोबाइल चलाए लाजमानी मानी हेरेको देखेँ। अनि मोबाइल चलाउन जान्न पाए देश, विदेशमा रहेका छोराछोरीसँग भिडियोमा कुराकानी गर्न पाइन्थ्यो भनेको पनि सुनेँ।
त्यसैले यो कार्यक्रम गर्ने योजना गरेको हुँ’, अध्यक्ष गुरुङले भने, ‘छोराछोरी विदेशमा छन्। घरमा बूढाबूढी मात्र छन्। मोबाइल चलाउन जान्नु उनीहरूका लागि धेरै उपयोगी हुन्छ। मोबाइल चलाउन जाने भने गोठमा बस्नेहरूले पनि फोटो भिडियो खिच्न, युट्युब, सामाजिक सञ्जाल चलाएर मनोरञ्जन गर्न पाउँछन्।’ गाउँघर, कुना कन्दरा, लेक, खर्कमा बसेकालाई प्रविधिसँग परिचित गराई देश, दुनियाँ चिनाउनु जनप्रतिनिधिको कर्तव्य रहेको उनले बताए।
साथै डिजिटल धार्चेको अवधारणा अनुसार बैंकबाट वृद्धभत्ता लिने, मोबाइल बैंकिङ सिकाउने, मनी ट्रान्सफर, इलेक्टोनिक भौचर, स्थानीय स्तरमा उत्पादित सामान अनलाइनबाट किनबेच गर्ने प्रविधिको विकासका लागि गृहकार्य भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !