चुम स्याग्या : अ स्ट्रेन्ज स्पेस

चुम स्याग्या : अ स्ट्रेन्ज स्पेस

एउटा त्यस्तो गाउँ जहाँ कुखुरा, हाँस, परेवा पालिएको छैन। जहाँ भेडा, बाख्रा, सुँगुर, बंगुर पालिएको छैन। त्यस्तो गाउँ जहाँ मौरी पालिँदैन। जहाँ एउटा बाली भित्र्याइसकेपछि अर्को बाली लगाउनुअघि सरसफाइ गर्न जहाँ किसानहरूले खेतबारीमा घस्यौटा पोल्दैनन्। घाँसका लागि, मलका लागि भन्दै जहाँ किसानले वनजंगलमा डढेलो लगाउँदैनन्।

शान्तिका लागि मासुजन्य पशुपक्षी नपालिने त्यो अनौठो ठाउँ हो, उत्तरी गोरखाको चुम उपत्यका। यो एउटा त्यस्तो उपत्यका हो, जहाँ गौतम बुद्धका पञ्चशीलमध्येको प्रमुख अहिंसाको शील पूर्ण रूपमा कार्यान्वयन गरिएको छ। गौतम वुद्धको पञ्चशीलमा प्राणी हिंसा गर्नु हुँदैन, चोरी गर्नु हँुदैन, व्यभिचार गर्नु हँुदैन, झुटो बोल्नु हँुदैन र मादक पदार्थ सेवन गर्नु हँुदैन भन्ने उल्लेख छ। शतप्रतिशत बुद्धमार्गीको बसोबास रहेको चुम उपत्यका गोरखा सदरमुकामबाट ५० कोश टाढा तिब्बतसँग सीमा जोडिएको अन्तिम गाउँ पनि हो।

औतारी लामा ढुक्पा रिम्पोछे सेराप दोर्जेले विक्रम संवत् १९७७ मा सो उपत्यकालाई बुँदागत रूपमा अहिंसा क्षेत्र (स्याग्या) घोषणा गरेका थिए। सम्बोता लिपिमा लेखिएका ती बुँदाहरूमा यी कुराहरू उल्लेख थिए :

१. कुनै पनि जीवन जनावरलाई काटमार नगर्ने, 
२. सिकार नखेल्ने,
३. मह नकाढ्ने,
४. डढेलो नलगाउने,
५. मासु खाने उद्देश्यले पशु चौपायाको किनबेच निषेध गर्ने,
६. प्रवेश निषेध (काटमारका लागि सो उपत्यकाको बाटो प्रयोग गरी पशु चौपाया ओसारपसार निषेध)।

यी बुँदा उल्लंघन गरेमा पाँच सय रुपैयाँ जरिवाना गर्ने र एक हजारपटक मन्त्र जप गर्नुपर्ने औतारी लामाले त्यति बेला स्थानीय बासिन्दालाई प्रतिबद्ध गराएका थिए। अहिंसा (स्याग्या) उपत्यका घोषणा गरेको अहिले एक सय वर्ष पूरा भएको छ।

अहिंसासम्बन्धी ती बुँदालाई ढुक्पा रिम्पोछेले सन् १९९६ मा विस्तृत रूपमा दस्तावेजीकरण गरेका थिए। उनकै अर्काे अवतारका रूपमा रहेका ढुक्पा रिम्पोछे ङवाङ खेन्रापले २०२७ सालमा अहिंसासम्बन्धी बुँदाहरू नवीकरण गरी सम्बोता लिपिमा नै पुनर्लेखन गरे। ती बुँदाहरूलाई लोभोन छेंजु रिम्पोछेले २०२९ सालमा पहिलो पटक देवनागरी लिपिमा अनुवाद गरी सार्वजनिक गरेका छेकम्पार गाविसका पूर्वअध्यक्ष तथा चुम कल्याण समितिका अध्यक्ष निमा लामाको भनाइ छ।

