पुतली गुरुङको मृत्युको घटना रहस्यमै
गोरखा : गोरखाको दुर्गम उहिया गाउँकी एक महिलाको चार दिनअघि भएको मृत्युको घटनाको रहस्य अझै खुल्न सकेको छैन। धार्चे गाउँपालिका-३ उहिया माथिल्लो गाउँकी ५१ वर्षीया पुतली गुरुङको मृत्युको रहस्य गत बिहीबारदेखि अहिलेसम्म रहस्यकै गर्भमा रहेको हो।
घरभित्रै झुण्डिएको अवस्थामा भेटिएको उनको शरीरभर चोटपटक देखिएपछि घटना रहस्यमय बनेको वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए।
‘गत पुसको १६ गते साँझ साँढे ५ बजे उनको छोरी जेनी घलेले आमाको शव घरभित्र दलिनमा झुण्डिरहेको फेला पारिन्। अनुहार र शरीरभर चोटपटक देखेपछि यो आत्महत्या हुनै सक्दैन भनेर गाउँलेले प्रहरीलाई खबर गरेका छन्’, अध्यक्ष गुरुङले भने, ‘अहिले शवको पोष्टपार्टम गरेर अन्त्येष्टि पनि भइसकेको छ। तर पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन।’
श्रीमान पुनमान घलेको कुटपिटबाट मृत्यु भएको दाबीसहित मृतकका माइती पक्ष प्रहरी कार्यालयमा जाहेरी दिन गएका उनले बताए।
मृतकका माइती पक्ष र श्रीमान पुनमान घले प्रहरीको सम्पर्कमा आएका डिएसपी वासुदेव खतिवडाले बताए। ‘उहाँहरु दुवै पक्ष हाम्रो सम्पर्कमा आउनु भएको छ तर जाहेरी भने आइसकेको छैन’, डिएसपी खतिवडाले भने।
घले दम्पत्तिको यसअघि पनि पटकपटक झैझगडा र कुटपिट हुने गरेको स्थानीयबासीको भनाइ छ।
उहिया गोरखा सदरमुकामबाट दुई दिन पैदल हिडेपछि पुगिने ठाउँ हो।
प्रतिक्रिया दिनुहोस !