सडकले फेरियो बारेकोट
जाजरकोट : बारेकोट जुम्लासँग सिमाना जोडिएको गाउँपालिका हो। केही वर्ष अघिसम्म बारेकोटबाट सदरमुकाम खलंगा आउन तीन दिन पैदल हिँड्नुपथ्र्यो। हिजोआज पाँच घण्टामै आउन सकिन्छ।
बारेकोटका दुर्गम गाउँबस्ती सडक सञ्जालले जोडिन थालेपछि स्थानीयको जीवनशैलीसमेत परिवर्तन हुन थालेको छ। कुनै बेला नेपालगन्ज, सल्यानको शीतलपाटी, चाक्लीघाटबाट नुन बोकेर ल्याउनुपर्ने बाध्यता थियो। अहिले घरगाउँमै आयोडिनयुक्त नुन उपलब्ध छ। सडकले कुनाकन्दरा जोडिएसँगै दैनिक उपभोग्यदेखि विभिन्न निर्माणसामग्री पनि सुपथ मुल्यमा घरआँगनमै पाइन थालेको छ।
बारेकोट–६ धुमाका जनकबहादुर महतारा विगत सम्झँदै भन्छन्, ‘पहिले हातमा पैसा भए पनि चामल किन्न पाइन्नथ्यो। खाद्यको चामल पनि सीमित हुन्थ्यो। अहिले बारेकोटका सानोतिनो बजारमा समेत चामल पाइन्छ। यो सबै सडककै कारण सुविधा भएको हो।’ बारेकोट गाउँपालिकामा सडक निर्माण कार्यले तीव्रता पाएसँगै स्थानीय बजारमा चहलपहल बढ्न थालेको छ।
बारेकोटका सेपुखोला, सक्ला, काउली, घाटबजार, दहलगायतका मुुख्य व्यापारिक केन्द्र विस्तारै बजारीकरणतर्फ बढेका छन्। अहिले सिमेन्ट, सरिया, इलेक्ट्रिकल तथा मेसिनरी सामग्री सुपथ मूल्यमै गाउँघरका पसलमा पाउन सकिन्छ। केही दशकअघि साँझ बिहानको छाकको जोहो गर्न कालापहाड जानुपर्ने बाध्यतामा रहेका बारेकोटीका सपना सडक विस्तारसँगै बदलिएको छ।
बारेकोट–५ गैरागाउँका मानबहादुर सिंहलाई फर्निचरको कामकाज गर्न भ्याइनभ्याइ छ। बारेकोटमा काठका सामग्रीहरूको राम्रो माग बढेको छ। बारेकोट–२ का गोपाल नेपालीले गाउँपालिका केन्द्र लिम्सामा बेकरी उद्योग सुरुआत गरेका छन्। हाल बारेकोट गाउँपालिकाका विभिन्न वडा तथा बस्ती जोड्ने ६० किलोमिटर सडकको ट्र्याक खुलेको इन्जिनियर महेश काफ्लेले बताए। ध्यापाटाकुरादेखि गाउँपालिकाको केन्द्र लिम्सासम्म १२ किलोमिटर सडक स्तरोन्नतिको कार्य भइरहेको छ।
जिल्लाकै महत्त्वको मानिने हानीसल्ला लिम्सा दहहुँदै जुम्ला जोड्ने राजमार्गअन्तर्गत हानीसल्लादेखि दहसम्मको ट्र्याक खन्ने कार्यसमेत यही महिना पूरा भएको छ। त्यसैगरी लिम्सा मुल्साम हुँदै जुम्ला जोड्ने राजमार्ग निर्माणाधीन चरणमा रहेको छ। केही ठाउँमा निकै कडा चट्टान, कमजोर भूबनोट र ठूलासाना खोला धेरै संख्यामा रहेकाले सडक निर्माणमा कठिनाइ भोग्नु परेको इन्जिनियर काफ्लेले बताए।
प्रतिक्रिया दिनुहोस !