निमाको नेतृत्वमा २०६५ सालमा अहिंसा क्षेत्रलाई चार किल्ला निर्धारण गर्ने काम भयो। तिब्बतको सिमाना मुलाढाजेन र थाप्ला नाकाभन्दा तल र लोक्पाभन्दा माथिका साविक चुम्चेत गाविस र छेकम्पार गाविसलाई अहिंसा क्षेत्र भनेर चार किल्ला निर्धारण गरेको लामा बताउँछन्। राजेन गुम्बाका औतारी लामा ढुक्पा रिम्पोछे ङ्वाङ खेन्रापले २०६६ सालमा पुनः निर्धारित क्षेत्रका बासिन्दालाई ती बुँदाहरूमा प्रतिबद्ध गराउने काम गरे।

त्यसलाई अझै सशक्त बनाउन २०६८ सालको गाउँसभाबाट पारित गरी २०६९ वैशाख १३, १४ र १५ गते चुम स्याग्या (अहिंसा) महोत्सव नै आयोजना गरियो। महोत्सवमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको रोहबरमा चुम उपत्यकाभरिका बासिन्दा भेला भई अहिंसा उपत्यका बनाउन हस्ताक्षर गरेका थिए। त्यसकै प्रभावका कारण चुम उपत्यकामा अहिलेसम्म पनि कुनै प्राणी काटमार गर्दैनन्। वनजंगलमा सिकार खेल्दैनन्। सहस्र प्राणीको संहार हुने भएकाले चुम उपत्यकाका बासिन्दा डढेलो पनि लगाउँदैनन्।

स्याग्या नियम उल्लंघन गर्नेले ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ। गुम्बामा गएर एक हजारवटा बत्ती बालेर मूर्तिलाई एक हजार पटक नै ढोगेर माफी पनि माग्नुपर्छ। यो नियम चुम उपत्यकामा कामविशेषले जाने पर्यटक, सरकारी, गैरसरकारी कर्मचारी, प्रहरी सबैले पालना गर्नुपर्ने व्यवस्था छ।

चुम उपत्यकामा पर्ने चुमनुब्री गाउँपालिका–६ को दुई सय ७० घरधुरी र वडा नं. ७ को दुई सय ६५ घरधुरीले मासु खाने प्रयोजनका लागि भेडा, बाख्रा, कुखुरा, हाँसलगायतका पशुपक्षी पनि पाल्दैनन्। मह काढ्दा पनि मौरीको बासस्थान मासिन्छ, धेरै मौरी मर्छन् भनेर उनीहरू घरमा मौरी पालन पनि गर्दैनन्। भीरमौरीको मह पनि नकाढ्ने वडा नं. ७ का वडाध्यक्ष पासाङ फुन्जो लामा स्पष्ट पार्छन्। उनका अनुसार डढेलोमा परी धेरै प्राणीको नाश हुन्छ भनेर यहाँका बासिन्दा वनजंगल, चरिचरन क्षेत्रमा डढेलो लगाउँदैनन्। बाच्छा जन्मे पनि बाच्छी जन्मे पनि अरू ठाउँमा जस्तो यहाँ चांैरीको बच्चा फाल्ने चलन नरहेको उनी बताउँछन्।

अन्यत्रको भन्दा अर्को नौलो नियम पनि यहाँ प्रचलित छ। खेतीबाली खान र विनाश गर्न आउने जंगली जनावरलाई यहाँ ढुंगामुढा गरेर लखेट्ने काम पनि यहाँका बासिन्दाले गर्दैनन्। बरु बर्सेनि गाउँपालिकाको बजेट खर्च गरी खेतीबाली जोगाउन पर्खाल वा तारबारले बारबन्देज गर्ने गरेका छन्।
तल्लो भेगका पशुपक्षी काटमार गर्ने उद्देश्यले चुम उपत्यकाको बाटो प्रयोग गरेर तिब्बत लान वा तिब्बतबाट तल्लो भेगतर्फ ल्याउनसमेत निषेध गरिएको छ। खाङ्सार लाप्राङ लामा पासाङ फुञ्जोका अनुसार लुकिछिपी काटमार हुन सक्ने हुनाले चौंरी किनबेच गर्न नपाउने नियम चुम उपत्यकामा छ।

