सडकमा चालकलाई ट्राफिकको नमस्कार
धरान : प्रदेश नम्बर १ मा सवारी दुर्घटना न्युनिकरण गर्न सुनसरी ट्राफिकले सवारी चालकहरुसँग ट्राफिक सचेतना अभियान सुरु गरेको छ। सोमबारदेखि पूर्वी नेपालको यातायातका साधन संचालनको हब रहेको धरानबाट अभियान थालेको ट्राफिक प्रहरीले सवारी चालकहरुलाई सडकमै नमस्कार गर्दै अभियान सुरु गरेका छन्।
सडकमा गुडिरहेका सवारी साधन रोकेर ट्राफिक प्रहरीले सोमबारदेखि सवारी चालकहरुलाई नमस्कार गर्दै ट्राफिक नियमका बारेमा जानकारी गराएका छन्। ट्राफिक प्रहरीले १ नम्बर प्रदेश हर्न निषेधित प्रदेश हो यहाँ हर्न बजाउन पाइदैन, हर्न नबजाई दिनुहोला भन्दै चालकहरुलाई ३० मिनेटदेखि १ घण्टासम्म ट्राफिक सचेतना अभियान थालेको छ। ट्राफिकले चालकहरुलाई ट्राफिक नियम सम्बन्धित पर्चा वितरण गरेको छ।
सवारी साधन चलाउँदा चालकले उच्च सावधानी अपनाई यात्रुहरुलाई सहज यात्रा गराउन अनुरोध गर्दै प्रदेश नम्बर १ मा हर्न निषेधित क्षेत्रका बारेमा सडकमै एक मिनेट चालक प्रशिक्षण थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख भुवनबाबु खड्काले बताए। उनले १ नम्बर प्रदेशलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएकाले यसको कार्यान्वयन र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले चालकसँग सडकमै प्रशिक्षण अभियानको थालनी गरेको जानकारी दिए। 
ट्राफिक प्रहरीले सुनसरीको धरान, इटहरी, इनरुवा, झुम्का, दुहबी, भान्टावारी, लौकही, खनार, चतरा, महेन्द्रनगर, कोसि कटानलगायतका स्थानमा चालकलाई नमस्कार गर्दै ट्राफिक नियम पालनाका विषयमा जानकारी गराएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य लक्ष्मी बानियाँले ट्राफिक प्रहरीले थालेको ट्राफिक सचेतना अभियानले दुर्घटना न्युनिकरणमा थप मद्धत पुग्ने बताए। उनले ट्राफिकले सुरुवात गरेको ट्राफिक सचेतनालाई मध्यनजर गर्दै यातायात मजदुरहरु पनि जिम्मेवार बनेर सवारी चलाउन अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस !