उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका 'स्वयंसेवक'
काठमाडौं : काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिने भएको छ । काठमाडौँको बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौँमा आज उक्त कार्यक्रमको उद्घाटनका क्रममा नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर अम्गाईंले काठमाडौँका विभिन्न १५ स्थानमा १३० भन्दा बढी स्वयंसेवक परिचालन हुने जानकारी दिएका छन्। 'हामी बर्दीमा रहेका स्वयंसेवक हौँ, कोभिड–१९ पश्चात् र पहिले पनि धेरै जिल्लामा नेपाल स्काउटले जनचेतनामूलक कार्यक्रम गरेको छ,' अम्गाईंले भने, 'काठमाडौँ उपत्यकामा पनि ट्राफिक प्रहरीसँग सहकार्य गरेर सेवा दिन पाउँदा खुशी छौँ ।'
'नेपालका सडक जोखिमपूर्ण छ, कतिबेला गाडी आइपुग्ने हो पत्तै हुन्न, ट्राफिक व्यवस्थापन थप जोखिमपूर्ण काम हो,' प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भने, 'स्काउटसँगको सहकार्यबाट नागरिकले थप राहत पाउने आशा छ ।'
उनले जेब्राक्रसिङमा भएको दुर्घटनामा मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उपत्यकाको चक्रथपभित्रको अति भीड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन हुने जानकारी दिए।
यसअघि पनि ट्राफिक प्रहरीले विभिन्न संस्था तथा विद्यालयका विद्यार्थीलाई ट्राफिक स्वयंसेवकका रुपमा परिचालन गर्दै आएको थियो । उक्त अभियान प्रभावकारी भए पनि सीमित समय सञ्चालन भएर रोकिएको थियो । यसपालि पनि उक्त अभियान आजदेखि शुरु भएको र स्काउटका स्वयंसेवक एक हप्ता परिचालन हुनेछन् ।
महाशाखाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्काउटका स्वयंसेवकपछि अर्को हप्ता अन्य संस्थाबाट आएका स्वयंसेवक परिचालन गरी कार्यक्रमलाई निरन्तरता दिने बताए।
पछिल्लो समयमा ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियता कमजोर भएको सर्वसाधारणको गुनासो आइरहेको सन्दर्भमा स्वयंसेवक परिचालनले प्रभावकारी हुने विश्वास लिइएको छ । तर उपत्यकामा दैनिकजसो नै सडकमा प्रदर्शन, धर्ना, विरोधलगायत कार्यक्रमका कारण ट्राफिक व्यवस्थापन प्रभावित हुँदै आएको छ । रासस