नैतीकता भए ओलीले राजीनामा दिनुपर्छ : भीम रावल
धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले प्रधानमन्त्री केपी ओलीमा अलिकता पनि नैतिकता बाँकी भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । धनगढीमा बुधबार पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् ।
‘कुनै एक व्यक्तिको सनकको भरमा लोकतन्त्र सकिँदैन, न्याय मर्दैन भन्ने प्रमाण हो यो’, नेता रावलले भने, ‘केपी ओलीजीमा अलिकती पनि नैतिकता बाँकी छ भने तुरुन्त राजीनामा दिनुपर्छ ।’
संसद पुनस्र्थापनाको फैसलाले न्यायालयको गरिमा र सम्मान झन उचाइमा पुगेको उनले बताए । ‘न्यायालयको फैसलाले हामी खुसी भएका छौं, न्यायालयको सम्मान र गरिमा पनि बढेको छ’, नेता रावलले भने ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र गल्ती गरेँ माफ गनुहोस् भनेमात्र उनको बारेमा सोच्न सकिने उनको भनाइ छ । ‘केपी ओलीले मेरो गल्ती भयो, अब म पार्टीको विधान अनुसार चल्छु, भनेर भने भने उनको बारेमा केही सोच्न सकिन्छ’, रावलले भने ।
रावलले अबको समीकरणको विषयमा चाँडै निष्कर्षमा पुग्ने बताए । ‘हामी लोकतान्त्रिक पार्टीहरुसँग छलफल गर्छौं, देशको हितमा हुने समीकरण बन्छ’, उनले भने ।