सय वर्ष अघिदेखि चल्दै आएको स्याग्या (अहिंसा) संस्कृतिलाई सरकारी तहबाट विधिवत् र संस्थागत बनाउन जिल्ला प्रशासन कार्यालयमा दर्तासमेत गरिएको छ। ‘सय वर्षदेखि चल्दै आएको स्याक्यासम्बन्धी नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने व्यवस्था छ। त्यो व्यवस्थाअनुसार कारबाही गर्दा आपसमा असमझदारी भयो र सरकारी आधिकारिकता खोज्यो भने त असजिलो अवस्था आउन सक्छ भनेर हामीले स्याक्या विधानलाई प्रशासन कार्यालयमा दर्ता गरेर आधिकारिक बनाएका छौं’, निमा लामा भन्छन्। राजेन गुम्बाका डुक्पा रिम्पोछे, म्हु गुम्बाका मुख्य लामा, लाप्राङ लामाहरू हिसे घ्याम्जो, लामा पासाङ, छेवाङ घ्युर्मे र निमा लामा संरक्षक रहेको निलेका लोप्साङ लामाको नेतृत्वको स्याक्या संरक्षण समिति बनेको छ।
नयाँ नियमअनुसार स्याग्या नियम उल्लंघन गर्नेले ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ। गुम्बामा गएर एक हजारवटा बत्ती बालेर मूर्तिलाई एक हजार पटक नै ढोगेर माफी पनि माग्नुपर्छ। यो नियम चुम उपत्यकामा कामविशेषले जाने पर्यटक, सरकारी, गैरसरकारी कर्मचारी, प्रहरी सबैले पालना गर्नुपर्ने व्यवस्था छ। 

स्याग्या (अहिंसा क्षेत्र) लाई प्रवद्र्धन गर्न यहाँ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले सहयोग गर्ने गरेको छ। मौलिक परम्पराको पनि जगेर्ना हुने र वन्यजन्तु पनि संरक्षण हुने भएकाले अहिंसा अभियानलाई सहयोग गरेको आयोजनाका प्रमुख नरेन्द्र लामा बताउँछन्। ‘अहिंसाको महत्वका बारेमा सशक्तीकरण गर्न स्याक्या समितिलाई तालिम, गोष्ठी गराउँछौं’, उनी भन्छन्, ‘वन अनुगमनका लागि भनेर वार्षिक आर्थिक सहयोग पनि गर्छौं।’ अहिंसा क्षेत्रलाई प्रचारप्रसार गर्ने, क्षमता अभिवृद्धि गर्ने र पर्यटन विकासको काममा एमक्यापले सहयोग गरिरहेको छ।

अहिंसा अभियानले चुम उपत्यकामा लुप्तप्राय, अति जोखिममा रहेका, अति संकटमा रहेका जनावरको संख्या पनि बढिरहेको छ। लुप्तप्रायःको सूचीमा रहेका कस्तुरी, अत्यन्त खतराको सूचीमा रहेको ब्वाँसो, हिमचितुवा, चिरु र रातो भालु पनि यस क्षेत्रमा पाइने एमक्यापले जनाएको छ। यस्तै खतराको सूचीमा रहेको हिमाली कालो भालु, हाब्रे, खतरान्मुख घोरल, झारल र जोखिमको सूचीमा रहेका असामी बाँदर, रतुवा मृग पनि चुम उपत्यकामा पाइने एमक्याप प्रमुख नरेन्द्र लामा बताउँछन्। त्यस्तै छ संरक्षितसहित ३९ प्रजातिका स्तनधारी जनावर, दुई सय प्रजातिका चरा पनि यहाँ सुरक्षित छन्।

यी जनावर, पक्षी सुरक्षित भएपछि स्थानीयवासीलाई अन्नबाली जोगाउन भने धौ–धौ भएको छ। हरेक वर्ष ठूलो परिमाणको बजेट वन्यजन्तुबाट बालीनाली जोगाउन र तारबार तथा पर्खाल लगाउन खर्च हुने गरेको पाइन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.