दोलखाका १५५ जनाले लगाए कोरोनाविरुद्धको खोप
दोलखा : बुधबार दोलखामा १५५ डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइएको छ ।
सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबारदेखि एकसाथ खोप लगाउन सुरु गरिएको हो ।
पहिलो चरणको पहिलो डोजको खोप दोलखाका फ्रन्टलाइनरमध्येका २१ सय ४० जनालाई लगाउने योजना अनुसार खोप अभियान सुरू गरिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।
चरिकोट अस्पतालमा स्वास्थ्यकर्मी ८०, महिला स्वास्थ्यकर्मी २७, अन्य कर्मचारी ९, सफाई कर्मचारी १४, सुरक्षाकर्मी एकजना गरी १३१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताए ।
त्यसैगरी जिरी अस्पतालमा स्वास्थ्यकर्मी ७, महिला स्वास्थ्य स्वयंसेविका १२, सफाईकर्मी ३ र चालक २ गरी २४ जनाले भ्याक्सिन लगाएको प्रमुख झाले बताए । बुधबार मात्र दुबै केन्द्र गरी ५ सय जनालाई खोप लगाउने योजना थियो ।