पुल अलपत्र, डुंगाबाट यात्रा

पुल अलपत्र, डुंगाबाट यात्रा

भोजपुर : अरुण नदीको लम्छुवाघाटमा सम्झौताअनुसार २०७० सालमै पुल बन्नुपथ्र्यो। स्वच्छन्द निर्माण कम्पनीले तीन वर्षभित्र पुल बनाउने गरी २०६७ असार २५ गते ठेक्का लिएको थियो। तर, दशक बिते पनि निर्माण सम्पन्न नभएपछि जोखिमपूर्ण तवरले नदी तर्नुपर्ने स्थानीयवासीको बाध्यता हटेको छैन।

षडानन्द नगरपालिका केउरेनीपानी मथेटारकी अञ्जना कुमाल बिहान ८ बजे लम्छुवाघाट किनारमा पुग्छिन्। संखुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माविको कक्षा ८ मा पढ्ने कुमाल नाउँ चढेर नदी तर्छिन्।

‘बिहानै हतारहतार स्कुल जान तयार हुनुपर्छ। किनारमा नाउँ आएको हुँदैन, पर्खनै पर्‍यो। धेरैजसो ढिला हुन्छ। समयमा पुगिन्न। स्कुल पनि छुट्छ’, उनले भनिन्, ‘नाउँ चढ्दा सतर्क रहनुपर्छ। नदीमा खसिएला कि भन्ने डर हुन्छ।’

नाउँबाट विद्यालय आउजाउ गर्नु लम्छुवाघाट बस्तीका बालबालिकाको बाध्यता हो। हिउँदभन्दा वर्षायाममा नदीको सतह बढ्नाले जोखिम झनै बढ्छ।

हिउँद होस् या वर्षा, भोजपुरको उत्तरी भेगका बासिन्दालाई अरुण नदी तर्न समस्या छ। पुल नहुँदा अत्यावश्यक सामान लिन १५ किलोमिटर घुमाउरो बाटो र नाउँको भरमा नदी तर्नुपर्ने बाध्यता रहेको स्थानीय रुद्रबहादुर मगरले बताए। ‘नुनभुटुन लिन पनि संखुवासभाको खाँदबारी नै जानुपर्छ’, मगरले भने।

तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले ०६७ सालमा पुल शिलान्यास गरेका थिए। तर, ठेकेदारको लापरबाहीले अलपत्र बन्दा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकालगायत उत्तरी भेगका ७० हजारभन्दा बढी जनसंख्या कष्टकर यात्रा गरी खाँदबारी आउजाउ गर्छन्।

षडानन्दका मेयर वीरबल राईले पुल निर्माण गर्न संघीय र प्रदेश सरकारसँग पहल भइरहेको बताए। ‘हाम्रो क्षेत्रको विकासको मूलढोका भएकाले पुल निर्माण गर्न हामीले पहल गरिरहेका छौं’, मेयर राईले भने, ‘सम्भवतः यसै वर्ष पुलको काम सुरु हुनेछ।’ पुलको विकल्पमा षडानन्द नगरपालिकाको केही किलोमिटर दूरीमा फेरी सञ्चालनमा ल्याइए पनि निरन्तरता भने छैन।

ठेकेदारले पुलको पिलर राख्न खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै काम अलपत्र छाडेको थियो। पुनः डिजाइनअनुसार पुलमा चारवटा पायर (पिलर) १६ मिटर गहिराइसम्म गाडिनुपर्ने भए पनि तीन वर्षअघि काम छाडेर ठेकेदार हिँडेको थियो। पछि २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १ सय ६७ मिटर लामो पुलमा ६ वटा पिल्लर उठाउने काम मात्रै भयो। सडक विभागको बेवास्ता र ठेकेदारको लापारबाहीले निर्माण पुनः रोकियो।

उक्त पुलको पुनः डिजाइनपछि निर्माण खर्चसमेत १६ करोड ६३ लाख पुगेको छ। थप डिजाइनपछि २ सय ४७ मिटरको पुल बन्ने भए पनि थप ९० मिटरको ठेक्का लाग्न बाँकी रहेको सडक डिभिजन कार्यालय तुम्लिङ्टारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.